समाचार

कोभिड लागेका गर्भवतीका लागि छुट्टै कक्ष-GoodNews24

Gobal IME Bank

कोभिड–१९ सङ्क्रमित गर्भवतीका लागि भरतपुर अस्पतालले छुट्टै कक्षको निर्माण थालेको छ । व्यथा लागेका गर्भवतीलाई राख्ने, साधारण बच्चा जन्माउने, शल्यक्रिया र शिशु कक्ष अलग्गै बनाउन शुरु गरेको अस्पतालले जनाएको छ । चितवन सहित १९ जिल्लाका बिरामी आउने यस अस्पतालमा कोभिड भएकाको राम्रो उपचार र अन्यलाई सुरक्षित बनाउन अलग्गै कक्ष बनाउन थालिएको हो ।

यस अस्पतालमा वार्षिक १३ हजारभन्दा बढी गर्भवती सुत्केरी हुने गर्दछन् । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार हाल दैनिक ३० जनाभन्दा बढी गर्भवतीले यहाँ बच्चा जन्माउने गरेका छन् । अन्यत्रभन्दा सुरक्षित ठानेर नै यहाँ बढी गर्भवती सुत्केरी हुन आउने गरेको उहाँको भनाइ छ । हालसम्म अस्पतालले चार जना कोरोना सङ्क्रिमण भएका महिलाको प्रसूति गराइसकेको छ । एक जना महिला आइसोलेसनमा रहेको सापकोटाको भनाइ छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार यही शुक्रबारसम्ममा ती कक्ष तयार हुने गरी काम भइरहेको छ । कोभिडको आइसोलेसन बनाइएको अस्पतालको ‘ए’ ब्लकको भुइँतलामा यसअघिको सर्जिकल क्याबिनका १० कोठामध्ये चार कोठामा छुट्टै कक्ष बनाउन थालिएको छ । तिवारीको भनाइमा कोभिड आइसोलेसन रहेकै ठाउँमा प्रसूति कक्ष निर्माण गरिँदै छ । कोभिड सङ्क्रमित आमाबाट जन्मिएका बच्चा राख्ने ठाउँमा भेन्टिलेटरसमेत जडान गरिने तिवारीले जानकारी दिनुभयो ।

कोभिडका बिरामी आउने छुट्टै प्रवेश क्षेत्र भएकाले उनीहरुबाट अन्य सुत्केरी र बिरामीलाई कुनै समस्या हुने छैन । अस्पतालको “ए” व्लकको भुई तलाको सर्जिकल बिभागका छ कोठा र अर्थोपेडिक कक्षलाई हाल कोभिड आइसोलेसन बनाइएको छ । सोही ठाउँमा कोभिड प्रसूति कक्ष बनाउन लागिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले परोपकार प्रसूतिगृह पछि देशमै सबैभन्दा बढी सुत्केरी हुने अस्पताल भएकाले आवश्यक सम्पूर्ण तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी झै हामी तर्किन पाउँदैनौँ । कोभिड भएका गर्भवतीको प्रसूति गराउनु पर्ने भएकाले छुट्टै व्यवस्था गर्न लागेका छौँ ।”

भरतपुर अस्पतालले १० श्ययाको कोभिड सघन उपचार कक्ष पनि सञ्चालन गरिरहेको छ । यस अस्पतालले जिल्लामा कोभिड उपचारको नेतृत्व गरिरहेको छ । मेडिकल कलेज, निजी अस्पताल सबैको सहकार्यमा कोभिड उपचार गराइएको अधिकारीको भनाइ छ । भरतपुर अस्पतालले गएको वैशाख महिनाबाट कोभिड उपचार गरिरहेको छ । कोभिडका बिरामीलाई छुट्टै ठाउँमा उच्च सावधानी अपनाएर उपचार भइरहेकाले अन्य बिरामी पूर्ण सुरक्षित रहेको उहाँले बताउनुभयो । कोभिड शल्यक्रिया कक्षमा प्रसूति बाहेककाको शल्यक्रियासमेत गर्न सकिने उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालले कोरोना परीक्षण प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button