मुख्य समाचारसमाचार

गुल्मीमै अक्सिजन उत्पादनले बिरामीलाई राहत

Gobal IME Bank

रेसुङ्गा । विगत एक वर्षदेखि गुल्मी अस्पतालले प्लान्टको स्थापना गरेर अक्सिजन उत्पादन गर्दै आएको छ । कोरोना महामारीको समयमा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनुपरेपछि नेपाल पत्रकार महासङ्घ गुल्मी, जिल्ला उद्योग वाणिज्य सङ्घ गुल्मी र नेपाल सरकारसमेतको पहल तथा सक्रियतामा प्लान्टको स्थापना भएको थियो ।

गुल्मी अस्पतालमा एक वर्षअघिसम्म बुटवलबाट सिलिण्डरमा अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता थियो । गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले पहिला अक्सिजन बाहिरबाट ल्याउँदा ढुवानीको समस्या र धेरै बिरामी भर्ना गर्न नसकिने समस्या हुने गरेको सम्झनुभयो । कोरोना महामारीको समयमा सङ्घसंस्था र सरकारको सहयोगबाट जिल्लामै अक्सिजन उत्पादन हुँदा बिरामीलाई राहत भएको छ । विसं २०७८ मङ्सिरबाट अक्सिजनको उत्पादन हुन थालेको हो ।

अस्पतालमा अहिले दैनिक ४० सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । एक सिलिण्डरमा छ हजार पाँच सय लिटर अक्सिजन हुन्छ । अक्सिजन साना, मझौला र ठूला गरी तीन तहका सिलिण्डरमा भरिन्छ । सानो रु पाँच सय, मझौला एक हजार र ठूलो एक हजार दुई सयमा बिक्री गरिन्छ । तर अस्पतालले सेवामूलक तरिकाले मात्र अक्सिजन उत्पादन गर्दै आएको छ ।

खपत कम हुँदै गएपछि अस्पतालले हप्तामा सोमबार र बिहीबारमात्र उत्पादन गरेको छ । पचास जना बिरामीलाई अहिले पनि एकैपटक मुटु र फोक्सोको दमसम्बन्धी उपचार गर्न सकिने अस्पतालका डा पच्याले जानकारी दिनुभयो । “सेवामूलकरूपमा अक्सिजनको उत्पादन गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “सामाजिक सङ्घसंस्थाको अगुवाइबाट निर्माण भएपछि धेरै राहत भएको छ”, उहाँले भन्नुभयो । अस्पतालले अब सघन उपचार कक्ष ९आइसीयू० सञ्चालन गर्नेछ ।

जिल्ला उद्योग वाणिज्य सङ्घले सबै व्यवसायीबाट सहयोग उठाएर अक्सिजन प्लान्टका लागि भवन निर्माण गरिदिएको छ । कुल रु १४ लाख ४६ हजारमा सङ्घले भवन बनाएको अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताउनुभयो । “महामारीको समयमा जनताप्रति उत्तरदायी भएर सहयोग उठाएका हौँ”, पौडेलले भन्नुभयो ।

अक्सिजन प्लान्ट बन्नुमा सुरुमा नेपाल पत्रकार महासङ्घको सक्रियतामा सहयोग उठाउनु हो । महासङ्घले कुल रु ५० लाख प्लान्ट निर्माणमा मात्र सहयोग गरेको थियो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले महामारी मात्र नभई अन्य समयमा पनि बिरामीलाई अक्सिजन अभाव नहोस् भनेर अभियान थालेको बताउनुभयो । “महामारीको समयमा अक्सिजन अभाव हुँदा गुल्मेली तड्पनुपरेको थियो”, उहाँ भन्नुहुन्छ, “अभियानले सार्थकता पाउँदा गुल्मेली पत्रकार खुसी छौँ”, उहाँले भन्नुभयो । महासङ्घले अक्सिजन प्लान्ट निर्माण, अन्य स्वास्थ्य सामग्री सहयोग र प्लान्ट बन्नुभन्दा पहिला बुटवलमा सिलिण्डर भर्ने कार्यमा पनि सहयोग गरिएको थियो ।

अक्सिजन प्लान्टको मेसिन खरिदमा रु एक करोड ३१ लाख र भवन निर्माणमा रु १४ लाख ४६ हजार खर्च भएको छ । जसमा नेपाल सरकारको रु एक करोड, पत्रकार महासङ्घको रु ५० लाख र वाणिज्य सङ्घको रु १४ लाख ४६ हजार खर्च भएको हो । केही रकम बचतसमेत भएको छ । अक्सिजन प्लान्टको उद्घाटन तत्कालीन सांसद प्रदीपकुमार ज्ञवालीले गर्नुभएको थियो ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सिङ्गो जिल्लावासीको प्रयत्नबाट अक्सिजन उत्पादन गर्न सफल भएको बताउनुभयो । “सरकार र नागरिकको सहकार्यको उत्तम नमूना अक्सिजन प्लान्ट हो”, उहाँ भन्नुहुन्छ, “अक्सिजनमा जिल्ला आत्मनिर्भर बनेजस्तै अन्य उत्पादनमूलक र सेवामूलक क्षेत्रमा पनि सहकार्यबाट अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button