
काठमाडौं । हाल नेपाली कथाहरु विश्वभर फैलिरहेका छन् । इटालीको भेनिस फिल्म फेस्टिभलमा ‘दी रेड सुटकेस’ महत्वपूर्ण विधा होराइजन्समा छनोट भएको एक दिन नबित्दै अर्को खुसीको खबर आएको छ ।
क्यानडाको विश्व प्रतिष्ठित टोरन्टो फिल्म फेस्टिभलले यस वर्षको संस्करणमा १० पटक सगरमाथा आरोहण गरेकी नेपाली महिला लाक्पा शेर्पाको जिवनमा आधारित फिल्म ‘माउन्टेन क्वीन द समिट्स अफ लाक्पा शेर्पा’लाई डकुमेन्ट्री विधाको लागि छनौट गरेको छ ।
नेपाली समय अनुसार बिहीबार बिहान सार्वजनिक गरिएको फेस्टिभल लाइनअपमा यो डकुमेन्ट्री पनि समावेश गरिएको छ । दुई पटक ओस्कार अवार्डमा मनोनित निर्देशक लुसी वाकरद्वारा निर्देशित यो फिल्मको टोरन्टोमा वल्र्ड प्रिमियर हुन लागेको हो ।
‘नेपाली महिलाको असाधारण कथा, जसले १० पटक सगरमाथा आरोहण गरिसकेकी छन्,’ डेडलाइन हलिउड म्यागजिनले उल्लेख गरेको छ, ‘एकल आमा समेत रहेकी लाक्पा शेर्पा नेपालमा हुर्किएकी निरक्षर हुन् । गत वर्ष छायांकनको समयमा उनी कनेक्टिकट होल फुड्समा भाँडा माझ्ने काम गरिरहेकी थिइन्, दुई किशोरी छोरीलाई हुर्काउँदै ।’
म्यागजिन लेख्छ, ‘तर कुनै पनि महिलाभन्दा बढी सगरमाथा आरोहण गर्ने व्यक्तिको रूपमा उनको अर्को जीवन छ र यो फिल्मले उनलाई पछ्याइरहेको छ, किनकि उनले आफ्ना छोरीको लागि राम्रो जीवन बनाउन प्रयास गरिरहेकी छन् ।’ टोरन्टोको डक्स ओपनिङ नाइट फिल्म विधामा यो फिल्म छनोट भएको हो ।
हलिउडमा लेखक र कलाकारले विभिन्न माग राख्दै हड्ताल जारी राख्दा टोरन्टोले डकुमेन्ट्री विधातर्फको लाइनअप घोषणा गरेको हो । टोरन्टोले अन्य लाइनअप घोषणा गर्न भने बाँकी छ ।