समाचार

भेरी करिडोर : १३ ठाउँमा पुल निर्माण शुरु-GoodNews24

Gobal IME Bank

लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माणकार्य अगाडि बढेको छ । यस सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि बोलपत्र आह्वान भई महिना दिनभित्र काम शुरु हुन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा) मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । सात वटा पुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताउनुभयो।

त्यस्तै सोमबार डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमख भट्टको भनाइ छ । रु सात करोड लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ । एक वर्षभित्र निर्माणकार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोलिएको प्रमुख भट्टले भन्नुभयो । त्यस्तै छलगाड, छरेबग्रीबाट त्रिवेणीसम्मको सडकमा दुई पुल निर्माणका लागि बोलपत्र आह्वानको काम अन्तिम चरणमा पुगेको छ । सडक निर्माणकार्य शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि पक्की पुलको काम शुरु भइरहेको छ ।

यहाँका पुल, पुलेसाहरु निर्माण चरणमा पुग्दा जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारण खुशी भएका छन् । यो सडक भारत, नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो । पुल पुलेसा नहुँदा जोखिमपूण यात्रा गर्न बाध्य भएका र ठाउँठाउँमा यातायातका साधन बदल्ने समस्याको मारमा परेका सर्वसाधारणहरु वर्ष दिनभित्र पुल निर्माण हुने खबरले खुशी भएको नलगाड नगरपालिका–१२ का बुद्धिबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “दश ठाउँमा गाडी फेर्दा र चर्को भाडाका कारण हामी समस्यामा थियौँ, अब राहत मिल्ने खबर सुनेको छु । निकै खुशी लागेको छ ।” पुल निर्माण कार्यसँगै जाजरकोट–डोल्पा सडकखण्डमा कालोपत्रको कामले समेत गति पाएको छ ।

अहिले पासागाडबाट रिम्नासम्मको सडकमा कालेपत्रको काम चालु अवस्थामा छ । यो सम्पन्न हुनेबित्तिकै अगाडि कालोपत्रको काम शुरु हुने प्रमुख भट्टले जानकारी दिनुभयो । नलगाड जलविद्युत् आयोजना निर्माणदेखि डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि यो सडक छिटो निर्माण गर्नुपर्ने अवसर र चुनौती दुवै रहेको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै तहका सरकारसँग समन्वय गरेर हामी विकासबाट पछि परेको भूगोल, क्षेत्र अनि भूभागमा जोड दिइरहेका छौँ । गाउँ, समाज समृद्ध नभई हामी समृद्ध नहुने निश्चित छ । जनताको विकासप्रतिको चाहनालाई सम्मान गरी हामी सोही गतिमा अगाडि बढेका छौँ ।”

अहिले पुल नहुँदा १३ ठाउँमा सवारी साधन बदलेर यात्रा गर्नुपर्ने बाध्यता छ । तुइनमा राखेर यातायातका साधनहरु भेरी नदीमा वारपार गरिँदै आएको छ । आवश्यकताका आधारमा मात्र बजेट खर्च गर्ने मान्यताका आधारमा काम भएको डिभिजन प्रमुख नरेन्द्र भट्टले बताउनुभयो ।

सडक हस्तान्तरणपछि पुल निर्माण शुरु

भेरी करिडोरभित्रको जाजरकोट–डोल्पा सडकखण्ड एक पर्यटकीय मार्ग पनि हो । यही सडकले चीनसँग जोड्ने काम गर्ने प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो । नेपाली सेनाले झण्डै १० वर्षभन्दा बढी समय लगाएर ‘ट्र्याकओपन’ गरेको यो सडक अघिल्लो वर्षमात्र सरकारलाई हस्तान्तरण गरिएको थियो ।

एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा सडकखण्डभित्र नलगाड जलविद्युत् आयोजना (११७ मेगावाट) र जगदुल्ला जलविद्युत् आयोजना (१०६), ताँसुगाड जलविद्युत् आयोजना (४.५ मेगावाट) र भेरी ए, बी, सी आयोजना निर्माणमा सहजता हुनेछ । त्यस्तै जाजरकोट–डोल्पा सडकखण्डमा ३३ केभी विद्युत्को केन्द्रीय लाइन विस्तारका लागि थप सहजता ल्याउने छ । चार सय केभी प्रसारण लाइनको सवस्टेशन निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button