मनोरञ्जनमुख्य समाचारसमाचार

महापुरूषले घोषणा गर्‍यो ‘कार्बन तटस्थ’, ५१औँ दिन पार

Gobal IME Bank

काठमाडौँ । प्रदर्शनको ५१औँ दिन पार गरेको चलचित्र ‘महापुरूष’ को टोलीले फरक किसिमले खुसियाली साटेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्र पहिलो ‘कार्बन तटस्थ’ चलचित्र बनेको जानकारी दिएको छ ।

कार्बन उत्सर्जन कटौती गर्नेतर्फ महत्वपूर्ण वातावरणीय अध्याय थालिएको सो अवसरमा बताइएको थियो । चलचित्र निर्माणदेखि अन्त्यसम्म वीन्ड पावर नेपालले गरेको अध्ययनमा महापुरुषले छ दशमलव ४१ टन कार्बन उत्सर्जन गरेको उल्लेख छ ।

ग्रीनहाउस ग्यास (जीएचजी) प्रोटोकलअनुसार उक्त संस्थाले अध्ययन गरेको हो । यो उत्सर्जन बेलायतमा चलचित्र निर्माण गर्दाको भन्दा ९० गुणाले कम रहेको अध्ययनमा सम्लग्न सम्राट पाठकले बताउनुभयो । “बेलायतमा एउटा चलचित्र निर्माण गर्दा ६०० टन र हलिउडमा १८ सय टन कार्बन उत्सर्जन हुन्छ”, उहाँले भन्नुभयो,“नेपाली चलचित्रमा यो सुरुवात मात्र हो । कार्बन तटस्थका सम्बन्धमा अन्य निर्माता जागरुक हुनुजरुरी छ ।”

छायाङ्कनदेखि समापनसम्म तीन स्कोपअन्तर्गत रहेर ‘कार्बन फुटप्रिन्ट’को अध्ययन गरिएकामा चलचित्र छायाङ्कनको बेला प्रयोग भएको बिजुली बस चार हजार किमी गुड्दा तीन टन कार्बन उत्सर्जन हुनबाट जोगिएको समेत पाठकले जानकारी दिनुभयो । छ टनभन्दा बढी कार्बन उत्सर्जन गरेको तथ्याङ्क बाहिर आएपछि चलचित्र निर्माताले दुई सय ६६ रुख रोप्ने र ११ किलोवाट सोलार प्यानल जडान गर्ने घोषणा आयोजित पत्रकार सम्मेलनमा गरेका छन् । अभिनेता हरिवंश आचार्य एक्लैले गाउँमा डेढसय रुख रोप्ने र यसका लागि पानी ट्याङ्कीको निर्माण भइरहेको जानकारी दिनुभयो ।

“चलचित्रले ५१औँ दिन पूरा गरेको खुसियालीसँगै कार्बन तटस्थ घोषणा गर्न पाउँदा हर्ष लागेको छ । मैले रोप्ने रुखको हेरचाहसमेत म आफैँ गर्नेछु”, उहाँले भन्नुभयो । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराईले यसको सफलतासँगै दायित्व पनि थपिएको बताउनुभयो । “यस सफलताले झनै दायित्व बोध भएको महसुुस भएको छ । सामाजिक संदेशलाई चलचित्रको शैलीमा दर्शकसम्म पु¥याउन मलाई थप ऊर्जा थपेको छ”, उहाँले भन्नुभयो ।

निर्देशक भट्टराईले यसअगाडि निर्देशन गर्नुभएको ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले समेत ५१औँ दिन पार गरेको थियो । उहाँ लगातार चौथोपटक दर्शकसँगै घरेलु बक्स अफिसमा सफल निर्देशक बन्नुभएको हो । मह सञ्चारसँग डेढदशकसम्म टेलिचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बन्नुभएका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिनुभयो ।

चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ ।

षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित उक्त चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ र निर्माता दिपेश खत्री रहनुभएको छ । यसैगरी दीपक बज्राचार्यको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा डेब्यु गर्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button