
एप्पलको बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च हुन केही महिना मात्रै बाँकी छ। प्रतिक्षाको घडी नजिक आउँदै गर्दा नयाँ आइफोन सिरिजका विषयमा विभिन्न खालका समाचार तथा खुलासाहरु सार्वजनिक भैहरेका छन्। जस अनुसार एप्पलले आफ्नो नयाँ आइफोन १५ सिरिजमा पहिलोपटक आइफोनका डिजाइन तथा हार्डवेयरमा परिवर्तन गर्न लागेको दाबी गरिएको छ।
आइफोन १५ प्रो म्याक्समा एप्पलले आइफोनमा रहँदै आएको म्यूट बटनलाई हटाएर एक नयाँ बटन राख्ने र त्यो फाइभ जी फोनका लागि नयाँ हुने बताइएको छ।
केहीदिन अघि मात्रै एप्पलको आसन्न आइफोन १५ को दाबी गरिएको आइफोनको बाहिरी खोलको तस्वीर सार्वजनिक भएको थियो। त्यसबाटै नयाँ आइफोनमा म्यूट बटन हटाउन लागिएको अनुमान गरिएको हो। माजिन बू नामक टिप्स्टरले उक्त तस्बीर शेयर गर्दै त्यस्तो दाबी गरेका थिए। यदि सोही बमोजिम भएमा एप्पलको आइफोन १५ सिरिज अन्तर्गतको प्रो म्याक्समा म्यूट स्विच बटन परिवर्तन हुनेछ, जुन करीब १६ वर्षमा पहिलोपटक हुन लागेको हो।
उक्त खोलको तस्वीर हेर्दा म्यूट बटनलाई प्रतिस्थापन गर्ने नयाँ बटन धेरै वृत्ताकार हुने देखिन्छ। एक दाबी अनुसार नयाँ आइफोनमा क्यामरालाई नियन्त्रण गर्ने तथा फोनलाई स्विचअफ गर्ने जस्ता दुबै काम गर्नसक्ने एउटै बटन हुनेछ। सार्वजनिक भएको समाचार अनुसार आइफोन १५ प्रो म्याक्सको पछाडिको क्यामराको भागमा एउटा ठूलो आकारको उठेको भाग हुनेछ।
यसको अर्थ आइफोन १५ प्रो म्याक्समा ठूलो आकारको क्यामरा हुने अनुमान गर्न सकिन्छ। यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहने बताइएको छ। आइफोन १५ सिरिजको स्क्रिनको आकार आइफोन १४ सिरिजको जत्रै हुने बताइएको छ। तर डिस्प्लेको भेजलको आकार घट्ने र त्यसबाट स्क्रिनको लुक्स सुन्दर देखिनुका साथै प्रयोगकर्ताले बढि स्क्रिन स्पेस प्राप्त गर्नेछन्।
आइफोन १५ सिरिजको अर्को महत्वपूर्ण परिवर्तन भनेको यसको चार्जिङ पोर्ट हो। एप्पलले आफ्नो स्वामित्वको लाइटनिंग पोर्टलाई अन्त्य गरी टाइप सी पोर्ट राख्नेछ। अर्थात् आइफोन १५ सिरिज नै टाइप सी पोर्ट भएको पहिलो आइफोन बन्नेछ। -Rabina Mangranti