मुख्य समाचारसमाचार

होलीका रोचक तथ्यहरु

Gobal IME Bank

“फाल्गुने पूर्णिमायां तु दुग्धा भवति होलिकाः ।
पश्चात् प्रातः समुत्थाय क्रियते होलिकोत्सवः ।।”

अर्थात् फागुन महिनाको पूर्णिमा तिथिमा होलिका दहन गरिन्छ । त्यसको अर्को दिन बिहानै उठेर होलिकोत्सव मनाइने कुरा हिन्दू शास्त्रमा उल्लेख भएको पाइन्छ । मदनोत्सव र बसनोत्सवको पर्वको रुपमा मनाइने यो पर्वलाई होलिका, होलाका,होरि र फागुको नामले पनि प्रचलित छ ।
बराहपुराणमा फाल्गुन पुराणलाई पटवास विलासिनी भनिएको छ अबिर जस्तो चुर्णलाई पटवास भनिन्छ ।
नेपाल लगायत भारतका विभिन्न क्षेत्रमा समेत यो पर्व धुमधामका साथ मनाइन्छ । मिथिलाञ्चलमा यो पर्व पूर्णिमाको भोलिपल्ट अर्थात् चैत्र शुक्ल प्रतिपदाका दिन अत्यन्त धुमधामका साथ मनाइन्छ । काठमाडौं उपत्यकामा फाल्गुण शुक्ल अष्टमीको दिन वसन्तपुर दरबारमा शुभ मुहुर्तमा वनबाट काटेर ल्याइएको रूखलाई ताछेर विशेष किसिमको ध्वजा पताका बाँधेर सजाइ चीरोत्थान गरिन्छ र यो पर्वको शुभारम्भ भएको मानिन्छ । ठूलो तीन छत्र भएको यस चीरको आकृति गोलो हुन्छ र तहतह परेको छत्रका झल्लरहरूमा रङ्गीबिरङ्गी कपडा र पताकाहरू झुुण्ड्याइएका हुन्छन् । यसपछि पूर्णिमाको दिन लिंगो अर्थात् चीरको वरिपरि आगो बालेर ढालेपछि यो पर्वको समापन हुन्छ । प्राचीन मान्यता अनुसार राजा गुणकामदेवको समयदेखि असन धलाँसीका मानन्धर जातिले सो चीर ठड्याउने जिम्मा पाएबमोजिम मानन्धर समूहको सिँ’ गुठीबाट चीर उठाउने कार्य गरिन्छ । चीर गाड्दा परम्परागत सामूहिक गीत गाँउदै फागु खेल्नेको मुखभरि अबीर छर्किइन्छ र चीरको पूजा गरिन्छ ।
होली उत्पत्तिका सम्बन्धमा अर्को एउटा शास्त्रीय मान्यता पनि जोडिएको छ । द्वापरयुगमा मथुराको कारागारमा जन्म लिइ गोकुल पुर्याइएका बालकृष्ण भगवानलाई मार्न उहाँकै मामा मथुराका राजा कंसले पुतना नाम गरेकी राक्षसनीलाई गोकुल पठाए । पुतनाले आफ्नो स्तनमा विष मिलाएर भगवान कृष्णलाई पिलाउन थाली तर सर्वव्यापी भगवानले दुध पिउन थालि उसको प्राण नै लिनु भयो । यसपछि गोकुलावासीले हर्षोल्लासका साथ अवीर वर्षा गरी रङ्गको होली खेल्न थाले । श्रीकृष्ण–पूतना र गोपिनीको प्रसंगबाट द्वापरयुगदेखि रङ्ग खेल्ने परम्पराको थालनी भएको मानिन्छ ।
पुरातात्विक प्रमाणको रूपमा हेर्दा भारतको विन्ध्याप्रदेशको रामगढ नामक स्थानमा ई. पु. ३०० वर्षको एक शिलालेखमा होली पर्व मनाइएको उल्लेख पाइन्छ । सातौँ शताब्दीमा रचना गरिएको रत्नावली नाटकमा एक पात्रले होलीको वर्णन गरेका छन् ।
चीनमा पनि यो पर्व ‘चिङहुङ’ नामक राक्षसको बध भएको उपलक्ष्यमा पन्ध्रदिन सम्म ‘च्वेज’ नामबाट धुमधामसँग मनाइन्छ । बर्मा र थाइल्याण्डमा पनि यो पर्व पानीको पूजा गरी मनाइन्छ ।
विशेष गरी शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको हरियालीको खुशियालीको आगमनमा दुःख पीडा सबै बिर्सिएर, रिसराग सबै भुलेर एक–आपसमा खुसियाली बाँड्दै विभिन्न किसिमको रङ्ग एक–आपसमा दलिने परम्परा भएकोले यसलाई मित्रताको पर्व पनि भनिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button