मुख्य समाचारसमाचार

समाचार विश्वसनीय र निष्पक्ष हुनुपर्छ: प्राध्यापक पी. खरेल

Gobal IME Bank

काठमाडौँ । आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक परशुराम (पी) खरेलले समाचार विश्वसनीय र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । उहाँको ७०औँ जन्मजयन्तीका अवसरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागअन्तर्गतको रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ‘पी खरेल पत्रकारितामा पाँच दशक’ कार्यक्रममा प्रा खरेलले समाचार लेखनका क्रममा विश्वसनीयता र निष्पक्षतालाई ख्याल गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले आफ्नो पाँच दशक लामो पत्रकारिताको अनुभवमा नेपालको पत्रकारिताले ठूलो परिवर्तन गरेको छ भन्नुभयोे । विसं २०४६ सालपछि पत्रकारितामा व्याख्यात्मक शैलीका समाचार सम्प्रेषण हुन थाले पनि समाचारमा पृष्ठभूिम बढी र समाचार उठान भने कमजोर रहेको प्रा खरेलको भनाइ थियो ।

विश्वका सम्पन्न मुलुक अमेरिका र युरोपमा ४५ प्रतिशत जनताले मात्र पत्रकारिताप्रति विश्वास गर्ने गरेको बताउँदै उहाँले योे दरलाई अझ वृद्धि गर्नेगरी पत्रकारितालाई विश्वसनीय ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

चौबिस वर्षसम्म क्रियाशील पत्रकारिता गर्नुभएका प्रा खरेलले पछिल्लो समय विभिन्न समसामयिक विषयमा लेख लेख्दै आउनुभएको छ । पहिलोपटक विसं २०३० साल राइजिङ नेपाल पत्रिकामा लेख छाप्नुभएका उहाँले हाल वार्षिक ७५ देखि एक सयसम्म लेख लेख्ने गर्नुभएको र यसबाट रु सवा करोडभन्दा बढी आम्दानी गरेको बताउनुभयो ।

पत्रकारितामा लगानी कम रहेको सञ्चारमाध्यमका मालिकहरु आफू पजेरो चढ्ने तर श्रमजीवी पत्रकारलाई समयमा तलब नदिने प्रवृत्ति देखिएकामा प्रा खरेलले चिन्ता व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार किशोर नेपालले नेपाल र दक्षिण एसियाको पत्रकारिताको विकासमा प्रा खरेलको महत्वपूर्ण योगदान रहनाका साथै लेखन र अनुसन्धान गर्ने तरिका सन्तुलित भएको बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवम् वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले प्रा खरेल आफ्नो पत्रकारिताको सल्लाहकार भएको बताउनुभयो ।

उक्त क्याम्पसका विभागीय प्रमुख श्रीराम पौडेलले प्रा खरेलको पत्रकारिताको अनुभवबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।

क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले प्रा खरेललाई सम्मानसहित जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button