
१७ मंसिर, ललितपुर । अपांगहरुको हक हितमा अहिले धेरै संस्थाहरु लागि परेका छन् । यस्ता धेरै संघ सस्थाहरु छन् जुन अझै पनि अपाङ्गहरुको लागि सुविधाजनक छैनन् । यसै बीच ललितपुर महानगरले २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर स्थानीय तहको सरकारको भूमिकामा ललितपुर महानगरलाई अपाङ्गता मैत्री बनाउन सरोकारवाला निकायहरुबीच अन्तरक्रिया सम्पन्न गरेको छ । ललितपुर महानगरपालिका नगरप्रमुख चिरीवावु महर्जनले उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको मर्मलाई बुझेर सोहि अनुसार कार्य गर्दै जाने बिस्वाश दिलाउनुभयो ।‘ ललितपुर महानगरले गर्ने हरेक क्रियाकलाप अपाङ्गतामैत्री हुनै पर्छ भन्ने नीतिलाइ पछ्याएका छौं । आफ्नै कार्यकालभित्र ललितपुर महानगरपालिकाका सबै वडा कार्यालयका भवनहरु अपाङ्गतामैत्री बनाउने छौ ,प्रमुख महर्जनले बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै उपप्रमुख गीता सत्यालले अपाङ्गताको प्रकारको आधारमा चार प्रकारमा विभाजन गरेर ललितपुर महानगरपालिकाले असारदेखि हालसम्म ३८० जनालाई परिचयपत्र उपलब्ध गराई सकेको र अपाङ्गता भएका व्यक्तिहरुको अवस्थाअनुसार कार्यालयमा आउन नसक्नेहरुलाई घरमै पुगेर परिचय पत्र वितरण गरिरहेको साथै यस्ता व्यक्तिलाई महानगरले हुने सम्मको सहयोग गर्न सधै तत्पर रहेको उपप्रमुख सत्यालले बताउनुभयो ।
महानगरीय प्रहरी परिसर जावलाखेलका सहायक प्रवक्ता डिएसपी सन्तोष तामाङले अपाङ्गता भएकाहरुमाथि भएको कसुरमा थप सजाँय हुने संवैधानिक व्यवस्था रहेको प्रष्ट पार्नुभएको थियाे । ललितपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले आउने दिनहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समेटेर नीति तथा योजनाहरु बन्ने जानकारी गराउनु भयो ।
ललितपुर महानगरपालिकाले ‘सबैको पहल, अपाङ्गतामैत्री सहर’भन्ने स्थानीय नारा तय गरेर विभिन्न कार्यक्रमहरुको योजना गरिरहेको छ । सन् १९९२ देखि प्रत्येक वर्षको डिसेम्बर ३ तारिकलाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रुपमा मनाइदैं आएको छ । यसर्थ हाम्रो देशमा पनि अपाङ्गहरुको ‘भविश्य सबै कुरामा पहुँचयुक्त छ’ भन्ने नाराका साथ यस वर्षको अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवस मनाइने भएको छ।