मैले लगाएको लुङ्गि राती छाेराछोरीलाई अाेडाएकाे छु… ओछ्याउने केही छैन ।
‘ललिमायाको संघर्ष’
-बिनु राई, ओखलढुंगा
कार्यालयमा एकदिन एक अन्जान नचिनेको नम्बरबाट फोन आयो । उताबाट कुरा भयो, “दिदी ! म ज्योति तामाङ, पात्लेबाट । तपाईले अपाङ्गको कार्यक्रम चलाउनु हुन्छ । मेरो पनि भाई अपाङ्ग छ, तपाई आउनु भएर कुरा गरिदिनु न । मेरो भाईलार्ई गाउँलेहरुले घृणा गर्छन ।” मैले ‘हुन्छ, अहिले त भुकम्पले गाह्रो छ, अलि पछि समय मिलाएर आउँछु नि है’ भनें ।
उनले हप्तामा कम्तिमा १ पटक फोन गरिरहन्थिन् । तर ओखलढुंगा सदरमुकामबाट उनको गाउँ श्रीचौर पुगेर फर्किन दुई दिन लाग्थ्यो । समय मिलाउँदा मिलाउँदै झण्डै ६ महिना बितेछ । यतिन्जेल ज्योतीले मलाई धेरै चोटी फोन गरिसकेकी थिइन् । बल्ल समय मिलाएर सहकर्मी जनक र म त्यसतर्फ जाने भयौं । त्यसबेला भारतको अघोषित नाकाबन्दीका कारण देशमा तेलको हाहाकार थियो । त्यसैले २ घण्टा पर्खेर रामपुरसम्म जीप चढेर गयौं ।
११ देखि १ बजेसम्म श्रीचौरसम्म पुग्न उकालो चढ्दा नाकै ठोक्किने उकालोमा चर्को घामले टाउकै फुट्लाझैं भा’थ्यो अनि आँखाबाट झिल्कै उड्लाझैं महसुस भो । बल्ल-तल्ल उकालो काटेर डाँडामा उक्लँदा ३ मिनेट रोकियौं अनि बल्ल प्राण आएको जस्तो भो ।
उकालो सकिएसँगै घामको ताप पनि कम भो । दम्स्याइलो बाटोमा हामी निक्कै गफिदै भेटिएको घरमा हामी पुग्नु पर्ने घर सोध्दै गयौं । त्यसदिन मानसिक सन्तुलन गुमाएका कारण करिब २१ वर्षसम्म ठिङ्गुरोमा राखिएको व्यक्ति अस्पताल लगी उपचार गरिएको व्यक्ति र उनको परिवारलाई पनि भेटेर कुरा गर्ने हाम्रो लक्ष्य थियो जसलाई मैले ३ वर्ष अगाडी भेटेकी थिए । त्यो ठाउँ हाम्रो लागि नयाँ थियो । त्यस घरसम्म पुग्न हामीले ५ जना बाटोमा भेटिएका मानिसलाई सोध्न प¥यो ।
विडम्बनाभन्दा पनि चेतनाको खडेरी परेका व्यक्तिहरु रहेछन् क्यार ! हामीलाई पनि ठिङ्गुरोमा राखिएको बाजेको नाम थाहा थिएन र ‘मानसिक समस्याका कारण २१ वर्षसम्म काठको ठिङ्गुरोमा राखिएको बाजेको घर कहाँ हो’ भनेर सोध्दा “ए त्यो बौलाहा !” भन्थे | उनीहरुको यस्तो जवाफले मन दुख्थ्यो । ‘उनीहरुलाई यस्तो शब्दले बोलाउनु हुँदैन, यस्तो शब्दले उनीहरुलाई रिस उठ्छ, मन दुख्छ, तपाईहरुलाई यो शब्दले बोलायो भने कस्तो लाग्छ ?’ भनेर कति जनालाई चाँहि सम्झायौं पनि ।
