झ्याप्प झ्याप्प विद्युत् काटिएपछि समाधान खोज्दै कुलमान
बिद्युत भार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्लो दिनमा अनियमित तरिकाले विद्युत् काटिएको छ । यो विषय नेपाल विद्युत् प्राधिकरणका लागि चुनौती मात्रै नभई टाउको दुखाइको विषय बनेको छ ।
बिद्युत भार कटौतीको अन्त्यपछि पनि किन यस्तो अवस्थाको सिर्जना भयो होला भनेर आम मानिसले चासो व्यक्त गरिरहेका छन् । माग र आपूर्तिबीचको सन्तुलन मिलाएर विद्युत् वितरण गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई पनि अनियमित तरिकाले विद्युत् काटिँदा जनमानसले के ठान्लान् भन्ने लागेकै छ ।
जाडोको समयमा विद्युत् प्रयोग अनि माग बढे संगै केही स्थानमा स्वभाविकरूपमा ‘लोड’ बढेको र ‘लोड’ व्यवस्थापनमा केही समस्या आउँदा विद्युत् काटिने गरेकाले सोही समस्या समाधानका लागि प्राधिकरणले काठमाडौँका प्रमुख सवस्टेशन र वितरण केन्द्रहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा कार्यकारी निर्देशकसहितको प्राविधिक टोली परिचालितप्राविधिक जनशक्ति परिचालन गरेको छ ।
झ्याप्प झ्याप्प बत्ती काटिएको भन्ने गुनासोपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ विभिन्न कार्यस्थलमा खटिएर आज मात्रै काठमाडौँका बानेश्वर, टेकु, बालाजु, भक्तपुर, मुलपानीलगायत सवस्टेशनको स्थलगत निरीक्षण समस्या समाधानका लागि पहल थाल्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले बढी विद्युत् माग भएको क्षेत्रमा ट्रान्सफर्मर फेर्न, विद्युत् वितरण प्रणालीमा समस्या देखिए त्यसलाई तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङले समस्याको उचित पहिचान गर्न, समाधानका लागि कुनै कसर बाँकी नराख्न, जनशक्ति नपुगेको भए माग गर्न तथा वितरण प्रणालीमा समस्या देखिएको भए त्यसलाई तत्काल समाधान गर्नसमेत निर्देशन दिनुभएको छ । “विशेषगरी जाडो बढ्दै जाँदा विद्युत् माग ह्वात्तै बढेका कारण पनि केही स्थानमा समस्या आएको छ।
पछिल्ला दिनमा विद्युत् खपत र माग बढे पछि बानेश्वर, टेकु, बालाजु र पाटनमा केही समस्या देखिएको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले माग व्यवस्थापनका लागि प्रयत्न गर्न र समस्याको उचित निरुपणका लागि सम्बन्धित सवस्टेशनका प्रमुख तथा ग्रीडका प्रमुखलाई निर्देशनसमेत दिनुभयो ।
काठमाडौँको माग ४०० मेगावाट
गत वर्ष ३०० मेगावाटको हाराहारीमा रहेको विद्युत् माग यसपटक काठमाडौँ उपत्यकामा जाडोको कारण विद्युत् माग बढेर ४०० मेगावाट पुगेको छ । माग बढ्नुलाई प्राधिकरणले पनि सकारात्मक रुपमा लिए पनि माग व्यवस्थापनमा समेत चुनौती भने थपिएको छ ।
चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा थप एक हजार मेगावाट विद्युत् थप हुने भएकाले माग बढाउन प्राधिकरणले यसअघि नै आग्रह गरिसकेको छ । चालू आवको अन्त्यसम्म ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजनाले विद्युत् उत्पादन शुरु गर्नेछ ।
काठमाडौं उपत्यकामा बस्ती विस्तार भएको र उद्योग कल कारखानासमेत नियमित चलेकाले पनि माग बढेको निष्कर्षमा प्राधिकरण पुगेको छ । प्राधिकरणको प्रणालीमा हाल आफ्नै बिद्युत गृहबाट सात हजार ३२४ मेगावाट घण्टा विद्युत् उपलब्ध भइरहेको छ । यस्तै निजी क्षेत्रका आयोजनाबाट छ हजार ९६४ मेगावाट घण्टा, भारतबाट आठ हजार ६३५ मेगावाट घण्टा विद्युत् आपूर्ति भइरहेको मा कूल माग २२ हजार ९५३ मेगावाट घण्टा रहेको छ । यस्तै प्राधिकरणका अनुसार ‘ट्रिपिङ’ भने शून्य छ ।