समाचार

सीमामा अड्किएका नेपालीलाई स्वदेश भित्रने अन्तिम मौका, क्वारेन्टाइन अनिवार्य

Gobal IME Bank

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न आज एक दिनको समय दिइएको छ । तर, उनीहरु १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने सरकराले जनाएको छ ।

यसका लागि स्थानीय प्रशासन, प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टाइनको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो ।

कोभिड–१९ को जोखिम रहेकाले मुलुकमा जथाभावी मानिस प्रवेश गर्दा र हिँडडुल गर्दा रोग फैलनसक्ने खतरालाई मध्यनगर गरी सरकारले आज बिहान ६ बजेदेखि लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको थियो । चैत १८ गते विहान ६ बजेसमम उक्त आदेश लागु हुनेछ ।

“आफु पनि सुरक्षित रहुँ र अरुलाई पनि सुरक्षित राखौँ भन्ने मनसायका साथ सरकारले आव्हान गरेको हो, आजको सुरक्षा अबस्था र सीमामा भइरहेको गतिविधिको बैठकमा समीक्षा पनि भयो, नागरिकको साथ छ भन्ने निष्कर्ष छ”, बैठकपछि मन्त्री खतिवडाले भन्नुभयो ।

उहाँले पूर्वसूचना नपाएर वा अन्य कारणले यात्रा कायमै राखेर आएका नेपाली दक्षिणी सीमा क्षेत्रमा बसेको जानकारी आएकाले बीच बाटोमा अलपत्र नपरुन् भनेर आज अन्तिम पटक एक दिनका लागि आउन खुला गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । उनीहरुलाई नेपाली हो भन्ने परिचय पत्र हेरेर मात्रै छाडिने छ ।

कतिपय स्वास्थ्य उपकरणहरुको स्थानीय बजारमा आपूर्ति नभएको अबस्थामा अन्तर्राष्ट्रिय बजारबाट छिटो ल्याउनुपर्ने आवश्यकता महसुस गरी सरकारले निजी क्षेत्रबाट ल्याउन आव्हान गर्ने निर्णय पनि गरेको छ । आपूर्तिलाई सहज बनाउन उक्त निर्णय गरेको मन्त्री डा खतिवडाले बताउनुभयो ।

सरकारले चीन र भारतबाट मेडिकल किट ल्याउने विषयमा पहल गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । सरकारीस्तरबाट समय लाग्न सक्ने भएकाले निजी क्षेत्रले ल्याउन सक्ने भए त्यसका लागि समेत प्रस्ताव ल्याउन सरकारले आव्हान गरेको उहाँले जानकारी दिनुभयो । उनीहरलाई हवाईलगायत अन्य सेवा आवश्यक भए नेपाल सरकारले सहयोग गर्ने जनाएको छ ।

अत्यावश्यक बाहेक बाहिर ननिस्कुन र अत्यावश्यक बाहेक गाडी नचलाउनु भनेर सरकारले गरेको आव्हानलाई आम–नेपालीले पालना गरेर अपेक्षामा साथ दिएको भन्दै सरकारले धन्यवाद समेत दिएको छ ।

सरकारी कोषमा रकम जम्मा गर्नुपर्ने

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी केन्द्रीय कोष बनाइसकेकाले सबैलाई उक्त कोषमा रकम जम्मा गर्न आव्हान गरेको छ । यसअघि कोष खडा गरेर जम्मा गरिएको रकम एक हप्ताभित्र कोषमा जम्मा गर्न समेत सरकारले आग्रह गरेको छ । “कुनै संस्थाले कोष खडा गरिसकेको रहेछ भने आफू मातहतका संस्था, कर्मचारी र निकायका व्यक्तिको रकम मात्रै सङ्कलन गर्नुपर्ने हुन्छ, तर त्यो केन्द्रीय कोषमा हरेक हप्ता जम्मा गर्नुपर्छ”, बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री डा खतिवडाले भन्नुभयो ।

बीर अस्पताल, धुलिखेल अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोगको परीक्षणका लागि तत्कालै यन्त्र उपकरण जडान गर्ने र त्यो नबन्दासम्म सवारी साधनको माध्यामबाट टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा छिटो भन्दा छिटो परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ ।

बैठकमा आजको अबस्थाबारे समीक्षा भएको जानकारी दिँदै मन्त्री डा खतिवडाले नागरिकको सुरक्षाका लागि सरकारले काम गरेको र आपतकालिन कफर््यू लगाएको अवस्था नभएकाले अझै कडाइ गर्नुपर्ने आवश्यकता नरहेको निष्कर्ष समेत निकालेको जानकारी गराउनुभयो । तर केही छिटफुट कमीकमजोरीलाई भने सच्याएर जाने सरकारले बताएको छ ।

मन्त्री डा खतिवडाले भन्नुभयो, “भिडभाडमा हिँड्दा सङ्क्रमण हुन्छ की भन्ने हो, जोखिम नलिऔँ भनेर आव्हान गरिएको हो, नागरिकले पालना गरिरहेका छन्, कहीँ कतै यस्तो अवस्था भएमा सच्चाएर सरकार अघि बढ्छ ।”

सरकारले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोभिड­१९ को रोकथाम र निर्मूूल गर्न अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको हो ।

आदेशमा ‘औषधोपचार, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन’ भनिएको छ । अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने पनि आदेशमा उल्लेख छ । आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्नेछ ।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत् दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुनेछन् ।

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक र कर्मचारीलाई बिदा दिन आदेशमा भनिएको छ । औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गरिने तथा अभाव देखाई मूूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारवाही गरिने आदेशमा भनिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button