Wednesday , 23 September 2020

सडक पूर्वाधारमा सुरुङ थपिएको वर्ष २०१९

सञ्चिता घिमिरे काठमाडौँ । नेपालमा सडक निर्माण शुरु भएको झण्डै एक शताब्दी पछि नयाँ खुड्किलाका रुपमा सुरुङमार्गको निर्माण शुरु भएको छ । काठमाडौँ उपत्यका बाहिरबाट उपत्यका छिर्ने वा यहाँबाट बाहिरिने यात्रु घण्टौँ जाममा पर्ने समस्या समाधानका रुपमा सुरुङमार्गलाई हेरिएको छ । यातायातकै प्रयोजनले बनाउन लागिएको मुलुक कै पहिलो सुरुङमार्ग सन् २०१९ को महत्वपूर्ण उपलब्धि मानिएको छ ।

पूर्वाधारको पनि पूर्वाधारका रुपमा सडकलाई लिइन्छ । सरकारले सडक निर्माणलाई प्राथमिकता दिएको छ । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाका रुपमा प्राथमिकता दिएकामध्ये छ सडकका आयोजना छन् भने पूर्व–पश्चिम विद्युतीय रेलमार्गलाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग, उत्तर दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग र काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सो आयोजनामा रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ४ गते सुरुङमार्गको शिलायान्स गरेसँगै यसको निर्माण अघि बढेको छ । बयालिस महीनाको अवधिमा निर्माण सम्पन्न गर्ने गरी जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण शुरु गरेको छ । आयोजना अन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका दुई सुरुङ निर्माण हुनेछ । दुई वटा ‘फ्लाई ओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । अन्तरराष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । तत्काल उद्धारका लागि सहायक टनेल हुनेछ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्ने सडक विभाग, विकास समन्वय महाशाखा प्रमुख अर्जुनजंग थापाले बताउनुभयो ।

गत आवमा देशभरका सडकमा कालोपत्र हुँदा सबैभन्दा बढी काम मध्यपहाडी लोकमार्गमा भएको थियो । सो सडकमा ३४४ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने ५८१ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता भएर निर्माण भइरहेको छ । चार सय ९२ किलोमिटर सडक ठेक्का व्यवस्थापन हुन बाँकी छ । अहिलेसम्म ६८ सडक पुल सम्पन्न भएका छन् भने २४ पुल निर्माणाधीन रहेको आयोजनाले जनाएको छ ।

मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करीव एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । आयोजनाको प्रारम्भ पाँचथर जिल्लाको चियोभञ्ज्याङबाट हुन्छ भने अन्तिम विन्दु बैतडीको झुलाघाट हो । सरकारले आव २०६९÷७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ यसलाई अघि बढाएको हो । आव २०६४÷६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग आव २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस राजमार्र्गको कुल लम्बाइमध्ये करीव एक हजार किलोमिटर आयोजना स्थापना हुनु अघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक हो । झण्डै ८७९ किलोमिटर नयाँ ट्र्याक खोल्ने र भएका सडकको स्तरोन्नति गर्ने काम भइरहेको छ ।

तराईका सबै जिल्लालाई जोड्ने सडक आयोजनाका रुपमा रहेको हुलाकी लोकमार्गको निर्माण हुलाकी राजमार्गअन्तर्गत मध्यतराईको चितवन–रौतहट खण्डको निर्माण ४५ प्रतिशत मात्र सकिएको छ । राजमार्गअन्तर्गत बारा र रौतहटमा बढी काम भएको राजमार्ग निर्देशनालय योजना कार्यालय छ । रौतहटमा कुल १९–११ किलोमिटर सडक कालोपत्र गर्नुपर्नेमा बाग्मती नदीदेखि बाराको सीमा अरुवा खोलासम्म ‘सब–बेस’ बनाउने काम भइरहेको छ । बारामा तीन चरणमा हुलाकी राजमार्ग निर्माण हुँदैछ ।

काठमाडौँलाई तराईसम्म जोड्ने सबैभन्दा छोटो सडकका रुपमा रहेको काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्विकृत गरेको छ । नेपाली सेनाले निर्माण गरिरहेको सो आयोजना आगामी पाँच वर्षभित्र सम्पूर्ण काम सक्ने गरी समष्टिगत गुरुयोजना बनाइएको छ । काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा रहेको सो मार्गको लम्बाई ७२.५ किलोमिटर हुने डिपिआरमा उल्लेख छ । त्यसमध्ये झण्डै ४० प्रतिशतमा पुल र सुरुङमार्ग हुनेछ । आयोजनामा तीन वटा सुरुङमार्ग निर्माणमा नै सबैभन्दा बढी समय लाग्ने बताइएको छ । तीन सुरुङमध्ये सबैभन्दा लामो सुरुङको लम्बाइ ३.५ किलोमिटर हुनेछ । सुरुङमार्ग निर्माणमा बढी समय लाग्ने हुँदा दुबैतर्फबाट निर्माण गर्ने गरी योजना बनाइएको आयोजनाले जनाएको छ । सेनाका अनुसार १२ वटा ठेक्का मार्फत कामलाई अघि बढाइने छ ।

