सफल कथासमाचार

युट्युब हेरेरै उद्यमी, महिनाको डेढ-दुई लाखसम्मको कारोबार

Gobal IME Bank

बझाङ । सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बन्नुभएको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बन्नुभएका युवा हुनुहुन्छ भुवन जोशी । करिब एक दशकसम्म शिक्षक पेसामा आबद्ध जोशीले युट्युबकै सहारामा गत वर्ष न्यू मालिका फुड्स एण्ड प्रोडक्ट नामक उद्योग सञ्चालनमा ल्याउनुभयो ।

खप्तडछान्ना गाउँपालिका–७ धर्तिवाडा बझाङका जोशीले व्यवसाय सुरु गरेको एक वर्षमै दोब्बर कमाइ गर्नुभयो । स्नातक उत्तीर्ण गरेलगत्तै निजी तथा सामुदायिक विद्यालयमा अध्यापन गराउनुभएका जोशी विद्यालयमा झन्झटिलो भएर काम गर्नुभन्दा स्वतन्त्र हुन व्यवसाय गर्न चाहनुहुन्थ्यो । दैलेखको एक निजी विद्यालयमा तीन वर्ष र अछामको एक सामुदायिक विद्यालयमा छ वर्ष काम गरेपछि उहाँलाई कुनै नै कुनै व्यवसायमा आबद्ध हुने सोच पलायो ।

“अब कुनै न कुनै व्यवसायमा हात हाल्नुपर्यो सोचिसकेको थिएँ”, उहाँ भन्नुहुन्छ, “दिनभरि विद्यालयमा पढाउँदा पनि डाकै (स्वर) सुकिहाल्ने । बिहान–बेलुका मोबाइल हेर्दैमा ठिक्क । एक दिन युट्युबमा प्रेरणादायी कथा सुन्दै गर्दा सडकबाट करोडपति भएका व्यवसायीसँग ठोक्किए । तिनका कुराहरू बुझ्दै जाँदा जुनसुकै पेसा व्यवसायमा पनि मेहनतले फल दिन्छ भन्ने बुझेँ र अछामबाट दशैँ बिदामा घर आएँ ।”

दशैँ बिदामा घर आएको बेलामा शिक्षक पेसा छोडेर व्यवसाय गर्छुभन्दा जोशीलाई परिवारले ठाडै अस्वीकार ग¥यो । भएको शिक्षक पेसा छाडेर व्यवसाय गर्छु भन्दै डुल्न खोजेको भन्दै कसैले पनि उनको कुरा सुन्नै चाहेन । परिवारको सुझाव बेवास्ता गर्दै जोशीले विद्यालय छाडिदिनुभयो । आफू विद्यालयमा आउन नसक्ने भन्दै प्रअलाई टेलिफोन गर्नुभयो र गाउँमै बस्न थाल्नुभयो ।

दुई–चार दिन परिवारमा नरमाइलो भयो । जोशी गडरायतिर डुलिरहनुभयो । पालिकाभरि नै डुल्नुभयो । बाहिरबाट ल्याएको चाउमिन महँगोमा किन्नुपर्ने व्यवसायीको गन्थन सुन्नुभयो । त्यसपछि उहाँको सोच चाउमिन उद्योगमा गयो । “गडरायमा चाउमिन उद्योग सञ्चालन गर्नुपर्यो भनेर कैलालीका उद्योगीसँग सल्लाह लिएँ”, उहाँ भन्नुहुन्छ, “कैलालीबाट फर्कँदा मेसिनलगायतका सामान लिएर आएँ । युट्युब हेर्दै जडान गरेँ । त्यसरी नै सिके । युट्युब हेर्दै सिक्न एक महिना नै लाग्यो । त्यसपछि चाउमिन बनाउने भइसकेँ ।”

बिहान चाउमिन बनाउने र दिउँसो गडराय बजारकै होटलमा बेच्नु उहाँको दैनिकी भयो । विस्तारै व्यवसाय बढ्दै गएपछि दुई जनालाई रोजगारीसमेत दिनुभयो । गत वर्ष गडरायलाई मात्र पुग्ने चाउमिन अहिले दुई पालिकाभर जान्छ । आजभोलि दैनिक डेढ क्विन्टल चाउमिन उत्पादन गरिरहेको उहाँ सुनाउनुहुन्छ । जोशीको उद्योगबाट अहिले बझाङ, बाजुराका क्रमशः खप्तडछान्ना र खप्तडछेडेदह गाउँपालिकाका होटलमा चाउमिन छ्यापछ्याप्ती छ ।

