समाचार

पुनःनिर्माणमा सघाउने मन्त्री गुरुङको प्रतिबद्धता-GoodNews24

Gobal IME Bank

बागलुङ, १६ असोज : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिहीबार ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा मन्त्रीद्वयले बाढी प्रभावित परिवारका समस्या र क्षतिको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

अवलोकनपछि स्थानीयवासी, जनप्रतिनिधिलगायत सहभागी रहेको कार्यक्रममा भनाइ राख्दै मन्त्री गुरुङले बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “पुनःनिर्माणको काम तत्काल अघि बढ्छ, प्रदेश सरकारले बजेट र दक्ष जनशक्तिको व्यवस्था गर्छ”, मन्त्री गुरुङले भन्नुभयो । पुनःनिर्माणको कार्य अघि बढाउन बुर्तिबाङमा भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय स्थापना गरिने मन्त्री गुरुङले बताउनुभयो ।

बुर्तिबाङ–ढोरपाटन सडकको स्तरोन्नतिका लागि सङ्घ सरकार र सालझण्डी–ढोरपाटन आयोजनासँग मिलेर काम थालिने उहाँको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी ढोरपाटनसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने र सोका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने मन्त्री गुरुङले बताउनुभयो ।

विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन र राहत कार्यक्रमलाई पनि प्रभावकारी बनाउन प्रदेश सरकारले सघाउने विश्वास दिलाउनुभयो । भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय स्थापना गर्न नगरपालिकाले भवन उपलब्ध गराउने र खर्च प्रदेश सरकारले व्यवस्थापन गर्ने गरी छलफल भएको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका– ९, ८, ७, ६ र ५ प्रभावित छ । सबैभन्दा ठूलो जनधनको क्षति वडा नं ९ मा भएको छ । बाढीले सडक, खानेपानी, विद्युत्, सिँचाइ आयोजना, विद्यालय, स्वास्थ्यचौकी, पुललगायत दर्जनौँ भौतिक संरचनामा क्षतिग्रस्त छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु¥याएको छ । बाढीमा परी २२ को ज्यान गएको छ भने १५ जना अझै बेपत्ता छन् । सङ्घ सरकारले पनि बागलुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरिसकेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button