मुख्य समाचारसमाचार

बादी समुदायका युवतीहरुको पीडाः सरकारले शिक्षामा विभेद गर्दा यौन व्यवसाय अँगाल्न बाध्य छौँ (भिडियो)

Gobal IME Bank

काठमाडौं । बादी समुदायका युवतीहरुले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । सोमवार बादी समुदायका युवतीहरुले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पिछडीएको वर्गले अर्को पिछडीएको वर्गसँग भिडिरहनुपरेको भन्दै बादी समुदायलाई छुट्टै कोटाको व्यवस्था सरकारले गरिदिनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले संविधानमा लेखिएका कुराहरु कागजमा मात्रै सिमित हुँदा बादी समुदायलाई झनै पीडा थपिएका महशुस आफूले गरेको बताए । बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी युवतीहरुले सरकारले बादी युवतीहरुको शिक्षामा विभेद गरेका कारण बादी युवतीहरु बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताए । कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नातकोत्तर गरीरहेकी देवीसरा बादीले बादी समुदायलाई शिक्षामा विभेद गरिँदा बादी युवतीहरु बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताउनु भयो ।

उहाँले पहिला अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भएपनि पछिल्लो समय सरकार सहयोगी नबन्दा यौन व्यवसायमा लागिरहेको बताउनु भयो । उहाँले बादी समुदायका महिलाहरु घर खर्च धान्नका लागि भएपनि सानै उमेरबाट यौन व्यवसायमा लाग्ने गरेको बताउनु भयो । उहाँले आमाको नाममा नागरीकता बन्ने कानून बनेपनि बुबाको पहिचान खोज्दा हजारौं बादी युवाहरुले दुःख व्यहोरिरहेको बताउनु भयो । उहाँले तीन तहकै सरकार बादी समुदायका समस्याप्रति उदासिन बनेका कारण बादी समुदायका समस्या जस्ताको तस्तै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानमा लेखिएको कुरा कार्यान्वयन भएको छैन, बादी समुदायलाई झनै पीडा थपिएका महशुस भएको छ । कागजमा मात्रै सिमित भएको छ । बादी समुदाय हरेक क्षेत्रबाट पिछडिएको वर्ग हो । अहिले पनि १२/१३ वर्षको बच्चाले एक प्याकेट बिस्कुटको लागि आफ्नो शरीर बेच्न बाध्य छन् । नेपाली आमाकै गर्भबाट जन्मिएकाहरुलाई नागरिकता दिन सकिरहेका छैनन् । कति जना युवाहरु आमाको नामबाट नागरिकता नबन्ने र बुबाको ठेगान नहुँदा विचलित भएका छन् । हामीले हामी नेपाली हौँ भन्न पनि धेरै जुध्नुपर्छ । दलित समुदायमा पनि बादी समुदाय पिछडीएको वर्ग हो । बादीकै छुट्टै कोटा भए सहज हुन्थ्यो ।’

त्यस्तै बादी समुदायबाट अधिवक्ता बन्नुभएकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था परिवर्तन हुन नसकेको बताउनु भयो । उहाँले नागरिकता पाउन पनि बादी समुदायले हात पाउ जोड्नुपर्ने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले राजनीतिक दलहरुले निर्वाचनताका ठूलो आश देखाउने तर अघिपछि हेप्ने प्रवृत्ति रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा जतिसुकै व्यवस्था आएपनि बादी समुदायको अवस्था बदलिन सकेको छैन । नागरिकता पाउन पनि हात पाउ जोड्नुपर्छ । हामीले भोट दिँदा केही हेर्दैनन् आश देखाउँछन् तर अघिपछि बादी भन्छन् । हामीले भोट दिएकोबदलामा केही पनि गरेको छैन ।’

सरकारले बादी समुदायका बालबालिकाको शिक्षामा सहयोग नगर्ने र अन्य संस्थाले पनि कक्षा १० पछि पढाउन नपाउने कानून हुँदा बादी समुदायका युवतीहरु यौन व्यवसायमा फर्किन थालेको बताउनु भयो । आर्थिक अवस्थाका कारण यौन व्यवसायमा लाग्न बाध्य भएका बादी समुदायका युवतीहरुको उद्धारका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बादी समुदायको माग छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button