समाचार

७५ शय्याको आइसोलेन केन्द्र शुरु-Goodnews24

Gobal IME Bank

भक्तपुर- भक्तपुर नगरपालिकाले कोरोना सङ्क्रमित आफ्ना नागरिकको उपचार र सङ्क्रमण नियन्त्रणका लागि आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ब्रह्मायणीमा निर्माण गरेको बहुउद्देश्यीय भवनलाई ७५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याई कोरोनाका १० सङ्क्रमितलाई राखेको छ । थप विरामी थपिने क्रम जारी छ ।

नगरपालिकाले अहिलेसम्म खरिपाटीस्थित विद्युत् प्राधिकरणको आइसोलेसन सेन्टर र भक्तपुर अस्पतालमा सङ्क्रमितलाई पठाउँदै आएकोमा अब भने आफ्नै आइसोलेसन केन्द्रमा राख्न शुरु गरेको हो । “भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने हाम्रो प्रयास जारी छ तर पनि अवस्था पहिलाको जस्तो रहेन, पहिला व्यक्ति व्यक्तिमा फाटफुट देखिने सङ्क्रमण अहिले सिङ्गो परिवारमा फैलिएको छ, समुदायमा फैलिएको छ”, नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भन्नुभयो, “अब खरिपाटीको आइसोलेसन केन्द्र र भक्तपुर अस्पतालको मात्रै भर परेर हुँदैन, त्यहाँ ठाउँ नहुने अवस्था आइसक्यो भनेर हामीले हाम्रा सङ्क्रमित नागरिकलाई राख्न आफैँले आइसोलेसन केन्द्र तयार पारेका हौँ ।”

सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेर तयार पारिएको आइसोलेसन सेन्टर सञ्चालनमा आउनुपूर्व गत शुक्रबार नगर प्रमुख प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गण सूर्यविनायकका शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलगायतको टोलीले अवलोकन गरेको थियो ।

आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरु ज्येष्ठ नागरिक, बालबालिका, गर्भवतीलाई राख्ने कक्ष र भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मी बस्ने गरी तयारी गरिएको आइसोलेसन व्यवस्थापन समितिका संयोजक रवीन्द्र ज्याख्वाले जानकारी दिनुभयो ।

नगरपालिकाले आइसोलेसन केन्द्रमा बस्ने सङ्क्रमितका लागि आवश्यक लत्ताकपडाबाहेक अन्य सुविधा नगरपालिकाले व्यवस्था गरेको छ । प्रत्येक सङ्क्रमितका लागि अलग्गै पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जका लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नका लागि किताब, पत्रपत्रिका सहितको ¥याक व्यवस्था गरिएको संयोजक ज्याख्वा बताउनुहुन्छ ।

सङ्क्रमितलाई सूचना प्रवाहका लागि माइकिङ र अलगअलग फोनको व्यवस्था, प्रत्येकका लागि छुट्टाछुट्टै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपी सेटको व्यवस्था गरिएको छ भने दैनिक चार छाक खाना र खाजा खुवाइने व्यवस्था गरिएको छ । अत्यावश्यक अवस्थामा विबामीका लागि अक्सिजनको व्यवस्था गरिएको छ ।

आइसोलेसनमा बस्ने नागरिकलाई नगरपालिकाले निःशुल्क सेवा दिने भएको छ । नगरप्रमुख प्रजापतिले भन्नुभयो, “अब अरुको भर परेर हुँदैन, होम आइसोलेसनमा राख्दा झन परिवार नै सङ्क्रमित हुने जोखिम बढ्यो, त्यसैले आइसोलेसन केन्द्रको व्यवस्था गरेका हौँ, यहाँ बस्ने सङ्क्रमितलाई निःशुल्क सेवा दिन्छौँ, नगरवासीको करबाट उठेको रकम उनीहरुकै लागि खर्च गर्छौँ ।”

भक्तपुरमा अहिले घरमा आइसोलेसनमा बसेकामा परिवारै सङ्क्रमित देखिएकोे हुँदा होम आइसोलेसन व्यावहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुट्टै आइसोेलेसन केन्द्रको व्यवस्था गरेको हो । आइसोलेन केन्द्रमा बस्दाबस्दै बिरामीलाई श्वासप्रश्वासमा समस्या भई आइसियू तथा भेन्टिलेटरको आवश्यकता परेमा भने बिरामीलाई भक्तपुर अस्पताल पठाइने भएको छ ।

सङ्क्रमितलाई बोक्न नगरपालिकाले आइसोलेसन केन्द्रमा ल्याउन र अस्पताल लैजानुपरेमा प्रयोग गर्न केन्द्रमा डेडिकेटेड एम्बुलेन्स तयारी अवस्थामा राखेको नगरपालिकाद्वारा सञ्चालिन जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख एवं आइसोलेसन सेन्टरका प्रवक्ता डा रत्नसुन्दर लासिवाले जानकारी दिनुभयो ।

यहाँका लागि नगरपालिकाले आफ्नै जनशक्ति परिचालन तथा व्यवस्थापन गरेको छ । हरेक दिन तीन नर्सले नियमित र प्रत्येक दिन बिहान र बेलुका एक–एक गरी दुई चिकित्सकले सेवा दिने व्यवस्था गरिएको उहाँको भनाइ छ । केन्द्रमा प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० कर्मचारीको व्यवस्था गरिएको छ ।

आइसोलेसन केन्द्रमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीका लागि सुरक्षाको व्यवस्था गर्दै आइसोलेसन केन्द्रमा सात दिनको ड्युटीपछि अर्को हप्ता क्वारेन्टाइनमा राख्ने र पिसीआर परीक्षणपछि पुनः ड्युटीमा खटाउने व्यवस्था गरिएको छ । भक्तपुर नगरपालिकाले जनस्वास्थ्य सेवा केन्द्र र श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन गरी बिरामीको सेवा गर्दै आएको छ भने ७५ शय्याको ख्वप अस्पताल सञ्चालन गर्न भवन निर्माण गरिरहेको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button