अन्तत: ती बाजेको झुपडीमा सोध्दै, खोज्दै पुग्यौं, कुराकानी ग¥यौं । हाम्रो खास योजना भोलिपल्ट बिहान ज्योतीको अपाङ्गता भएको भाइ र उसको परिवारलाई भेटेर रेडियो कार्यक्रम बनाउनु थियो । लामो बाटोको हिँडाइको थकाइले बिहान साढे ६ बजेसम्म निदाइएछ । उठेर चिया खाजा खाएपछि ज्योतिको भाईलाई भेट्न बाटो लाग्यौं । करिब २५ मिनेटको उकालो हिँड्न पर्ने रहेछ । आधा बाटोसम्म हामीलाई ज्योति लिन आइन्, जङ्गलभित्र दुई तीन वटा घर देखिन्थे ।
गाउँको भए नि ढुंगा माटोले बनेको घर होला भन्ने सोचेको थिएँ । तर बाँसबाट बनेको पुरानो, चित्राले बारेको झुप्रा देखाउँदै ज्योतिले ‘हाम्रो घर यही हो दिदी भनिन् । मैले सोच्दै नसोचेकोले होला अचम्म लाग्यो । चित्राले बारेको घर बाहिरको उज्यालो भित्र छिर्थ्यो । घरबाहिर १४ वर्षको देखिने किशोरी मैलो कपडा लगाएको, दाँत नमाझेकोले पहेंलो, हामीलाई देखेर लजाउँदै थिइन् ।
घरभित्र पस्न अनुरोध गरिएपछि भित्र छिर्यों । बायाँपट्टि सानो डोलो काठहरु मिलाएर बनाएको एक जना सुत्न मिल्ने खाट, त्यसमा पातलो सल ओछ्याइएको । दायाँतिर पुरानो पातलो-पातलो दुईटा काठ भुँइमा राखेको त्यसमाथि ९ वर्ष उमेरको देखिने, माथि खैरो रङको पातलो ज्याकेट लगाएको तर कम्मरदेखि मुनि नांगै, हेर्दै अपाङ्गता भएको, अक्क न बक्कको बाबु । अनि बिचमा तीन वटा ढुंगा गाडेर बनाएको चुल्होमा एक दुईटा दाउराको ठुटा, थोरै आगोमा सानो सानो हरियो मकै पोल्दै गरेको महिला । अनि वारिपट्टि अर्को एक महिला, दाँत सबै झरेको हातको औंलामा सुर्ती च्यापेर बेला बेलामा धुँवा उडाउँदै थिइन् । चुल्होमाथि भारमा भर्खरै बनाएको मकैको २५.. ३० झुत्ता जत्ति होला झुण्ड्याइएको थियो । मैले मनमनै विचार गर्दै वरिपरी हेरें । मनमनै राती सुत्दा के ओढ्छन् ? के खान्छन् होला ? भन्ने सोचें । गरिबीको जीवन्त नमुना थियो त्यो दृश्य |
त्यही पोलेको मकै हामीलाई दिदैं खान अनुरोध गरियो खाँदै गर्दा कुराकानी सुरु गर्यौं | आमालाई म नजिकै आउन अनुरोध गरें । र सोधें,
म: ‘आमा ! तपाईंको नाम ?
ललिमाया: लली माया तामाङ ।
म: तपाईको बाबु कति वर्ष भयो ?
ललिमाया: १६ वर्ष तर सानो देखिन्छ |
म: कसरी यस्तो भयो ?
ललिमाया: रोगले गर्दा ।
म: के रोग लाग्या हो ?
ललिमाया: हात, खुट्टा चल्दैन, मुख पनि बोल्दैन, केही बुझ्दैन, लाटो जस्तो क्या ।
म: उसको नाम के हो ?
ललिमाया: रञ्जित ।
म: कति वर्षको उमेरदेखि यस्तो भयो ?
ललिमाया: ५ वर्ष देखि |
म: के भा थियो शुरुमा ?
ललिमाया: दुध नखाने, आँखा सेतो पल्टाउने, नरुने । जन्मेको १२ घण्टा पछि बल्ल दुध खाको ।
म: भने पछि जन्मेदेखि नै समस्या थिएछ |
ललिमाया: हजुर ।
मः बच्चा कहाँ जन्माउनु भयो ?
ललिमाया: घरमै
म: अनि बच्चा पेटमा हुँदा जँचाउनु भयो ?
ललिमायाः अहँ, जँचाइन ।
म: किन नजचाउनु भएको त ?
