समाचार

कर्णाली सरकारको स्थलगत भ्रमण-GoodNews24

Gobal IME Bank

कर्णाली, ८: कर्णाली प्रदेश सरकारले यहाँका पाँच जिल्लामा १० दिने स्थलगत भ्रमण सम्पन्न गरेको छ । यहाँको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझेर प्रदेश सरकार फर्केको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावलसहितको प्रदेश सरकारको टोलीले १० दिनमा दैलेख, कालीकोट, जुम्ला, मुगु र हुम्ला जिल्ला गरी पाँच जिल्लाको स्थलगत भ्रमण गरेको छ । भ्रमणका क्रममा प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवं राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा संञ्चालित योजनाको अनुगमन, अध्ययन तथा अवलोकन गरेको छ ।
उक्त भ्रमणमा मुख्यमन्त्री शाहीले कर्णाली करिडोर र त्यहाँ निर्मित पुलको अनुगमन, दैलेख राकम कर्णालीको समग्र विकासका लागि आठबीस नगरपालिकाका नगर प्रमुखसँग भेटघाट, कालीकोटका पहिरोपीडितलाई राहत वितरण तथा चेक हस्तान्तरण गर्नुभएको मुख्यमन्त्री प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिनुभयो । त्यस्तै, प्रदेश सरकारले कालीकोटमा कोभिड अस्पताल उद्घाटन, विपद् व्यवस्थापन समितिको बैठक, मान्म–बरातु हुँदै रेगिल जाने सडकको अनुगमन गरेको थियो ।
सो अवधिमा प्रदेश सरकारले पाँचै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसंँग अन्तरक्रिया तथा प्रदेश सरकार मातहतका जिल्ला कार्यालय प्रमुखसँगको भेटघाट तथा आवश्यक सुझाव एवं निर्देशन दिएको छ । कालीकोट तिलागुफा गाउँपालिका, नाग्म बजार र हुम्ला ताजाकोट गाउँपालिकाका बाढीपहिराले भएको क्षतिको स्थलगत अनुगमन र पीडित परिवारसँग पनि भेटघाट गरिएको थियो ।
जुम्लामा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीसँग भेटेर प्रतिष्ठानले कोभिड–१९ को संकटमा प्रदेशका नागरिकको स्वास्थ्य सुरक्षामा खेलेको महत्वपूर्ण भूमिकाबारेमा मुख्यमन्त्री शाहीले प्रशंसा गर्दै स्वास्थ्य सेवालाई प्रदेशभर विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण भएको पातारासी गाउँपालिकाको उर्थुमा निर्मित महिला सहकारीको भवन उद्घाटन गरेको छ ।
जुम्ला–उर्थु–न्याउरीघाट भुलभुले हुँदै मुगु, रारा जोड्ने सडकको अनुगमन, रारामा साइकल मार्ग निर्माणको शिलान्यास, मुगु आइसोलेशन अस्पताल, तारापानी कपास उद्योग, निर्माणाधीन बेलीब्रिज, गमगढी–सोरुको सडक, मुगु, बाजुरा र हुम्ला जोड्ने दोजाम पक्की पुलको अनुगमन गर्दै प्रदेश सरकारले मुगुका अति दुर्गम खनाय र धैन गाउँमा एक दिनको बाटो हिँडेर त्यहाँ समुदायसँग भेटघाट गरी समस्या बुझेर फर्केको छ ।
मुगु सदरमुकामसम्म गाडीमा पुगेका प्रदेश सरकारका मुख्यमन्त्री शाही, कानूनमन्त्री भण्डारी र सामाजिक विकासमन्त्री रावल पैदल हिँडेर ग्रामीण बस्तीमा पुगेपछि त्यहाँका समुदायले संघीयताको मर्म बुझेको अनुभूति गरेका थिए । हिँडेर जनताको घरदैलामा पुग्दा उनीहरुले सरकारप्रति आश्चर्य र खुशी व्यक्त गरे पनि नेपालभित्रको कर्णालीझैंँ कर्णालीभित्रका मुगु र हुम्लाका दूरदराजका बस्ती मूलप्रवाहीकरणको पर्खाइमा रहेको अनुभूति भएको कानूनमन्त्री भण्डारीले बताउनुभयो ।
“मैदानमा पुग्दा त्यहाँको वस्तुस्थिति बुझ्ने मौका पाइयो”, उहाँले भन्नुभयो, “विकासका पूर्वाधार सडक सञ्जाल, विद्युत्, सञ्चार, शिक्षा र स्वास्थ्यका हिसाबले ती इलाकाहरु कर्णालीभित्र अझै २० वर्ष पछाडि छन् ।” ती जनताको मूलप्रवाहीकरणका लागि फरक खालको नीति आवश्यक रहेको विचार कानूनमन्त्री भण्डारीले व्यक्त गर्नुभयो ।
सामाजिक विकासमन्त्री रावलले शहरिया र अलि बुझेका मान्छेभन्दा गाउँका मान्छेका अपेक्षा र प्रतिक्रिया सकरात्मक पाइएको बताउनुभयो । “यही १० दिने भ्रमणका अवधिमा प्रदेश सरकारले यस वर्ष हुम्ला ताजाकोट गाउँपालिकाका बाढीपहिरो पीडितहरुसँग पालमा बसेर पाँचौँ संविधान दिवस मनायो”, मन्त्री रावलले भन्नुभयो, “यसको अनुभव त्यहाँका नागरिक र प्रदेश सरकारले फरक ढंगले गरेका थिए ।”
सो भ्रमणबाट जनप्रतिनिधिको काम र जनताका समस्या नजीकबाट बुझ्ने मौका पाइएको जनाउँदै उहाँले ती ग्रामीण इलाकामा पूर्वाधार निर्माण गरी तिनलाई बजारसँग जोड्न सकेमा कर्णाली प्रदेश सरकारले राखेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को लक्ष्य पूरा हुने बताउनुभयो । मन्त्री रावलका अनुसार प्रदेश सरकारको यो भ्रमणले आगामी नीति तथा कार्यक्रम र विकास योजना कसरी निर्माण गर्ने भन्ने मार्गप्रशस्त गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button