न्यूयोर्क। ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण शनिबार बेलुका अमेरिकाको सहर न्यूयोर्कमा सम्पन्न भएको छ । स्थानीय क्वीन्सको मेलरोज बलरुममा सम्पन्न भएको अवार्डमा फिल्म र फिल्मकर्मीलाई पुरस्कृत गरिएको थियो ।
अवार्ड कार्यक्रममा ‘प्रेमगीत ३’ सर्वश्रेष्ठ फिल्म घोषित भयो भने सन्तोष सेनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे । वर्ष २०२३ को स्टारको उपाधि अनमोल केसीले पाए र स्वस्तिमा खड्का २०२३ वर्षको उत्कृष्ट अभिनेत्री घोषित भइन् ।
अवार्ड ग्रहण गर्न अनमोल यतिबेला न्यूयोर्कमा छन् ।
शिव विक वर्षका सर्वश्रेष्ठ नृत्य निर्देशक घाषित भए । सर्वश्रेष्ठ डायस्पोरा फिल्मको पुरस्कार ‘लक्का जवान’ले जित्यो । सहायक अभिनेतातर्फ सुनिल थापा र सहायक अभिनेत्रीतर्फ प्रियंका कार्कीले अवार्ड हासिल गरे ।
फिल्म अचिभमेन्ट अवार्ड अभिनेता सरोज खनालले प्राप्त गरे । वर्ष गायिकाको पुरस्कार प्रविशा अधिकारी, डायस्पोराका वर्ष अभिनेता सुवास थापाले प्राप्त गरे । चार दशकदेखि फिल्म क्षेत्रमा योगदान दिएबापत अभिनेता शिव श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।
गेहेन्द्र धिमाल सम्मान अभिनेता पुरण जोशी, रामकेशर बोगटी सम्मान बीना बुढाथोकी, अभियानश्री सम्मान नारायण श्रेष्ठ, सुनिल पाठक र नारायण पुरीलाई प्रदान गरियो ।
प्रोत्साहन पुरस्कार अनिल पाण्डे, विक्रान्त बस्नेत, केदार उप्रेती, सन्तोष रामदाम र शिव पुरीले प्राप्त गरे । यसपटकको अवार्डका जुरीमा कृष्ण मल्ल, रविन्द्र खड्का, शर्मिला मल्ल, नारायण प्रधान र दुर्गा बिसुराल थिए ।
अवार्ड समारोहमा निशा सुनार, स्मिता दाहाल, बसन्ती राई, रामप्रसाद खनाल लगायतले सांगीतिक र नृत्य प्रस्तुति दिएका थिए। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी लगायतले वातावरण संरक्षणको सन्देश दिन विरुवा रोपेर समारोह उद्घाटन गरिएको थियो ।
मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा र उपविजेता इशा सुवेदीलाई पनि सम्मान प्रदान गरियो । समारोहमा सहभागि हुन भुवन, सरोज, शिव, रविन्द्रसहित अनमोल केसी, जिया केसी, निखिल उप्रेती, आयुष्मान जोशी लगायत न्यूयोर्कमा पुगेका थिए ।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गरेका हुन् । न्यूयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो जसका प्रमुख शैलेश श्रेष्ठ हुन् ।