ललिमायाः आबो त्यतिखेर जँचाउने चलन पनि थिएन, थाहै भएन…आबो त्यो काना गोरुलाई औंसी न पुर्ने जस्तो भयो ।
मः उपचार गर्नु भयो कि भएन ?
ललिमाया: छ वर्ष भएपछि अब नहिन्ने रहेछ भनेर उपचार गर्नुलाई हेलपोष्टतिर, धामी झाँक्रीतिर घुमाइ हिन्यो । राती, राती मैले ३ दिनसम्म भात पनि खाइन, बच्चा बिरामी भयो भनेर । नखाई नखाई रातभरी बोकी हिने । अनि फेरी आबो भएन भनेर मिसिन लानु पर्छ भनेर लगें (मिसन अहिलेको ओखलढुंगा सामुदायिक अस्पताल) ।
मः मिसिनले के भन्यो त ?
ललिमायाः मिसिनमा १५ दिन जस्तो राख्नु । नानीलाई खुराक पुगेनछ, चाकरै नपुगेको, सेकाउनु माड्नु, चिल्लो लगाइदिनुपर्छ भन्यो मिसिनले । फेरी त्यतिबेलै घरमा भैंसी बियायो । त्यसको भैंसीलाई कसले घाँस काटिदिन्छ ? भने छिमेकीहरुले । अनि मेरो नानीलाई उतै लान्छु, धामीलाउँछु भनेर ल्याएँ ।
मः उसको ढाँड पनि कुप्रो, अनि डल्ला परेको रहेछ, यो चाँही कहिलेदेखि यस्तो भको ?
ललिमाया: यो त पछि बस्दा बस्दा गरेर भको । दिशापिशा सबै एकै ठाउँ गर्छ । खाना अरुले खुवाउन पर्छ । दिए खान्छ, नदिए ले खान्छु भन्दैन । हामीले के खायो कसो खायो केही थाहा पाउँदैन ।
म: जन्मिदा कत्रो थियो ?
ललिमायाः सानो थियो, चाउरी चाउरी परेको, मुजै मुजो थियो ।
मः छोराछोरी कति जना तपाईको ?
ललिमायाः मेरो ७जना । छोरा दुई भाई । पाँच बहिनी चै खुरु खुरु जन्म्यो, त्यहाँबाट चै छोरा जन्मिएको, पैलो छोरा चै अपाङ्ग भयो ।
मः छोरा जन्माउनकै लागि धेरै छोरी पाउनु भएको होला !
ललिमाया: अँ छोराको आशाले, उसकै बुवाले नमानेको, म अर्को बिहे गर्छु, छोरै चाहिन्छ मलाई, कि बिया गर्न देउ कि छोरै जन्माइदेउ भन्यो, त्यसो कारणले मैले छोरै जन्माइदेको, छोरा जन्मेको आबो अपाङ्ग भैदियो ।
मः अनि श्रीमान काँ हुनुहुन्छ ?
ललिमायाः लफङ्गा भयो, काठ्मण्डुतिर घुमेर हिन्छ, केइ न केइ, यसो एक पैसा दिदैन, खर्च गर्दैन ।
मः छोराको उपचारमा पनि खर्च गरेन ?
ललिमायाः गरेन-गरेन, हिनेपछि नबोले पछि केही गरेन ।
मः श्रीमानले पहिल्यै देखि नहेरेको कि बच्चा यस्तो भएपछि ?
ललिमायाः पहिल्यैदेखि हिनेको हिनेइ, एक पैसा ल्याउँदैनथ्यो, पछि यो छोरो जन्मेपछि चै छ महिना जस्तो बस्यो र हिन्यो ।
मः तपाईको श्रीमान चाँहि बिहे गरेदेखि नै हिन्ने हो ?
ललिमायाः अँ, पहिल्यै देखि हिन्ने ।
मः अनि त्यस्तो हिन्ने मान्छेसँग किन बिहे गर्नु भयो त ?
ललिमायाः खै आबो गर्छ होला नि त बिहे गरेपछि त भन्यो । आबो यो साल गर्छ होला भन्यो, अर्को साल गर्छ होला भन्छु । आलिक सम्पति बनाउँछ होला भन्दै आफुले छाडा छोड्दियो । छाडाको छाडै भयो ।
मः के भन्नुहुन्थ्यो पहिला हिंड्दा ?
