समाचार

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा आचार्य श्रीनिवास पक्राउ

Gobal IME Bank

सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएको हो।

श्रीनिवासले केही दिनअगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए।

हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

श्रीनिवासको सोही अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछ गर्नुपर्ने भन्दै उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

‘केही कुरा बुझ्नुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थितिका लागि बोलाइएको हो,’ उनले भने। श्रीनिवासले नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्दै विभिन्न अभियान तथा गतिविधि गर्दै आएका छन् । उनी केही वर्षअगाडि आफैंलाई गोली हानेको आरोपमा विराटनगरबाट पक्राउ परेका थिए । २०७५ वैशाख २४ मा आफैंलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपमा श्रीनिवास पक्राउ परेका थिए । घटना उनकै योजनामा भएको पनि प्रहरीले खुलासा गरेको थियो ।

उनलाई उनकै सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीले गोली हानेका थिए । सो मुद्दामा जेल चलान भएका श्रीनिवास पछि धरौटीमा छुटेका थिए । उनलाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । आफैंमाथि गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

उक्त आदेशपछि उनले अदालतमा पुनरावेदन गरेका थिए । जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी सुनसरीको झुम्का कारागारबाट २० दिनमा रिहा भएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button