मनोरञ्जनसमाचार

‘चलचित्र होइन, प्रोजेक्ट बनिरहेका छन्’- निर्देशक झा

Gobal IME Bank

काठमाडौँ । ज्वलन्त सामाजिक विषयमाथि सशक्त चलचित्र तयार गर्ने निर्देशकको रुपमा भारतीय निर्देशक प्रकाश झा परिचित हुनुहुन्छ । निर्मातासँगै केही समययता अभिनेताको रुपमा समेत प्रस्तुत हुनुभएका झाले वृत्तचित्रको सन् १९७५ मा सुरुआत गर्नुभएको थियो । भारतको विहारमा हुर्किनुभएका झा भारतीय चलचित्र उद्योगमा आफ्नो प्रभाव छाड्न सफल हुनुभएको छ ।

नेपालसित सीमा जोडिएको क्षेत्रमा हुर्किनुभएका झा दोस्रो पटक नेपाल आउनुभएको हो । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणमा सहभागी हुन उहाँ पहिलो पटक काठमाडौँ आउनुभएको थियो भने दोस्रो पटक काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल ९किम्फ०मा सहभागी भएर केही दिनअघि भारत फर्किनुभएको छ ।

‘गङ्गाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्युह’, ‘सत्याग्रह’, ‘आरक्षण’ चलचित्र निर्देशन गरिसक्नुभएका झाले दर्शकले बुझ्ने भाषामा चलचित्र बनाउनुपर्ने बताउनुभयो । “व्यावसायिक जोखिम कम गर्दै कलात्मक चलचित्र बनाउने कोसिसु गर्नुपर्छ । चलचित्र भनेको व्यवसाय हो, त्यसैले हलसम्म आउने दर्शक तपाईको कामबाट सन्तुष्ट हुनुपर्छ । कलात्मक अभिव्यक्तिका लागि चलचित्र बनाउने गरेका छौँ भन्ने सोच छ भने त्यो भ्रम हो”, निर्देशक झाले भन्नुभयो, “मैले दर्शकका लागि गङ्गाजल र राजनीतिजस्तो चलचित्र बनाएको छु ।”

निर्देशक झा सुरुआती समयमै ‘दामुल’, ‘परिणति’, ‘मत्युदण्ड’जस्ता चलचित्रले प्रशंसा बटुल्न सफल हुनुभयो । तर अर्को काम गर्न आर्थिक लाभ दिन नसकेको उहाँसित सम्झना छ । ती चलचित्रले उहाँको कामलाई चिनाउन सके पनि आम दर्शकलाई बुझ्न गाह्रो भयो । त्यही समस्या अहिले पनि भारतीय चलचित्र उद्योगमा उहाँले देख्नुहुन्छ । कथावस्तुमा मेहनत नगरिनु यसको मुख्य कारण झा ठान्नुहुन्छ ।

“कथावस्तु छाडेर प्रोजेक्ट बनाइरहनु गल्ती हो”, उहाँले भन्नुभयो, “पहिला कर्पोरेट हाउसले लगानी गर्दा कथावस्तुसँगै कलाकारको चयन निर्देशकले गर्थे । अहिले हाउसले नै स्टारको समयअनुसार चलचित्रको योजना बनाइरहेका छन् । कथामा नभई स्टारमा लगानी भइरहेको छ । त्यसैले अहिले प्रोजेक्ट बनिरहेको छ”, निर्देशक झाले भन्नुभयो ।

‘आश्रम’ नामक वेबसिरिजमार्फत ओटिटीमा प्रवेश गर्नुभएका निर्देशक झाले चलचित्र मन्दिरकै लागि ‘धर्म क्षेत्र’ र ‘जनादेश’ चलचित्रमा काम गरिरहेको जानकारी दिनुभयो । “मेरो चलचित्रले कथा भनेका हुन् । त्यसले कुनै बहस अगाडि ल्याओस् भनेर म बनाउदिन तर आफूलाई लागेको कथा भन्छु । मेरो शैली भने फरक छ”, निर्देशक झाले भन्नुभयो, “कुनै चलचित्रमा प्रेमी र प्रेमिकाको बिछोडको कारण धनी र गरिबबीचको खाडल हुनसक्छ तर मैले त्यहाँ वैचारिक द्वन्द्व र सामाजिक सभ्यतालाई देख्छु । मैले सोच्ने र बुझ्ने कथा अन्यभन्दा फरक हुन् सक्छन् ।”

भारतको लोकसभा निर्वाचनमा समेत सहभागिता जनाइसक्नुभएका निर्देशक झाले व्यवस्थाविरुद्धको आक्रोश चलचित्रमार्फत नै ल्याएको स्वीकार्नुभयो । “मैले नेता बनेर भन्न चाहेका तथ्यलाई चलचित्रमार्फत भनेको हुन सक्छु । किनकी चलचित्रकर्मी सरकारको विपक्षीको भूमिकामा रहनुपर्छ भन्ने मेरो बुझाइ छ”, उहाँले भन्नुभयो । नेपाली चलचित्र र चलचित्रकर्र्मीसँग नजिक रहनुभएका निर्देशक झाले आफ्नो आँखाले धेरै नेपाली कथा देखिरहेको बताउनुभयो । यद्दपि, उहाँ नेपाली चलचित्र निर्देशन गर्ने कुनै योजनामा भने तत्काल हुनुहुन्न । नेपाली चलचित्र निर्देशकसँग सहकार्य गर्नसक्ने विषय भने उहाँ नकार्नु हुन्न ।

“मैले यहाँको कथा भन्न सक्दिन । किनकी मैले अहिलेसम्म आफ्नो ठाउँबाहेक अन्यन्त्रको कथा भनेको छैन तर, नेपाली चलचित्रकर्मीसँग नजिक भएर काम गर्न सक्छु । मेरो चलचित्रप्रतिको बुझाइलाई उहाँहरूले प्रयोग गर्नसक्नु हुन्छ”, निर्देशक झाले भन्नुभयो, “हाम्रैझैँ कथा र पटकथाको समस्या यहाँ पनि छ जस्तो लाग्छ । प्राविधिक झैँ कथावस्तुमा पनि मेहनत आवश्यक छ ।” उहाँको टोलीले केही नेपाली विषयवस्तुमा सहकार्य गर्ने गरी काम गरिरहेको जानकारी दिनुभयो ।

नेपाली चलचित्रलाई विश्वभर लैजाने सन्दर्भलाई उहाँ विषयवस्तुसित जोड्नुहुन्छ । “विश्वव्यापी विषयवस्तु नल्याउँदासम्म दर्शक पाउन सक्दैनौँ । स्टारको सट्टा विषयवस्तुमा मेहनत गर्नुस्”, निर्देशक झाले भन्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button