मुख्य समाचारसमाचार

मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो

Gobal IME Bank

महोत्तरी । आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ ।

दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि किनमेलको कामले बजार पुग्ने बढेपछि यहाँ चहलपहल बढेको हो । जिल्लाका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका बजार मातातीर्थ औँसी पर्वले अहिलेदेखि नै भरिभराउ देखिएका हुन् । वैशाख औँसीका दिन मनाइने हिन्दू परम्पराको यो पर्व यसपालि भोलि बिहीबार परेको छ ।

हिन्दू परम्परामा पनि खासमा पर्वते समुदाय मातातीर्थ औँसी पर्वका लागि सामग्री किन्न बजार पुग्दैछन् । अहिलेको चहलपहमा महिलाको विशेष भीड देखिँदो छ । बर्दिबास नगरपालिकाका बर्दिबासचोक, हाथीलेट, खयरमारा र पथलैयाबजारमा आमाको मुख हेर्ने पर्वका लागि सामान किन्ने ग्राहक एकाबिहानदेखि बढेका छन् ।

त्यसैगरी, गौशालानगरपालिकाको गौशाला र कान्तिबजार, औरही नगरपालिकाको औरहीबजार र भङ्गाहा नगरपालिकाको सीतापुरबजारका कपडा पसल र किराना पसल ग्राहकले भरिभराउ देखिएका छन् । पर्वविशेषले कपडा र नरिवल, मिश्री, चकलेटसहितका किराना वस्तुको व्यापार बढेको बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठ बताउनुहुन्छ । पर्वले गर्दा विवाहित छोरीचेली आमा भेट्न माइत जाने चलनले आजैदेखि सार्वजनिक यातायातका साधन बस, टेम्पु, अटो, जिप र सफारीजस्ता साधन पनि यात्रुले खचाखच देखिएका छन् ।

पसलहरुमा भीड देखिए पनि यस पर्वमा विगतको जस्तो कारोबार भने नभएको व्यापारीको भनाइ छ । “पर्वले गर्दा ओहोरदोहोर र भीडभाड त देखिन्छ, तर पहिलेको जस्तो व्यापार छैन”, बर्दिबासचोकस्थित व्यापारिक प्रतिष्ठान बर्दिबास घर संसारका सञ्चालक मन्दीप गिरी भन्नुहुन्छ, “विगत वर्षका यसै पर्वमा सामान्यतया पनि आठ÷दश हजारको सामान किन्ने ग्राहक यसपालि एकाध हजारमा झरेका छन् ।” मान्छेको क्रयशक्ति निकै घटेको हुँदा पसलपसलमा भीड देखिए पनि कारोबार निकै कम रकमको भइरहेको गिरीको भनाइ छ ।

चाडबाडमा उल्लासका साथ सहभागी हुने आम उपभोक्ता यसपालि भने ‘के गर्नु रु गर्दै आइएको, गर्नै त प¥यो’ भन्ने बाध्यात्मक मनस्थितिमा भेटिने गरेका व्यापारीहरुको अनुभव छ । “बजारचोक र पसलमा भीड देख्नुहुन्छ नि, तर बिक्री उत्साहजनक छैन”, बर्दिबासचोककै सविना वस्त्रालयका सञ्चालक सविता बस्नेत भन्नुहुन्छ, “पसल रुँगेको भर छ ।” यद्यपि केही दिनयताको शून्यजस्तै बजार चहलपहल भने पर्वले बढाएको बस्नेत बताउनुहुन्छ ।

वैशाख औँसीका दिन आमाको मुख हेरेर मिष्टान्न परिकार खुवाउने र नयाँ वस्त्र परिधान पहि¥याउने पहाडी हिन्दू परम्परा छ । पर्वमा आफ्नै जन्म दिने आमा, सासूआमा, मितआमा र आमाको नाता लगाइएका नारीलाई पूज्य मानेर दर्शन गर्दै दीर्घजीवनको कामना गरिन्छ । निधन भइसकेका आमालाई यस पर्वका दिन तर्पण दिने हिन्दू परम्परा छ ।

मधेसको मिथिला क्षेत्रमा प्रचलनमा रहेको मैथिल पञ्चाङ्गमा पनि वैशाख औँसीका दिनलाई मातातीर्थ औँसी उल्लेख गरिए पनि पाहाडी परम्पराको जस्तो आमा भेट्न जाने परम्परा भने छैन । तर दिवङ्गत मातृहरुको सम्झना गरेर तर्पण गर्ने कर्मकाण्डी परम्परा भने रहेको बर्दिबास–२ का बासिन्दा मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button