मुख्य समाचारसमाचार
हरि बुढामगरलाई विमानस्थलमा मगर समुदायले गरे झाँकीसहित भव्य स्वागत


लुक्लाबाट काठमाडौँ आइपुग्नुभएका आरोही बुढामगरलाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गर्नुभएको हो ।
भूतपूर्व गोर्खा सैनिक समेत रहनुभएका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । योसँगै उहाँले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।
स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरि बुढामगरले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाउनुभएको भन्दै हार्दिक बधाइ दिनुभयो ।
“हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ”, मन्त्री किरातीले भन्नुभयो, “उहाँले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।”
सो अवसरमा आरोही बुढामगरले आफ्नो सफलतामा सहयोग गर्ने टीमलाई विशेष धन्यवाद दिनुभयो । “आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरु मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्याउने टीम बिना मेरो प्रयास सफल हुने थिएन ।” उहाँले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्