मुख्य समाचारसमाचार

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

Gobal IME Bank

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ । संविधानले प्रेस स्वतन्त्रतालाई कुनै बन्देज गरेको छैन, वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गर्ने छैन ।”

उहाँले प्रेस स्वतन्त्रता नभए देशमा प्रजातन्त्रको विकास र सुदृढीकरण हुन सक्दैन भन्दै स्वतन्त्रताको पक्षमा सरकार उभिने विश्वास दिलाउनुभयो । “प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता आवश्यक छ । पार्टी (नेपाली कांग्रेस)ले पनि कुनै बन्देज लगाएको छैन, संविधानले नै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेकाले यसको प्रवद्र्धनका निम्ति सबै लाग्नुपर्छ”, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले भन्नुभयो । गठबन्धन सरकारले प्रेस स्वतन्त्रतालाई कुनै हस्तक्षेप र बन्देज नगरेको स्पष्ट पार्दै उहाँले सञ्चार जगत्ले जनताको पक्षमा कलम चलाउनुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि छान्न पाउने भएकाले निर्वाचनको महत्व रहेको बताउनुभयो । उहाँले जनताको सुखदुःखमा साथ दिने पार्टी पनि कांग्रेस भएकाले मुलुकको विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व जरुरी रहेको दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक समृद्धि, संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि हाम्रो नेतृत्व अपरिहार्य छ ।”

कार्यक्रममा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गठबन्धनका पक्षमा जनमत सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले वर्तमान गठबन्धन सरकारले भ्रष्टाचार रोकेर सुशासन अभिवृद्धि गर्दै अर्थतन्त्रलाई सुधारको दिशामा अघि बढाएको दावी गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रतिगमनकारी शक्तिले गठबन्धनका विरुद्ध गलत प्रचार गरिरहेकाप्रति सजग रहँदै सत्यतथ्य सामग्री सम्प्रेषण गर्न सञ्चारमाध्यमको ध्यान जानुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही र प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले लोकतन्त्रको सुदृढीकरण र परिवर्तनलाई संस्थागत गर्न कांग्रेस नेतृत्वको सरकार बन्न जरुरी रहेको बताउनुभयो ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संविधानको रक्षाका लागि सक्रिय रुपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले मिडियासम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले व्यावसायिक पत्रकारिताको विकाससँगै लोकतन्त्रलाई बलियो बनाउन सम्पूर्ण प्रजातन्त्रवादी पत्रकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button