समाचार

लयमा आउँदै पश्चिम जाजरकोट-GoodNews24

Gobal IME Bank

आठ वर्षअघि छेडागाड नगरपालिकाको वडावन हुँदै थाप्लो थिचिने गरी भारी बोकेर शरीरभरी पसिना बगाउँदै जुनिचाँदेको लुहादहस्थित घरमा नुन ल्याउने रेशम खड्का अहिले सोही ठाउँमा गाडीमा सवार गर्नुहुन्छ ।

उहाँलाई यति छिट्टै गाउँगाउँमा सडक पुग्ला भन्ने कुरामा एकरत्ती विश्वास थिएन । बाबासँग नुनलगायत अन्य लत्ताकपडा आफ्नै शरीरको तौलभन्दा बढी बोकेर तीन दिन लगाएर घर जाने रेशमलाई आजभोलि सोही बाटो चार घण्टाभित्र पार गरी घरमा पुग्दा अनौठो लाग्छ ।

केही समय छेडागाडमा शिक्षण गरेका जाजरकोटका पत्रकार राजेन्द्र कार्कीलाई यति छिट्टै पश्चिमका गाउँगाउँमा सडक निर्माण भई यात्रा गर्न पाइएला भन्ने विश्वास समेत नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पढाउँदा दुइ दिन लगाएर हिँडेको बाटो हो, अहिले लामो समयपछि यहाँ आउदा आनन्दसँग गाडीमै सवार हुन पाउँदा खुसी लागेको छ । स्थानीय सर्वसाधारणको जीवनशैली समेत फेरिएको रहेछ ।”

पश्चिम जाजरकोटमा भोकविरुद्ध सहायता अभियान कार्यक्रम लिएर खाद्यान्न हस्तान्तरण गर्न पश्चिम जाजरकोट पुगेका पत्रकार, नागरिक अगुवा तथा अधिकारकर्मीहरु गाडीमै सामग्री लिएर ठाउँठाउँमा पुग्दा विकासले गति लिएको भन्दै खुसी व्यक्त गरेका थिए । सहायता अभियान तथा डिसहोमका प्रतिनिधि वसन्तप्रसाद शर्माले अब पश्चिम जाजरकोट पनि दूरीका हिसाबले टाढा नभएको बताउनुभयो । मानिसको जीवनशैली बदलिएको भन्दै उहाँले अब उत्पादन र रोजगारमा समेत जोड दिए संमृद्धिको बाटो धेरै पर नभएको बताउनुभयो । बाहिरबाट आवश्यक सामग्री लिएर आएका गाडीलाई गाउँबाट अब स्थानीय उत्पादनका सामग्री पठाएर आर्थिक लाभ लिनुपर्ने शर्माको जोड थियो ।

अहिले पश्चिम जाजरकोटमा वन तथा वातावरणमन्त्री तथा प्रतिनिधिसभा सदस्या शक्तिबहादुर बस्नेतको पहलमा वडावनमा १३२ केभी प्रसारण लाइनको सवस्टेशनको काम चालु अवस्थामा छ । यहाँका कच्ची सडकहरु कालेपत्रेका लागि प्रक्रियागतरूपमा कामहरु भइरहेका छन् । त्यस्तै स्थानीय सरकारले मूल सडकबाट गाउँगाउँमा सडक जोडेर सबै वडा यातायातको पहुँचमा पुर्याउने अभियानमा लागेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो । “अब गाउँगाउँमा सडक सञ्जाल विस्तारको काम तिव्र बनेको छ”, नगरप्रमुख महतराले भन्नुभयो, “हामीले आफ्नो गाउँ, टोललाई विकासको मूल प्रवाहमा ल्याउन इमान्दारी र आफ्नोपन देखाउनुपर्ने छ । हामीले गर्ने काम आफ्नो लागि र भावी सन्ततीका लागि हो भन्ने कुरा गहिरोरूपमा बुझ्न जरुरी छ ।”

शिवालय गाउँपालिकाले सबै वडामा सडक निर्माण कार्यलाई निरन्तरता दिएको छ । पालिकाको बढी भाग बजेट सडक निर्माणमा लगाएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । नयाँ सडक निर्माण गर्दा ठाउँठाउँमा भत्किएको भए पनि अर्को वर्षदेखि सडकहरु लयमा आउने अध्यक्ष शाहीको भनाइ छ ।

जुनिचाँदे गाउँपालिकाले पनि सडक निर्माणलाई नै जोड दिएको छ । अहिले पालिकाको तल्लो भागभरि सडक निर्माण कार्य तीव्ररूपमा भएको कावाध्यक्ष शिवा आचार्य ( बस्नेत)ले जानकारी दिनुभयो ।

पश्चिम जाजरकोटमा मध्यपहाडी लोकमार्गको कामलाइ तीव्ररूपमा निर्माण गर्न अगाडि बढाइएको छ । छेडा–चाँदे सडक हुँदै जुम्ला सडकखण्ड समेत पश्चिम जाजरकोटमै पर्दछ । कच्ची कटान कार्य तीव्ररूपमा भएको तर कच्ची काटेर वषौँ बितेको सडकमा कालोपत्रेको कामसमेत अगाडि बढाउन स्थानीयवासीको माग रहेको छ ।

अहिलेको वर्षायाममा निर्माणधीन अवस्थामा रहेका सडकहरुलाई क्षति पुर्याउँदा केही समस्या देखिएको स्थानीय तहले जानकारी दिएका छन् । वर्षायाममा खोलाहरुमा पुल निर्माण नभएका कारण केही अवरोध आए पनि कच्ची कटान भएका सडकहरुले यात्रामा राम्रो सहयोग गरेको जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणहरु बताउँछन् ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button