ललिमायाः आबो म अलिक पैसा कमाउँछु, जग्गा जोड्नु पर्छ भन्थ्यो,केइ न केइ !
मः अहिले के भन्नुहुन्छ ?
ललिमायाः मैले कमाउन सकिन । जे जे गरेर खाने खाओ, म फर्केर आउँदिन, तिमीहरु जेसुकै गर भनेर हिनेको ।
मः फोन गर्नुहुन्छ कि हुन्न ?
ललिमायाः गर्दैन, कहिल्यै ।
मः छोराछोरी तपाईले नै पाल्नु भा’छ ?
ललिमायाः मैले पालेको बनि गरेर, यताउता साथीहरुसँग बोलेर हुन्छ कि, काम गरेर हुन्छ कि, घाँस काटेर हुन्छ की, यसो एक अँगालो दाउरा ल्याइदिएर हुन्छ कि, मैलै पालेको । एक दुईमाना ल्याउँदै । (उनले यसो भन्दै गर्दा उनको आँखा रसाउँन थालेको थियो )
मः बारी जग्गा कति छ ?
ललिमायाः छँदैछैन भनम न, पैलाको बारी बेच्यो, छोरो जन्माइनस् तैंले, बारी बेचेर म हिन्छु । म आर्कै बिये गर्छु भन्यो । ल्यायो केटि पनि बिय ग¥यो । आबो म काँ जाउँ, यो नानीहरुलाई के गरी पालौं ? कोसोरी अब यो बच्चाहरु हुर्काउँ ? यो हुर्काउन पाए, नानीहरुले नै आफ्नो आफ्नो खुट्टामा आफुइ टेक्छ भन्ने मेरो विचार थ्यो | (यति भन्दै गर्दा उनको आँखामा आँशु टिलपिलाउँदै थियो । म पनि भावुक हुन थालेथें) ।
मः यो अहिले बस्नु भको जग्गा कसको हो नि ?
ललिमाया: ससुराको, ससुराले कमाएर खानु भनेर दिएको ।
मः जग्गाबारी बेचेपछि श्रीमान आउनु भा’ छैन ?
ललिमायाः अहँ, जग्गाबारी बेचेपछि किन आउनु ?
मः जग्गाबारी कहिले बेचेको ?
ललिमायाः जग्गाबारी बेचेको अहिले १८ वर्ष भयो । छोरा नजन्मे पछि छोरा नजन्मिने रछ, छोरी मत्तै जन्मिने रछ भनेर बारी बेचेको । बारी बेचेपछि चै काठ्माण्डुमा बिय गरेछ ।
मः बिहे गरेपछि उता चै छोरा पाको छ रे त ?
ललिमायाः त्यो सोधिन मैले । कै सोध्ने, आर्की बिये गर्नेलाई, उसको खुशी गर्नेलाई के सोध्नु । मैले मेरो छोराछोरीलाई आबो यत्तिकै म आफै पाल्छु भनें । आबो एक माना ल्याउँछु, दुईमाना ल्याउँछु भनेर आफुइले नै पालेको छारछोरी पनि । एक माना कोदोसम्म पनि मैले बनि गरेर ल्याको, दिनभरी कोदालो खनेर । अनि ल्याएर पिनेर खोले पकाएर देको मैले । आचेल त के खान्थ्यो त्यस्तो खोले बच्चाहरुले ! (भक्कानिदै) यो दुःख सम्झिडा त हामीलाई काल पनि नआउँदो रछ ।
मः अहिले चाँहि कँहाबाट ल्याउनु हुन्छ त ?
ललिमायाः अहिले पनि हुन्जेल खायो, यो ससुराको बारी आधिया कमाएको छ, फ्याक फ्याक पार्नुपर्छ, सकेपछि त्यहि हो नि ! आर्काकोमै गयो, ल्यायो, खायो ।
मः के भन्नु हुन्छ ससुराले ?
ललिमायाः बुहारी ! छोराले त्यस्तै ग¥यो, नानीहरु पाल, धर्म हो भन्छ, ससुराले ।
मः अनि छिमेकीहरुले ?
