शिक्षा स्वास्थसमाचार

SEE स्थगित : २५ जनाभन्दा बढी भेला हुन नपाइने – GoodNews24

Gobal IME Bank

काठमाडौँ — सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको जानकारी गराउनु भएको छ । यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।सरकारले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन यही चैत मसान्तसम्मका लागि बन्द गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले कोरोना भाइरस रोकथामका लागि चलचित्रघर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, सङ्ग्रहालय, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई भने आगामी वैशाख १७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको बैठकले अत्यावश्यक कामबाहेक आवतजावत तथा हिँडडुल नगर्न आग्रह गरिनाका साथै पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, गिर्जाघरजस्ता सांस्कृतिक, सामाजिक र धार्मिकस्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले युरोपका सबै मुलुक, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई यही चैत ७ गते रातिदेखि लागू हुने गरी आगामी वैशाख ३ सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

बैठकले सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायी र सर्वसाधारण नागरिकलाई अनुरोध गर्ने निर्णय गरेको अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो । मानिसको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलमा स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) ले दैनिकरुपमा निश्चित समयको अन्तरालमा सरसफाइ गर्नुपर्ने र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले आवश्यक समन्वय गरी उक्त कार्यको अनुगमन गर्ने उहाँको भनाइ छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी र मिसावट गर्ने÷गराउनेलाई तत्काल प्रचलित कानूनबमोजिम कारवाही गरिनेछ, दैनिक उपभोग्य अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात भएकाले आम उपभोक्तालाई आवश्यकभन्दा बढी सामग्री खरीद र अनावश्यक सञ्चय नगर्न अनुरोध गर्दछौँ ।” यसको अनुगमन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछ ।

त्यसैगरी सरकारले आवागमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशीको प्रवेशाज्ञा अवधि नियमित गर्न निर्धारित प्रवेशाज्ञा अवधिभित्र आवेदन गरेमा प्रचलित कानूनबमोजिम प्रवेशाज्ञा नियमित गर्ने भएको छ । मन्त्री डा खतिवडाले भन्नुभयो, “कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजरी जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफैँ उडान रद्द गरेका अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाइ टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिइनेछ ।”

त्यसैगरी सार्वजनिक यातायातका सवारीधनीलाई यातायात साधन चलाउनुअघि प्रत्येक दिन समयसमयमा सवारी साधनलाई सफा गर्न लगाउनाका साथै होटल, रेष्टुराँ तथा सपिङ मलमा हात सफा गर्नेलगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबुल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमितरुपमा सफा गर्न लगाइनेछ । साथै तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी उक्त स्थानमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गरिनेछ । सरकारले अवैधरुपमा लुकाइ राखिएको अवस्थामा फेला परेका र गृह मन्त्रालयबाट जफत गरिएका मास्कमध्ये पाँच लाख थान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई र बाँकी साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत बिक्री वितरण गर्ने प्रबन्ध मिलाउने भएको छ ।

यो पनि पढ्नुहोस् …

[irp posts=”3194″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”5477″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button