मुख्य समाचारसमाचार

मौसम फेरिँदा केही राहत

Gobal IME Bank
महोत्तरी । चिसो बतास चलेर ठाउँठाउँमा पानी परेपछि बढेको गर्मीबाट केही राहत मिलेको यहाँका स्थानीय बताउँछन् । जेठ लागेयता पानी नपरेर लगातार बढ्दो तापमानले प्रभावित भएको जनजीवनमा आइतबार साँझदेखि चिसो बतास चल्नुका साथै ठाउँठाउँमा पानी परेपछि केही राहत भएको हो ।
महोत्तरीमा आइतबार साँझ पूर्व–पश्चिम राजमार्ग वारिपारी क्षेत्रमा केहीबेर मेघगर्जनसहित पानी परेपछि शीतल महसुस गरिएको छ । “खेतीपातीलाई साथ मिल्ने र सुकेका पानीका मुहान रसाउने गरी त पानी पर्न सकेन, तर चिसो बतास चलेपछि मौसम शीतल भएको छ”, बर्दिबास–२ बारनचौडीका उमेश आचार्यले भन्नुभयो, “पानी परेर चिसो भएपछि हिँड्डुल गर्न सहज भएको छ ।” उहाँका अनुसार मौसममा सामान्य फेरबदल हुँदा पनि यहाँका स्थानीयले निकै राहत महसुस गरेका छन् ।
जेठ मध्ययता एकाबिहानैदेखि लाग्ने टड्कारो घाम आज मलिन भएको छ । आकाशमा काला बादलका टुक्रा देखिँदा र चिसो बतास चलिरहँदा अब राम्ररी पानीपर्ने आश जागेको यहाँका स्थानीय बताउँछन् । जेठ मध्ययता हिजो अपरान्हसम्म केही घटबढ हुँदै तापमान ४४ डिग्री सेल्सियससम्म मापन गरिएको थियो ।
आज बिहान महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहामा जडित मौसम सूचना केन्द्र (स्टेसन) ले तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल देखाएका र पानी पर्नसक्ने सङ्केत दिइरहेका दैनिक मौसम सूचना हेरी रहनुभएका बर्दिबास–६ का नीलबहादुर लुम्रेले बताउनुभयो । “मैले निरन्तर मौसम स्टेसनका सूचना हेर्दै छु, आइतबार साँझयता तापमान घटेको र पानी पर्ने सम्भावना देखाइएको छ” उहाँले भन्नुभयो, “यसले अब केही त्राण (राहत) पाइन्छ कि भन्ने आश जागेको छ ।”
जिल्लामा लामो समयदेखि घामको राप बढ्दै गएर पानी नपर्दा पानीका मुहान सुकेर खानेपानीको हाहाकार बढ्दै गएको छ । मौसममा फेरबदल आए पानी पर्ने र मुहान रसाउने सर्वसाधारणले आशा गरेका छन् । मौसम तथा जलवायु विज्ञ विराट पन्तले अझै राम्ररी पानी पर्ने सम्भावना नरहेको बताउनुभयो । जलवायु परिवर्तनको असरले मौसमको पूर्वानुमान गरिने परम्परागत मान्यता खण्डित भएको उहाँको भनाइ थियो ।
जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी कार्यरत संस्था रुपान्तरणमा जलवायु विज्ञ रहनुभएका पन्तले विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका असरभित्र आफुलाई अनुकूल बनाउँदै लैजानुपर्ने बताउनुभयो । “जलवायु परिवर्तनका विश्वव्यापी असर छन्, हामीले यी असरभित्रै खेतीपाती र अन्य व्यवसाय अनुकूल हुनेगरी ढाल्न सक्नुपर्छ” उहाँले भन्नुभयो, “यसका लागि विपद् कम गर्न नदी प्रणाली व्यवस्थापन गर्ने, वृक्षरोपण गर्ने र अनुकूलन खेतीपाती अपनाउनुपर्छ ।”
लामो समयसम्म लागेको खडेरीले चरनक्षेत्रका सिमसार, भूल ९भूल्के जरुवा पानीका मुहान० र चरन पानीघाटमा पानी सुकेपछि पशुवस्तु पालनमा पनि अप्ठ्यारो थपिएको छ । खडेरीका कारण बालीनाली ओइल्याउने, सुक्ने र मर्ने क्रम बढ्दो छ । खडेरी उखुबाली डढ्न थालेपछि उखु किसान चिन्तित छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button