ललिमायाः अरु के भन्नु र ? ठिक्क प¥यो त्यसलाई, मन्छे अन्सारको उसको बुढो, दुइटै मिलेको, छिमेकी रमाउँछ ।
मः माया गर्ने नी त होलान् नी ?
ललिमायाः छ, नी, पर पात्ले माइती छ, माइतीहरुले डेराहरु बनाउन सहयोग गर्छ, काठहरु दिन्छ, आउँछ, आउ केही पुगेन भने लैजा भन्छ, भाई बहिनीहरुले ।
मः कति जना छोरीहरुको बिहे गरिदिनु भो ?
ललिमायाः ३ बहिनीको गरें, अब दुई जना बाँकी छ ।
मः पढाउनु हुन्छ, छोरीहरुलाई ?
ललिमायाः नाइँ,, कान्छी छोरी रोगले भुर्लुक भुर्लुक लडिहाल्यो, आभार भयो, त्यसको भर भएन, त्यहाँबाट पठाइन,…(उनकी कान्छी छोरीलाई छारेरोग लागेको रहेछ, तर उपचार गर्न नसकेर त्यसै बसेकी रहिछन्]) कान्छा छोरालाई पठाउँछु, काँइली छोरी पाँच पढेको, काठमाण्डु तिरै बस्छ, ज्यामि काम ग¥यो, खायो, कहिले काँही फोन गर्छ, ‘के गर्छ आमा’ भन्छ त्यति हो ।
मः अनि घर आउँदिनन् ?
ललिमायाः ‘म त्यस्तो दुःख ठाउँमा आउँदिन, आफ्नो ज्यान आफै पाल्छु, आमाले पाल्नु पर्दैन’ भन्छ, दशैं तिहारमा नि आउँदैन, अब ट्याक्कै तीन वर्ष भयो ।
मः यस ठाउँमा के के काम पाइन्छ नी ?
लालिमायाः कोदालो खन्ने, दाउरा बोक्ने, अरु त के पाउनु र ?
मः काम गरेको कति पैसा पाउँछ ?
ललिमायः अहिले चाँहि दुई सय, अन्न भए दुई पाथी ।
मः अनि कान्छा छोरा के भन्छ त तपाईलाई ?
ललिमायाः ‘बाबाले पनि छोडिहाल्यो आमा, आमाले पिर नलिनु , म अलिक पढ्छु, केइ त गर्छु नी आमा’ भन्छ, । अनि म कहिले मन दुखेर नराम्रो भएर बस्दा..’किन त्यस्तो गरेर बसेको नि आमा ? जे गरे नी म गर्छु, केलाई दुःख मान्नु ? अब म उमेर पुग्दै आउँछु, अहिले म १२ मा छु, अब १६,१७ पुग्छु, आफै गर्छु नी’ भन्छ, कान्छा छोराले त्यसो भन्दा धेरै आँट आँउछ मलाई । अहिले युकेजीमा पढ्दैछ, त्यैपनि बनि गर्दै कपि, पिल्सिङ किन्नै नसक्ने ।
मः अब अपाङ्गता भएको छोराको कुरा गरौं, उसको अपाङ्गता परिचयपत्र बनाएको छ कि छैन ?
ललिमाया: बनाउन त बनाको त्यतै हराएछ, राखेको ठाउँमै हराएछ, भोली पर्सि बनाईदिन्छु, भनेको छ, गुरे सरले | (गुरे सर भनेको गाविस सचिव रहेछ )
मः सरकारबाट पाउने भत्ता पाउँछ ?
ललिमायाः पाउन त पाउँछ, ६ महिनाको १२ सय । अरु गाउँलेले ‘त्यत्ति त पाउँदैनथ्यो, तेरो
छोराले किन त्यसो’ भनेर डाहा गर्छ नी, घरी खिसी गर्छ, त्यो एउटा आफुले पाएपछि पाल्न सक्दैन ?’ भनेर खिल्ली उडाउँछ, त्यल्ले धर्म गरे पो राम्रो छोरा पाउँछ, त्यल्ले धर्म गरेन त्यसैले त्यस्तो छोरा पाको भन्छ । अनि मलाई नराम्रो नमिठो हुन्छ, आफुले बनाको भए पो राम्रो बनाउनु, कोखमा त्यस्तो आएपछि त्यस्तै जन्म्यो नि ।
मः त्यस बेला बच्चा पेटमा आउँदा राम्रोसँग खान पाएन, स्वास्थ्य संस्थामा जचाँएन, बच्चा घरमै पायो, त्यसैले बाबु यस्तो भयो भन्ने तपाईलाई त्यस्तो लाग्दैन अहिले ?