जोशीका अनुसार मागअनुसार चाउमिन उत्पादन गरिन्छ । “हामी मागअनुसार चाउमिन उत्पादन गर्छौँ । नियमित डेढ क्विन्टल हो । मागअनुसार चार–पाँच क्विन्टल पनि बनाउँछौँ”, उहाँले भन्नुभयो । बाजुरामा मात्रै जोशीले उत्पादन गरेको चाउमिन दैनिक ७०–८० केजी जान्छ । बझाङमा भने माग पुर्याउनै नसकेको उहाँ बताउनुहुन्छ । उहाँ बजारमा चाउमिन पुर्याउन पनि आफैँ जानुहुन्छ । बिहानभर चाउमिन बनाउने र दैनिक बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

तीन महिनामै असुल भयो लगानी

जोशीले चाउमिन उद्योग सञ्चालन गरेको तीन महिनामै लगानी असुल भइसकेको थियो । “सुरूआती तीन महिनामै लगानी असुल भइसक्यो”, उहाँ भन्नुहुन्छ, “अब जति गर्न सक्यो, त्यो आफ्नै फाइदा हुन्छ, तर भने जति पु¥याउन सकेको छैन ।” उहाँका अनुसार अहिलेसम्म कतैबाट अनुदान सहयोग भने प्राप्त भएको छैन । “अहिलेसम्म माग गरेको ठाउँबाट केही पाइएन, अहिले पनि दुई ठाउँमा अनुदानका लागि निवेदन हालेको छु”, उहाँले भन्नुभयो, “अनुदान पाइयो भने उद्योग नै बढाउने थिएँ । दुई–चार जना कर्मचारीसमेत थपेर व्यवसाय बढाउने सोच छ । त्यसका लागि लागिरहेको छु ।”

जोशीले उद्योग सुरु गर्दा सुरुमा रु पाँच लाख लगानी गर्नुभएको थियो । “सुरु गरेको एक महिनामा सिक्नै लाग्यो । अलि–अलि बिक्री पनि भयो । दोस्रो महिनाबाट भने दशैँको सिजनमा गडरायमै चाउमिन जति पनि खपत हुने भयो । त्यही दुई महिनाको आम्दानीबाट लगानी असुल भयो । अहिले हरेक महिना डेढ–दुई लाखसम्मको कारोबार भइरहन्छ”, उहाँ भन्नुहुन्छ ।

अहिले भुवनको काम देखेर परिवारमा पनि सबै खुसी हुनुहुन्छ । “सुरुमा जागिर नछोड् भनेका हौँ”, उहाँका दाजु वाल्मीकि जोशीले भन्नुभयो, “अहिले भने घरमै भाइले धेरै राम्रो व्यवसाय गरिरहेको छ । त्यसको कामप्रति परिवारमा सबै खुसी छन् ।”

जोशी अहिले बेरोजगार युवाका लागि प्रेरणाका स्रोत हुनुभएको छ । “काम गर्नेलाई यहाँ पनि राम्रै छ । यसै छान्नामा पनि चार–पाँचवटा चाउमिन उद्योग राम्र्रै चल्छन् । तर गर्ने मान्छे छैनन् । चाउमिनमा मात्रै नभई मिल, काठे उद्योग, तरकारी खेतीलगायतका काम गर्न सकिन्छ ।”

उहाँले चाउमिनमा भने कम मेहनत, छोटो समयमा धेरै राम्रो उपलब्धि हुने गरेको बताउनुभयो । चाउमिनमा दैनिक चार घण्टा काम गरे पर्याप्त हुने उहाँ बताउनुहुन्छ । “दैनिक चार घण्टा त मेसिनमा पिठो तयार बनाउनसम्म खटेरै काम गर्नुपर्छ । बाँकी समय त बजार डुल्ने हो । यसमा खर्च पनि दाउरा र इन्धनमात्रै लाग्छ, धेरै खर्च पनि हुँदैन”, उहाँ भन्नुहुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button