मनोरञ्जनमुख्य समाचारसमाचार

एसीसी यू-१९ प्रिमियर कप क्रिकेट साउदी अरेबिया नेपालद्वारा ३०२ रनले पराजित

Nepali Cricket Team

Gobal IME Bank

काठमाडौँ। नेपाली टोली एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गथर्न सफल भएको छ । नेपाल बिहीबार खेलिएको खेलमा साउदी अरेबियालाई ३०२ रनको विशाल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३४८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको साउदी अरेबियाले भने १९।१ ओभरमा अलआउट हुनुअघि ४६ रनमात्र बनाउन सफल भयो । मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले एक सय ४२ रनको योगदान गरे । उनी अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडी पनि बनेका छन् ।

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका अर्जुनले एक सय ११ बलको सामना गरी दुई छक्का र १७ वटा चौका हानेका थिए । नेपालले पहिलो विकेट ७१ रनको कुल स्कोरमा गुमाएको थियो । ओपनर दीपक बोहरा २९ रन बनाउँदै आउट भएका थिए । त्यसपछि अर्जुन र आकाश त्रिपाठीले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई दुई सय ६० रनको बलियो स्थितिमा पुर्‍याएका थिए । आकाश केवल ११ रनका कारण सतक पुरा गर्नबाट चुके । उनी टोलीको खातामा ८९ रन थप्न स ।

पेभेलियन फर्किनुअघि आकाशले ९८ बलको सामना गरी दुई छक्का र ६ वटा चौका हिर्काएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान देब खनाल भने शून्य रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्ब्रे पनि १४ बलमा १४ रन बनाउँदै आउट भए । विशालबिक्रम केसीले अविजित २४ रन थपे । उनले १८ बलमा तीन चौका पनि हिर्काए । मिलन बोहराले पनि नौ रन बनाए । दीपेश कँडेलले १४ रन जोडे । उनले ११ बलमा एक छक्का पनि हिर्काएका थिए । नेपालले अतिरिक्त रुपमा २६ रन पाएको थियो ।

साउदी अरेबियाका बलर मुहम्मद अहमद राजाले दुई विकेट लिएका थिए । मुहम्मद चायुर अहमदले पनि दुई विकेट लिएका थिए । अब्दुल्लाह सिराज, जुहाइर मुहम्मद र साजिब मजिबर रहमानले पनि एक—एक विकेट हात पारे । ठूलो विजयलक्ष्य पछ्याएको साउदीका एक ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । साउदीका लागि वरुण मुदालियरले सर्वाधिक ११ रन बनाए । अब्दुल्लाह सिराजले नौ रन बनाए । ओपनर रायन खान तीन र मोहम्मद अक्विल शून्य रनमै पेभेलियन फर्किएका थिए ।

नेपाली टोलीका बलर दीपेश कँडेल एक्लैले ६ विकेट लिए । उनले ९।१ ओभर बलिङ गर्दै केवल १८ रन खर्चिएका थिए । आकाश चन्दले पनि दुई विकेट हात पारे । उनले तीन ओभरमा १४ रन खर्चिए । सुवाष भण्डारीले एक विकेट लिए । जारी प्रतियोगितामा यो नेपालको तेस्रो जित हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । तालिकाको पहिलो स्थानमा रहेको नेपालले आफ्नो तीनवटै खेलमा जित हात पार्दै ६ अंक बटुल्यो । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपमा छनोट हुनेछन् ।

छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यु—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button