ललिमाया: हो त्यतिबेला अस्पताल भएर जँचाउन पाएको भए मेरो छोरा पनि राम्रो हुन्थ्यो भन्ने लाग्छ, अहिले पीर लाग्छ अब मेरो छोराको यत्तिकै जिन्दगी जाने रैछ, दिसा पिसाब एकै ठाउँ, खुवाईदिन पर्छ, बाहिर भित्र बोकेर सार्न पर्छ ।
मः तपाईको अरु नानीहरुमा के फरक छ त ?
लालिमायाः अपाङ्गै आफ्नो हुँदो रहेछ, माया लाग्छ, यताउता हिन्दा पनि लड्यो कि ?, दिदीहरुले कुट्यो कि ?, कसैले कै ग¥यो कि ? भनेर चिन्ता लाग्छ । खुट्टा लाग्ने त लागि हाल्यो, बोली आउँछ उनीहरुको, यो अपाङ्गको बोली नआको कारणले पोल पनि लाउँदैन, त्यसैले पिर लाग्छ ।
मः धेरै संघर्ष गर्नु भयो, कस्तो लाग्छ जिन्दगी ?
ललिमायाः मेरो जिन्दगी आबो यत्तिकै जाने रैछ, मैले राम्रो खान पनि नपाउने रैछ, लाउन पनि नपाउने रैछ भनेर मेरो मन रुइरन्छ | दिनभरि कोदालो खन्दा एक मुठी मकै खाजा दिन्थ्यो, त्यो मकै पनि नखाईकन बच्चाहरुलाई ल्याइदिन्थे मैले । अनि फेरी घरमा आउदा पानी हुदैनथ्यो, दाउरा हुदैनथ्यो, एउटा वस्तु त पाल्नै प¥यो,आर्काको साजे भए पनि । त्यसलाई घाँस चुस्स हाल्न प¥यो । पानी ल्यार, आगो फुकेर भातहरु पकाईदिन पथ्र्यौ । आफु चै थाक्थ्यो, उसै सुत्थ्यो खाना पुग्दैन नानीहरुलाई ….मैले धेरै दुःख गरें । मैले लगाएको लुङ्गि पनि बेलुकी भएपछि छारछोरीलाई ओडाएको राती… ओछ्याउने केही छैन ।
कसैले थोत्रेथात्री शुकुलहरु दिन्थ्यो, त्यही पनि ओछ्याई दिन्थ्यो नानीहरुलाई । मैले थुप्रो दुःख गरेको, आबो दुःखको दुःखै मर्ने रैछु, म कहिल्यै सुखमा नबाँच्ने रैछ । मेरो सुख कहिल्यै आउँदैन, मेरो जिन्दगी यतिकै जान्छ । अहिले पनि चिन्ता त्यै लाग्छ, बेल्का सुत्छु, एक छिन मात्र निन्द्रा लाग्छ अनि निन्द्रै लाग्दैन । रातभरी अनिदो बसेर दिनभरी टाउको दुख्छ । आइले बल घट्यो, काम गर्न सक्दैन, वरीपरिको सबै मान्छेले हेला गर्छ । त्यसको त ठिक्क प¥यो भन्छ, बेसकन चिन्ता लाग्छ । (उनले यो भन्दै गर्दा उनको मात्र होइन मेरो, सहकर्मी जनक ताम्राकार अनि त्यहाँ अरु २, ३ जना आएका थिए सबैको आँखाबाट आँशु बगिरहेको थियो, मन भक्कानिएको थियो, मैले कुरा अगाडी बढाउन सकिन, लामो समय दिलै खोलेर घुँक्क–घुँक्क ठुलै स्वरमा रोइदिएँ । त्यस समय म आफुलाई अर्कै कुनै ग्रहमा छु कि भन्ने भान भयो ।)
मः तपाईले अरुको पनि अपाङ्गता बच्चा देख्नु भको होला नि ?
