अन्यसमाचार

एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्ष -GoodNews24

Gobal IME Bank

दमाैली । चैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये एउटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकास्थित मित्रता माध्यमिक विद्यालयका प्रधानाध्यापक सरितादेवी पौडेललाई सोही परीक्षा केन्द्रको केन्द्राध्यक्ष नियुक्त गरिएको एकाइ प्रमुख रमाकान्त शर्माले जानकारी दिनुभयो । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ (संशोधनसहित) बमोजिम परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक माध्यमिक तहका स्थायी शिक्षक भएमा त्यस्ता प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्ति गर्ने प्रावधान रहेको छ । “परीक्षा केन्द्र तोकिएका अन्य विद्यालयमा महिला प्रधानाध्यापक नरहेका कारण जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

सो केन्द्रबाट २८७ विद्यार्थीले परीक्षा दिँदैछन् । उक्त परीक्षा केन्द्रबाट आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माध्यमिक विद्यालय, मस्र्याङ्दी जनज्योति आवासीय माध्यमिक विद्यालय, सनसाइन आवासीय माध्यमिक विद्यालय, बालशिक्षा सदन आवासीय माध्यमिक विद्यालय, एक्टिभ ग्रीनल्याण्ड बोर्डिङ स्कूल, छिम्केश्वरी माध्यमिक विद्यालय र फ्युचरस्टार बोर्डिङ स्कूलका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जिल्लाका दश स्थानीय तहमा रहेका २४ परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरणसमेत गरिएको एकाइले जानकारी दिएको छ

एक थुनुवाले परीक्षा दिँदै

यस वर्षको परीक्षामा जिल्ला कारागारमा रहेका एक परीक्षार्थीले परीक्षा दिँदैछन् । जनज्योति माध्यमिक विद्यालय भीमाद परीक्षा केन्द्रबाट सम्मिलित हुने बुचाखानी माध्यमिक विद्यालयका एक विद्यार्थीले परीक्षा दिँदैछन् ।

उनलाई कारागारबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ । कारागारमा रहेका थुनुवालाई सत्यवती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रश्नपत्र र उत्तरपुस्तिकालगायतका सामग्री व्यवस्थापन गरिनेछ । थुनुवा विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइदिन भनी सम्बन्धित विद्यालय र कारागार कार्यालयबाट सफारिशसहित लेखी आएको सम्बन्धमा साविक माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ अनुसार परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको समन्वय एकाइले जनाएको छ ।

मोबाइल निषेध

परीक्षा केन्द्रभित्र केन्द्राध्यक्षबाहेक अरुलाई मोबाइल प्रयोगमा निषेध गरिएको छ । केन्द्राध्यक्षबाहेक परीक्षामा खटिने अन्य कसैले पनि मोबाइल फोन परीक्षा केन्द्रभित्र लैजान नपाउने प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार निरीक्षक र सहायक केन्द्राध्यका मोबाइल सेटहरु प्रश्नपत्रको प्याकेट खोल्नुभन्दा पहिला स्वीचअफ गरी झोलामा राखी केन्द्राध्यक्षको नियन्त्रणमा राखिनेछ ।

“प्रश्नपत्रको प्याकेट खोल्ने अवस्थामा वा खोलिसकेपछि परीक्षा केन्द्रभित्र मोबाइल फोन भेटिएमा तत्काल जफत गरी सुरक्षा निकायमा बुझाउने निर्णय भएको छ”, प्रमुख शर्माले भन्नुभयो, “परीक्षा केन्द्रभित्र मोबाइल फोन प्रयोग गर्ने निरीक्षक र विद्यार्थीलाई निष्कासन गरिनेछ ।”

दश वटै स्थानीय तहमा परीक्षा केन्द्र

गत वर्षको एसइईमा यहाँको घिरिङ र ऋषिङ गाउँपालिकामा परीक्षा केन्द्र थिएन । दुई पालिकामा परीक्षा केन्द्र निर्धारण नहुँदा त्यस ठाउँका विद्यार्थीलाई भीमाद नगरपालिका झरेर परीक्षा दिनुपर्ने बाध्यता थियो । सिंहदरबारको अधिकार गाउँमा भन्ने नारा लगाइए पनि आफ्नै ठाउँमा परीक्षा केन्द्र नहुँदा गाउँमा सिहंदरबार आएको अनुभूति त्यहाँका विद्यार्थीले गर्न पाएनन् ।

तर यस वर्ष भने ती दुई पालिकामा पनि परीक्षा केन्द्र निर्धारण भएको छ । सो एकाइले जिल्लाका दश वटै स्थानीय तहमा परीक्षाका लागि केन्द्र निर्धारण गरेको छ । घिरिङ गाउँपालिकाको चन्द्रज्योति माध्यमिक विद्यालयमा एउटा परीक्षा केन्द्र निर्धारण भएको छ । उक्त परीक्षा केन्द्रबाट कृष्ण मावि, सरस्वती मावि, दीपक मावि, राष्ट्रिय मावि र महेन्द्रज्योति माध्यमिक विद्यालयका १९० विद्यार्थीले परीक्षा दिँदैछन् ।

त्यस्तै ऋषिङ गाउँपालिकाको शिव सरस्वती माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएको छ । उक्त परीक्षा केन्द्रबाट बालविकास मावि, जयदुर्गा मावि, श्रृङ्ग मावि, महेन्द्रोदय मावि, बालशिक्षा निकेतन मावि, बालशिक्षा निकेतन मावि, कामधेनु मावि र शान्ति माविका १८५ विद्यार्थीले परीक्षा दिँदैछन् । “गाउँमै परीक्षा केन्द्र नहुँदा विद्यार्थी भीमाद झरेर परीक्षा दिनुपर्ने बाध्यताको अन्त्य भएको छ”, प्रमुख शर्माले भन्नुभयो, “यसले गर्दा विद्यार्थीलाई सहज भएको छ ।”

जिल्लाबाट यस वर्ष छ हजार २८१ विद्यार्थीले परीक्षा दिँदैछन् । तीमध्ये छात्रा तीन हजार १६६ र छात्र तीन हजार ११५ रहेको एकाइले जनाएको छ । केन्द्रका अनुसार ग्रेड वृद्धि गर्ने विद्यार्थीको सङ्ख्या ५० रहेको छ । प्राविधिक धारतर्फका ९७ विद्यार्थीले पनि परीक्षा दिँदैछन् । जिल्लाका ११६ सामुदायिक र ५८ संस्थागत विद्यालयका विद्यार्थीले परीक्षा दिँदैछन् । सबैभन्दा बढी व्यास नगरपालिकास्थित निर्मल माध्यमिक परीक्षा केन्द्रमा ४८६ र सबैभन्दा कम व्यासकै क्यामिन माध्यमिक परीक्षा केन्द्रबाट १६८ विद्यार्थीले परीक्षा दिने एकाइले जनाएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button