अन्यसमाचार

फेशन डिजाइनर बन्ने धोको पूरा गर्दै -GoodNews24

Gobal IME Bank

रुपन्देहीको योगीकुटीका यौनिक तथा अल्पसङ्ख्यक समुदायकी रिना रानाको सीप सिकेर आत्मनिर्भर बन्ने धोको छ ।

त्यही धोको पूरा गर्न राना अहिले बुटवल उपमहानगरपालिकाको सहयोगमा सशक्तीकरण नेपालले आयोजना गरेको फेशन डिजाइन तालीममा सहभागी हुनुभयो । उहाँले भन्नुभयो, “समाजमा हामीलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक छैन, हामीप्रति आम नागरिकको सकारात्मक दृष्टिकोण बनाउन आयमूलक काममा जोडिन जरुरी छ ।” तालीमपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने उहाँको योजना छ ।

पाल्पाको तानसेनमा जन्मिएर हाल बुटवलमा बस्दै आउनुभएकी अवान्तिका घर्तीमगर पनि फेशन डिजाइन तालीममा सहभागी हुनुहुन्छ । तालीममा सीप सिकेर आफू पनि आत्मनिर्भर बन्ने र अरुलाई पनि सघाउने इच्छा उहाँको छ । “तेस्रो लिङ्गी भएकै कारण शारीरिक, मानसिक र सामाजिक हिंसा सहेर पनि सङ्घर्ष गर्दै यहाँसम्म आए । अब कुशल फेशन डिजाइनर बनेर समाजमा स्थापित हुने धोको छ, उहाँले भन्नुभयो ।”

बुटवल दीपनगरकी यौनिक तथा अल्पसङ्ख्यक समुदायकै दिया सारु पनि भविष्यमा सफल उद्यमी बन्ने चाहना बोकेर तालीममा सीप सिक्न तल्लिन हुनुहन्छ । तालीममा विभिन्न डिजाइनिङका कपडा सिलाउने सीप सिकेर स्वरोजगार बन्ने इच्छा सारुको छ । “हामी प्रायः नाच्ने गाउने कार्यक्रममा रमाउँछौँ तर नाच्ने भनेको वैश छदासम्म मात्रै हो । उमेर गएपछि यो सम्भव छैन, सारुले भन्नुभयो, “हातमा सीप भयो भने जहाँ गएर पनि आयआर्जन गर्न सकिन्छ ।”

बुटवलको ट्राफिकचोक बस्ने सायरा गुरुङलाई फेशन डिजाइनिङ मनपर्ने विषय हो । उहाँले समय समयमा विभिन्न ठाउँमा हुने कार्यक्रममा सहभागिता जनाउनुहुन्छ । आफैँले डिजाइनिङ गरेको कपडा सिलाउन नजान्दा सायरालाई कहिलेकाहीँ समस्या पर्ने गरेको छ । त्यही समस्या नहोस् भन्नका लागि फेशन डिजाइनिङमा दक्ष हुन तालीममा सहभागी भएको सायराले बताउनुभयो ।

यौनिक तथा अल्पसङ्ख्यकलाई लक्षित गरेर आयोजना गरिएको फेसन डिजाइन तालीममा १६ सहभागी छन् । बुटवल उपमहानगरपालिका र युएनडिपीको सहयोग तथा बुटवल टेक्निकल इन्स्टिच्युटको संयोजनमा यौनिक तथा अल्पसङ्ख्यकका लागि पहिलोपटक यस्तो तालीमको आयोजना गरिएको हो ।

“अहिलेसम्म धेरैलाई सीप सिकाए तर यौनिक तथा अल्पसङ्ख्यकलाई पहिलोपटक प्रशिक्षण दिँदै छु । तालीमका प्रशिक्षक कमला चापागाईले भन्नुभयो, “शुरु शुरुमा अलि असहज महसुस भयो तर उहाँहरुको राम्रो व्यवहार र क्रियाशीलताले सिकाउन सहज भएको छ ।” कामप्रतिको लगनशीलता र क्रियाशीलताका कारण ३९० घण्टाको तालीममा सबै सहभागी दक्ष हुने प्रशिक्षक चापागाईको विश्वास छ । तालीममा कुर्ता सुरुवाल, वान पिस, डिजाइनर ब्लाउज, लेहेङ्गा, प्लाजा, सरारा, गाउन, मेक्सीलगायतका विभिन्न डिजाइनका कपडा सिलाउन सिकाइने उहाँले बताउनुभयो ।

स्थानीय सरकारबाट पहिलोपटक यौनिक तथा अल्पसङ्ख्यकका लागि तालीमको आयोजना हुँदा यो समुदायको अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी खुशी छन् । “तेस्रो लिङ्गीलाई लाग्ने अनेक लाञ्छना चिर्न सीपमूलक कार्यक्रम जरुरी छ”, सशक्तीकरण नेपालका अध्यक्ष आनिक रानाले भन्नुभयो, “यो समुदायका युवा सीप सिकेर आत्मनिर्भर बनुन भन्ने उद्देश्यले यो तालीम आयोजना गरिएको हो ।”

परिवारबाट समेत अपहेलित भएका यौनिक तथा अल्पसङ्ख्यकलाई आत्मनिर्भर बनाउन तालीमले ठूलो सहयोग गर्ने आनिकको विश्वास छ । “समाजमा अझै पनि हामीलाई स्वीकार गरिएको छैन, तेस्रो लिङ्गीले कही पनि सजिलै काम पाउने वातावरण बन्न सकेको छैन । यस्तो अवस्थामा स्वरोजगारका लागि सीप सिक्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

कुनै पनि समुदायको सशक्तीकरणका लागि रोजगार प्रमुख विषय हो । यसका लागि सीप र दक्षता आवश्यक हुने भएकाले बुटवल उपमहानगरपालिकाले सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । “सीप नजानीकन आत्मनिर्भर हुन सम्भव छैन, त्यसैले नगरमा रोजगारी सिर्जनाका लागि सीपमूलक र आयमूलक तालीमलाई जोड दिएका छाैँ”, उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″] [irp posts=”4127″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button