ललिमायाः देख्नु त देखेको त्यो देखेर मन बुझाउछु, तर मन नबुझ्दो रछ, मन आफ्नै छोरा माथी हुँदो रछ । बिहान देखि बेलुका फर्किने बाटोमा गयो भने पनि मेरो नानी आगोमा प¥यो कि भोकै, तिर्खै भयो कोल्ले पानी दिने भनेर सम्झिन्छु ।
मः तपाईसँग भेटेर कुरा गर्न पाउँदा खुशी लाग्यो !
ललिमाया: बहिनी आउँदा मेरो आत्मा धेरै नै शीत्तल भयो, अस्तिको दिनै मेरो छोरीले जिल्लाबाट दिदी आउँदै छ, भन्दा काँको दिदी होला ? भनें, घाँस काटेको बेला पनि मलाई घाँस काटेको जस्तो लागेन, मलाई धेरै खुशी लाग्यो, मेरो छोरीले पनि बोल्नु जानेछ, दिदीलाई बोलाउनु जानेछ भनें ।
मः तपाईले धेरै संघर्ष गर्नु भयो, छोराछोरीलाई हुर्काउनु भयो, कति आफन्तको साथ थियो तर यसमा ईश्वरले पनि हेर्नुभयो भनेर विश्वास लाग्छ ?
ललिमाया: लाग्छ, मेरो मनमा यसो भन्छु, ईश्वर भगवान चाँहि मेरो दाहिने होस, शत्रु जति जम्मै मेरो देब्रे होस् । मेरो भगुवानले पनि मलाई यतिको ग¥यो, म पुक्लुक्क मरेको भए मेरो छारछोरीको के गरी कोल्ले पाल्नु ? आधि मथ्र्यो आदि बाँच्थ्यो होला मेरो बच्चाहरु । मैले एक माना कोदो देखि दुई माना मकै बनि गरेर ल्याएर पिधेँर दियो र बाँच्यो ।
मैले ‘ईश्वर भगवान ! मैले कसैको ढाँटछल गरेर खाको छैन, मेरो बच्चाहरुलाई बचाइदेउ । मैले यसो पानी धमिलो पारेर दिएपनि भात दिएको जस्तै होस् मेरो छारछोरीहरुलाई’ भन्दै काम गरे । बेलुका म भोकै सुत्छु, बिहान भोकै हिन्दा म हिन्न सक्दैन । के खानै नपाको जस्तो शिल्पट ! पनि भने मलाई ।
बिहान यसो घाँस-दाउरा त गर्नप¥यो, एउटा वस्तु त पाल्नै प¥यो, गोबर हग्ने मान्छेको मुखेन्जी । घाँस काटेर जाँदा भोक लागि हाल्छ । थकाई र भोकले हातखुट्टा गालाक्गुलुक गलेर काम गर्न सक्दैन । अनि साथीले नै काम गर्ने ठाउँमा ‘त्यल्ले त कोदालै खन्न सक्दैन किन लाउनु ?’ भने मलाई । त्यस्तो त्यस्तो गरेर छोराछोरी पाले, सातै वटा मैले हुर्काए, आजसम्म मरेको पनि छैन । सप्पै छ, एउटा मात्र अपाङ्ग भैदिएर मेरो बेस्कन चित्त दुखिराछ ।
मः तपाईको छोराको बारेमा बुझ्न कुनै संघसंस्था आयो आएन ?
