गुड न्यूज 24मुख्य समाचारसमाचार

कहाली लाग्दा घटनाहरु : कसरी डिल गर्छ संकट व्यवस्थापन केन्द्रले ?

कान्ति बाल अस्पतालमा विद्यालयमा भएका हिंसा सम्बन्धी घटना धेरै

Gobal IME Bank

काठमाडौँ । ११ बर्षकी एक बालिकालाई आत्महत्या प्रयासबाट उद्धार गरियो । उनलाई कान्ति बाल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखेर उपचार गरियो । उनको स्वास्थ्यमा सुधार आउन थालेपछि उनले किन आत्महत्या गर्ने प्रयास गरिन्, अध्ययन थालियो । त्यसपछि थाहा भयो, उनी विद्यालयमा यौन हिंसामा परेकी रहिछन् । त्यो घटना उनले घर परिवारमा सुनाइन् । बालिकाको भनाइलाई परिवारले सकारात्मक रुपमा लिएन ।

उनी झन पीडामा परिन् । यसपछि उनले जीवन सिध्याउने निर्णय गरिन ।  अस्पतालको संकट व्यवस्थापन केन्द्रमा यस्ता कहाली लाग्दा घटनाहरु छन् । तीमध्ये बाहिरी जिल्लाबाट रिफर भएर आएकी १४ वर्षीया किशोरीको कथा यस्तै दर्दयुक्त छ । उनीसँग २ महिने सन्तान छ । यी किशोरी र उनको सन्तान दुवैलाई संरक्षणको आवश्यकता छ । अस्पतालमा रहेको केन्द्रमा चालु आर्थिक बर्षको यस अवधिसम्ममा ४२ वटा प्रकृतिका घटना आएका छन् । जसमध्ये २१ वटाभन्दा धेरै काठमाडौँ महानगरपालिका भित्रका छन् । महानगरभित्र पनि विद्यालयबाट आएका घटना धेरै छन् ।

समाजमा हुने गरेका हिंसाका यी नमूना हुन् । यस्ता कहानीहरु टोल टोलमा हुन सक्छन् । यसरी पीडामा परेका महिला र बालबालिकालाई चाहिने उपचार, प्रशासनिक कारवाहीका प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग एकै ठाउँबाट प्राप्त हुन सकोस् भनेर एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो । अस्पताल आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन निर्देशिका २०७७ बमोजिम काठमाडौँमा रहेका ट्रमा सेन्टर, वीर अस्पताल, स्त्री तथा प्रसुति रोग अस्पताल, टेकु अस्पताल र कान्ति बाल अस्पतालबाट पीडितहरुका लागि सेवा सञ्चालन हुँदै आएको छ । केन्द्रहरुमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याको पीडामा रहेका महिला र बालबालिका आउने गरेका छन् । उनीहरुका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ ।

यस प्रकृतिका घटना व्यवस्थापन गर्न सामुहिक प्रयास चाहिन्छ । दण्डनीय काम गर्नेलाई हुने कानुनी दण्डका बारेमा सामाजिक सचेतनामुलक कार्यक्रम चलाउनुपर्छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी भन्नुहुन्छ, ‘महानगरपालिकाले महिला सञ्जाल गठन गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा चलाएका छौँ । हामी सबै केन्द्रसँग समन्वय र सहयोग हुने गरी काम गर्नेछौँ ।’

सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले हिंसाबाट पीडितहरुलाई पारिवारिक पुनमिलन गराउन, सामाजिक पुनस्र्थापना गराउन र जीविकोपार्जनका लागि सीप विकास गर्न महानगरसँग कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले, केन्द्रको प्रभावकारी कार्यान्वयनमा महानगरको सहयोग आवश्यक रहेको बताउनुभयो । केन्द्रका फोकल पर्सन पुष्पा घिमिरेका अनुसार पीडितहरुको पुनस्र्थापना अहिलेका लागि मुख्य कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएकोले बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा सबै केन्द्रका प्रतिनिधि आमन्त्रण गरेर अहिलेसम्मको प्रगति र चुनौती तथा सहकार्य र सहयोगका विषयमा छलफल गर्ने निर्णय गरेको छ । यसका लागि महानगरको सामाजिक विकास विभागले आन्तरिक रुपमा शिक्षा र सूचना प्रविधि विभागसँगै केन्द्रहरुसँग समन्वय गर्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button