प्रारम्भिक जगको काम र परामर्शदाता छनोटपछि सडक निर्माणको काम अघि बढाउन चालु आबमा पाँच वटा ठेक्का सम्झौता भइसकेको आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताउनुभयो । आयोजना निर्माण स्थलमा काट्ने र भर्ने काम (कटिङ एण्ड फिलिङ) र संरचना निर्माणको काम समेत अघि बढाइएको छ । आगामी वर्ष असारसम्ममा यी काम सम्पन्न गर्ने सेनाको योजना छ । आगामी वर्षदेखि नै विभिन्न सडकमा कालोपत्र गर्ने काम समेत अघि बढाइनेछ । आगामी वर्ष मङ्सिरमा कालोपत्र शुरु गरेर विसं २०८० असारसम्ममा सम्पन्न गर्ने सेनाको कार्ययोजना छ । आयोजना अन्तर्गतका साना, मझौला र ठूला गरी सबै पुलको निर्माण विसं २०८० मङ्सिरसम्ममा सम्पन्न हुनेछ । आगामी वर्षदेखि निर्माण शुरु गरिने तीन सुरुङमार्ग विसं २०८० वैशाखमा सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सेनाको योजना छ ।

निर्माण शुरु भएको झण्डै छ दशक पछि कान्ति लोकपथको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । यो सडक भएर गत वर्षदेखि नै हेटौँडा–काठमाडौँ आवतजावत गर्न थालिइसकिएको छ । निर्माण चल्दै गर्दा बर्खामा धेरै ठाउँमा पहिरो गई सडक अवरुद्ध भएको थियो जसलाई सडक विभागले खुलायो । हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किलोमिटर लम्बाइको निर्माणाधीन यो सडकलाई हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने १३६ किलोमिटर सडकको विकल्पका रुपमा समेत हेरिएको छ ।
आव २०७२÷७३ पछि सडक सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नति भइरहेको छ । सरकारले यो सडकलाई पहिलो प्राथमिकता (पि वान) मा राखेसँगै योजना कार्यालयको स्थापना भएको हो । सरकारले एक दशकयता वर्षेनी सडकका लागि बजेट विनियोजन गर्दै आएको आयोजनाले जनाएको छ । कतिपय स्थानमा मुआब्जा विवाद भए पनि सडक समयमै सम्पन्न हुने कार्यालयले बताएको छ । निर्माण शुरु हुँदा यो सडकको लम्बाइ ९२ किलोमिटर रहेको थियो ।

सडक निर्माणसँगै सडक मर्मतका हिसाबले पनि सन् २०१९ महत्वपूर्ण रह्यो । काठमाडौँका नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, थापाथली, नक्साल भगवती, कपनलगायतका क्षेत्रमा सडक कालोपत्र भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । चालु आवमा काठमाडौँका धेरै सडकमा कालोपत्र गर्ने योजना रहेकामा अधिकाँशमा स्थानमा काम शुरु भइसकेको र कतिपय सडकमा ठेक्का सम्झौता भइसकेको छ । यी सडकमध्ये कतिपयमा खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्ने काम भइरहेको छ ।

सरकारले यही वर्ष देशभरका ७५३ वटै स्थानीय तहलाई कालोपत्र सडकद्वारा जोड्न योजना अघि बढाएको छ । प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सडक निर्माण र स्तरोन्नतिको योजना बनाइँदै छ । सडक सञ्जाल नपुगेका पालिकामा सडक पु¥याइने र माटे वा ग्राभेल सडक रहेका पालिका केन्द्रमा कालोपत्र सडक पु¥याइने गरी विभागले राष्ट्रिय योजना आयोगसँगको समन्यवमा अवधारणापत्र बनाएको हो । आगामी चार वर्षमा सबै स्थानीय तहको केन्द्रसम्ममा कालोपत्रे सडक पु¥याउने लक्ष्य छ । देशभरका सबै पालिकामा कालोपत्र सडक निर्माणका लागि झण्डै रु डेढ खर्ब लागत लाग्ने अनुमान गरिएको छ । अध्ययनका अनुसार देशभरका सबै पालिकाको केन्द्रमा पुग्ने चार हजार २०० किलोमिटर सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने देखिएको विभागले जनाएको छ ।

सरकारले चालु आवमा ३०० पुल निर्माण गर्ने योजना बनाएको छ जसमध्ये कतिपय नयाँ प्रविधिका पुल छन् । ‘आर्क एण्ड ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजारस्थित पुल सम्पन्न हुने क्रममा छ भने तीनकुनेस्थित पुल अलपत्र अवस्थामा छ ।

नयाँ संरचनानुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि पूँजीगत खर्चतर्फ सबैभन्दा बढी रकम सडक निर्माणमा छुट्टाएको पाइन्छ । इञ्जिनीयरिङ दृष्टिकोणले अध्ययन नभइकन सडक निर्माण भएको भनिए पनि यसले देशभरमा सडक सञ्जाल भने फैलाएको छ । देशभरमा अहिले ८३ हजार किलोमिटर सडक रहेको छ । नेपालको पहिलो सडक मार्ग त्रिभुवन राजपथ हो । विसं २०१६ मा यसको निर्माण शुरु भएको थियो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

goodnews24

मेरो बुबा त विश्वकर्मा हो सर ! मन छुने कथा…

एक युवक काम खोज्ने सिलसिलामा एउटा कम्पनीमा पुगे । प्रारम्भिक परीक्षा र अन्तरर्वार्ता सफलतापूर्वक पास …

error:

Powered by Youth Circle