मुख्य समाचारसमाचार

रविको राहदानी सम्बन्धी मुद्दालाई राजनीतिक सौदाबाजी नगरियोस्ः महान्यायाधिवक्ता पोखरेल

Gobal IME Bank
file photo

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गर्नुभएको छ ।

शुक्रवार महान्यायाधिवक्ता बनेको सय दिनको काम कारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले राहदानी प्रकरण महान्यायाधिवक्ताको कार्यलयले प्रमाणहरुको मूल्यांकन गरी प्रक्रियागत रुपमा नै टुंग्याएको दाबी गर्नुभयो । उहाँले राहदानीको विषयमा अदालतले प्रक्रियागत त्रुटी छ भनेर कतै नलेखेको उल्लेख गर्दै प्रक्रियागत रुपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने नर्णय लिएको बताउनु भयो ।

उहाँले राहदानी सम्बन्धी मुद्दा नचलाउने निर्णय कसैको दबाबमा नभइ विवेकपूर्ण रुपमा गरिएको स्पष्ट पार्नुभयो । उहाँले अदालतको फैसलाले नै कतैपनि प्रक्रियागत त्रुटी रहेको उल्लेख नगरेकाले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोड्नु अन्याय हुने बताउनु भयो । उहाँले राहदानीको मुद्दा नचलाउने निर्णयको स्वामित्व महान्यायाधिवक्ता कार्यालयले लिने भन्दै राजनीतिक विषयसँग जोड्न आवश्यक नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जहाँसम्म रादानी प्रकरणको कुरा छ, यसलाई म धेरै भन्न चाहन्न । राहदानी प्रकरणको सम्बन्धमा हामीले प्रमाणहरुको मूल्यांकन गरेर प्रक्रियागत रुपमा आएका कुरालाई हामीले टुंग्याएको हौँ । कहिले काहीँ हाम्रो तथ्यका रुपमा पनि समस्या हुन्छ, हामीले नेपाल प्रहरीलाई भनेका छौँ अनुसन्धान पूरा नभइकन आएको डकुमेण्ट हामी स्वीकार गर्दैनौँ भनेका छौँ । अनुसन्धानको प्रक्रियामा कहीँ त्रुटी छ भनेर अदालतले कतै लेखेको रहेनछ । भनेपछि अनुसन्धान पूरा भएर प्रक्रियागत आयो, त्यसपछि काठमाडौं सरकारी वकील कार्यालयमा आयो, त्यसपछि उच्चमा गयो, म कहाँ आउँदा पनि यहाँ भित्र पनि एक जना सह न्यायाधिवक्ता र एकजना नायव महान्यायाधिवक्ताको माध्यमबाट आउँछ ।

राहदानी प्रक्रियागत रुपमा आइसकेपछि प्रमाणको मूल्यांकन गरेर विवेकको प्रयोग गरेर गरिएको निर्णय हो, त्यसैले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोडिनु अन्याय हुन्छ, त्यसो गरिनु हुँदैन भन्ने हाम्रो मान्यता छ । हाम्रो निर्णयको स्वामित्व हामीले लिएका छौँ । हामीले विश्वासकासाथ यो निर्णय गरेका हौँ । कानून र प्रमाणको मूल्यांकन गरेर हामीले विवेकपूर्ण काम गरेका छौँ, राजनीतिक कुरासँग जोडिनु आवश्यक छैन ।’

महान्यायाधिवक्ता पोखरेलले बलात्कारका घटनामा पीडितहरुले बयान फेर्ने कुरालाई मध्यनजर गरी महान्यायाधिवक्ताको कार्यालयले साक्षीको सुरक्षाको लागि आवश्यक काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले फौजदारी न्याय प्रणालीमा साक्षीको सुरक्षा र पीडितको सुरक्षाबिना न्याय सम्पादन हुन कठिनाइ हुनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बलात्कारका घटना पीडितहरुले बयान फेर्ने कामहरु यसमा हामीले साक्षीको सुरक्षाको कुरा हाम्रो प्राथमिकताका कार्यक्रम हुन् । यो हाम्रो रणनीतिक योजना पनि उल्लेख गरिएको छ । पछिल्लो दिनमा हामीले यसलाएई समावेश गरेका छन्, पीडितको सुरक्षा, साक्षीको सुरक्षाका कुरा हामीले समावेश गरेका छौँ । फौजदारी न्याय प्रणालीमा साक्षीको सुरक्षा र पीडितको सुरक्षाबिना हामी सफल हुन सक्दैनौँ । अनुसन्धान र अभियोजनलाई कसरी प्रभावकारी बनाउने ? हाम्रो मुल कुरा हो । गलत मान्छे प्रतिवादी बन्ने र प्रतिवादी बनाइनुपर्ने नबनाइनु र नबनाइनुपर्ने मान्छे बनाइने कुराले समस्या हुन्छ भनेर हामीले त्यसमा फोकस गरेका छौँ ।’

महान्यायाधिवक्ता पोखरेलले अनुसन्धान र अभियोजनलाई कसरी प्रभावकारी बनाउने ? भन्नेकुरा महान्यायाधिवक्ताको कार्यालयको प्रमुख काम भएको उल्लेख गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button