सेतो पुतलीबारे भ्रम र सत्य !

एजेन्सी । सेतो पुतली ३ सय प्रजाति हुन्छन् । त्यसमध्ये एक प्रजाति अरु भन्दा खतरनाक हुन्छ । प्राय रातको समयमा बत्तीमा घुम्ने यस प्रजातीको पुतलीले आँखामा आक्रमण गर्ने गर्छ । भर्खर जन्मिएका देखि हिँडडुल गर्न नसक्ने बालबालिकाहरुलाई यसले बढी आक्रमण गर्ने गर्छ ।
शिरमा तेर्सो र शरीरमा ठाडो कालो धर्सो भएको यो सधै देखिन्न । यो पुतली प्राय भदौ र असोजमा देखिने गर्दछ । यसको झुसका कणहरु आँखामा पर्नासाथ आँखा रातो हुने, चिलाउने, दुख्ने, सुनिने गर्छ र अन्ततः आँखा टालिने सम्भावना हुन्छ । २४ घण्टाभित्र उपचार नगरेमा व्यक्तिले आँखाको ज्योति समेत गुमाउने खतरा हुन्छ । आँखामा यो पुतलीले आक्रमण गर्नासाथ समयमै अस्पताल जानु लाभदायक हुन्छ । यसलाई औषधी उपचारद्वारा निको पार्न सकिन्छ ।
यो प्राय सेतो बत्तीमा घुम्ने भएकाले घर वा कार्यालयमा सेतो बत्तीको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
नेपालमा पहिलोपटक यो रोग पोखरामा देखिएको डाक्टरहरुले जानकारी दिएको छन्। वि सं २०३२ सालमा २६ वर्षभन्दा मुनिका मानिसहरुमा यो रोग देखिएको थियो । शुरुमा आँखा पाक्ने रोगको नाम दिए पनि पछि विज्ञहरुले यसलाई ‘सापु’ नाम दिएका थिए । सेतो पुतलीका कारण आँखामा समस्या देखिएपनि के कारणले ‘इन्फेक्सन’ हुन्छ भन्ने कुरा अहिले सम्म पत्ता लाग्न सकेको छैन ।