ललिमाया: आएन, आएन, अस्ति तल बजारमा गएर पदमको बुढिलाई (गाउँले) ‘ओइ, मेरो छोरा त्यस्तो अपाङ्गता छ, मेरो आर्थिक स्थिति पनि कम्जोर छ, मलाई एउटा कम्बल पाउँछ कि ?’ भान्दा उसले ‘त्यस्तो अपाङ्गतालाई बाँड्ने कोसैको सम्पति छैन, मैले हौइन राहतबाटै आको हो यो’ भन्यो | ‘दिए मलाई धर्म मनले देउ, नदिए नदेउ’ भन्दा ‘तँ जस्तो कति छ कति’ भनेर मलाई गाली ग¥यो, अनि म फरक्क फर्केर आएँ ।
जिल्लाबाट भुकम्प पिडितलाई दिइने राहत गाविसमा राखिएको रहेछ, म बाँड्नेमा बसेको । आइमाइले आइमाईको मर्म बुझ्छ होला भनेर त्यति भनेको मलाई हका¥यो, दिएन मलाई केइ पनि, उसको मनपर्ने मान्छेलाई मात्र थपि थपि दियो । हामीलाई राम्पुरमा चामल पाउँछ जाउ भने तर फेरि कसैले ‘तिमीहरु आँसिकले पाउँदैन’ भनेर केही राहत नपाको नि । तीन हजार मात्र पाको । हामीलाई मिसिनबाट काम गर्ने रबिन थापा, जिना राईले, ‘बरा दुःख रैछ भनेर एउटा पाल दिउँ भनेर दिएको । अरुले मलाई हेर्दैन । दुःख पाउनेलाई नहेर्दो रैछ, तर नहेरे नि भगवान छ नी हाम्रो । बरु ऋण लागोस्, पछि छारछोरीले पनि केही गर्छ कि भन्ने आश छ । सबै छारछोरीलाई ५÷ ७ कक्षा पढाउँदा किताब, कापी, लुगा किनेको, फेरी सासु खस्दा लिएको साँउ-व्याज गरेर ४०÷ ५० हजार ऋण छ ।
मः अरु केही भन्न मन छ तपाईलाई ?
ललिमायाः आरु के गर्नु खै ? दुःखको कुरा ग¥यो भने भक्कानो खन्निएर बोल्न सक्दैन । धन्यवाद तपाईलाई ।
(यति कुराकानी भएपछि कान्छी छोरीलाई उपचारको लागि अस्पताल ल्याउन भनी सम्झाएर बिदा भएर हामी फर्कियौं । यो कुराकानी मानव विकास तथा सामुदायिक सेवाद्वारा ओखलढुंगामा सञ्चालित सामुदायिक रेडियो आफ्नो एफ एम १०४.८ मेघाहर्जको हरेक शनिबार राती ८ बजे प्रशारण हुने कार्यक्रम दृष्टिकोणमा प्रशारण भयो ।
कार्यक्रम सुनेर २ दिनमा नै उनीहरुलाई सहयोग गर्नको लागि ओखलढुंगा आरोहण चर्चमा सेवारत डिक लाल राईको अगुवाईमा चर्चबाट ब्ल्यान्केट, केही लत्ता कपडा, चामल र १७ सय रुपैयाँ रकम प्रदान गरियो । त्यसपछि पनि उनीहरुको सहयोगको लागि काठ्माण्डौंका अपांगता भएकी बहिनीबाट रु.एक हजार साथै अरु दुई व्यक्तिबाट २५ सय सहयोग रकम जुटेको थियो ।
सबै भन्दा असल कुरा ६ वर्ष देखि छारेरोगबाट ग्रसित उनको कान्छी छोरीलाई ओखलढुंगा सामुदायिक अस्पताल ल्याई उपचार गरियो । उपचारको लागि अस्पताल आउँदा उनको कान्छी छोरीले “दिदी तपाईल गर्नुभएको सहयोगको लागि धेरै-धेरै धन्यवाद, अरु त हामी केही दिन सक्दैनौं” लजाउँदै भन्दा र त्यो किशोरीको खुशी देख्दा धेरै आनन्दको महसुस गरें, यो आनन्दभन्दा अरु ठुलो कुरा मेरो लागि केही हुन सक्तैन ।
सायद आमाको छोराछोरीप्रतिको माया, त्याग, समर्पणता भनेको यही हो । जुन अरु कसैले गर्न सक्दैन । त्यस्तो हिउँ पर्ने ठाउँमा, आङमा लगाउने र राती ओढ्ने-ओछ्याउने कपडा नहुँदा, पानीमा कोदोको पिठोले धमिल्याएको खोले ख्याउँदा परमेश्वरले पनि आमाको माया देखी उनी माथि आफ्नो दया राखेर उनका नानीहरुलाई जिउँदै राखिदिए, यही सोंच्दै मैले परमेश्वरलाई धन्यवाद दिएँ ।)
(नोट: पत्रकार बिनु राई ओखलढुंगा सदरमुकाममा संचालित आफ्नो एफ एमकी संचालिका तथा प्रस्तोता हुनुहुन्छ |)
GoodNews Online