गुड न्यूज 24मुख्य समाचारसमाचार

सार्वजनिक स्थलमा हुने दुव्र्यवहारको सामना महिलाहरुले कसरी गर्ने ?

Gobal IME Bank

काठमाडौं । महिलाहरु माथि हुने अपराध र हिंसा डर लाग्दो रुपमा बढी रहेको छ । यौन उत्पीडन, जबरजस्ती करणी, अपहरण र मोलेस्टेसनको समाचारहरु हामी प्राय सुनिरहेका हुन्छौँ । युनाइटेड नेसन पब्लिक पपुलेसन फन्डको अनुसार ४८ प्रतिशत नेपाली महिलाहरुले आफुले कुनै न कुनै किसिमको हिंसाको सामना गर्नु परेको बताएका छन् । यो समस्या विवाहित महिलामा मात्र नभएर टिनेज युवतीहरुले पनि सामना गर्नु परेको समस्या हो ।

जबरजस्ती करणी, मोलेस्टेसन, इभ टिजिङ र स्टकिङ जस्ता जघन्य अपराधको शिकार आज धेरै महिलाहरु बनिरहेका हुन्छन् र यो घृणित र डर लाग्दो कुरा हो । यी कुराहरुलाई सामान्य रुपमा लिनुको कारणले गर्दा नै नेपालमा यस्ता घट्नाहरु विकराल रुपमा बढी रहेको छ । अझै इभ टिजिङ र स्टकिङ जस्ता घटनाहरुलाई त हाँसोमा उडाइने गरिन्छ । यस्ता कार्य गर्ने र हेरेर हाँस्ने व्यक्तिहरुको लागि यो ठुलो विषय वा घट्ना होइन तर यो परिस्थितिको सामना गर्ने महिलाहरुलाई यस्ता घट्नाले मानसिक रुपमा प्रभावत पारिरहेको हुन्छ ।

सडक दुव्र्यवहार तथा सार्वजनिक यातायातहरुमा हुने दुव्र्यवहारलाई मानिसहरुले सामान्य रुपमा लिईदिन्छन्। एक महिलाले आफुलाई सार्वजनिक स्थलमा हुने दुव्र्यवहारलाई गन्न नै छोडिदिने गर्छन किनकी यो कैयौ पटक हुने गर्छ । हामी एक किसिमको विरोधाभासपुर्ण समाजमा बसेको छौँ जहाँ एक पट्टि हामी महिला सशक्तिकरण र लैङ्गिक समानताको बारेमा कुरा गर्छौ भने अर्को पट्टि यसप्रकारको दुव्र्यवहारलाई सामान्य रुपमा लिन्छौ । यो समस्या नेपाल मात्र नभएर विश्वभरिको महिलाले भोग्नु पर्ने समस्या हो । ७८ प्रतिशत नेपाली महिलाहरुले १७ वर्ष भन्दा अगाडी देखि नै इभ टिजिङ अनुभव गरेका हुन्छन् र ५२ प्रशित महिलाहरुले १५ वर्ष भन्दा अगाडी देखि इभ टिजिङको अनुभव गरिरहेका हुन्छन् । अझै जाडो महिनाको समयमा यी घट्नाहरु बढ्दो क्रममा हुन्छन् ।

मेरो आफ्नो अनुभवको नै कुरा गरौँ त्यतिबेला बिहान सबेरै उठेर कलेज जानु पर्ने थियो । हरेक दिन जस्तै म त्यो दिन पनि तयार भएर कलेज जानको लागि घरबाट निस्किए । कलेज जाँदा जाडो महिना भएको कारणले गर्दा बाटो अध्याँरो थियो र सुनसान पनि । पर पर सम्म मान्छे देखिएका थिएनन् । बिस्तारै एक जना व्यक्ति अगाडीबाट आइ रहेको मैले देखेँ तर केही वास्ता नगरी र नकारात्मक कुरा नसोची म हिडिराखे र जब त्यो मान्छे मेरो नजिकबाट जाँदै थियो एक्कासी त्यो मान्छे बोल्न थाल्यो आफू र आफ्नो गर्लफ्रेन्ड बिच हुने शारीरीक सम्बन्धको बेला गर्ने गतिविधिको बारेमा ठुलो स्वरमा भन्न थाल्यो । अचानक यस्तो अश्लील कुरा सुने पछि म डरले छिटो छिटो हिँडे । वरीपरी कोही व्यक्ति नभए पछि त्यो मान्छे मलाई पछ्याउदै पो आइरहेको छ कि भन्ने डरले म रफ्तारले हिडिरहे र अलि अगाडी पुगे पछि आफ्नै एक जना साथिलाई भेटे त्यसपछि मात्र मैले ढुक्क महसुस गरेको थिए । त्यसदिनको घटनाले मलाई यति प्रभावित गर्यो कि म त्यस दिन देखि एक्लै हुदाँ कलेज जादाँ बसमा जान थालेको थिए र अहिले पनि म आफ्नो बहिनीहरुलाई कलेज जाँदा त्यो बाटो एक्लै हिँड्दै नजान सल्लाह दिने गर्छु ।

यस्ता थुप्रै अनुभव मेरो छ र गिन्ती गर्न मैले पनि छोडी सके । बिहान कलेज जाने युवतीहरुले जाडो महिनाको समय यस्तो घटना धेरै नै भोगी रहेका हुन्छन् । यो सिर्फ सुनसान सडक मात्र होइन सार्वजनिक यातायात र सार्वजनिक स्थलहरुमा पनि हुने गर्छ र हामी मध्ये निकै कम महिलाहरुले मात्र यस्तो बेला आफ्नो आवाज उठाउने गर्छन र प्रतिकार गर्ने गर्छन् ।

कुनै पनि किसिमको दुव्र्यहारको सामना कसरी गर्ने ?
सार्वजनिक गाडी जस्तै बस, माइक्रोबस र टेम्पोमा हुदाँ भिडभाडमा यदि कसैले आफुलाई जथाभावी रुपमा छुने, टाँसिन आउने वा जिस्क्याउने गर्छ भने यी सबै क्रियाकलाप यौन हिंसामा पर्छ । आफु उभिरहेको बेलमा यदि कोही पुरुष टाँसिन आउदा यसो गर्न सक्नु हुन्छः

आफ्नो हत्केला कम्मरमा राखेर कुहिनाको माध्यमले दुरी बनाउने यदि अझै पनि त्यो व्यक्ति जबरजस्ती ढेस्सिदै छ भने निर्धक्क भएर गाडीमा भएको अरुले पनि सुन्ने गरि बोल्ने र अझै पनि जथाभावी छुने कार्य भइ रहेको छ भने कराएर अरुको ध्यान तान्ने र मद्दत माग्ने ।गाडीमा उभिउको बेलामा यदि मुखामुख स्थितिमा परे आफ्नो कुहिनाको मद्दतले जथाभावी नजिक आउन खोजेको व्यक्ति र आफु बिच दुरी बनाउने । उभिएको समयमा दुबै तिरबाट कसैले च्याप्न खोज्दा सन्तुलनको लागि एउटा हातले सिट समाउने र सोही हातको कुहिनाले त्यो व्यक्ति र आफुबिच दुरी बनाउने अर्को कुहिनालाई चियाको केट्ली आकारको बनाएर राख्ने र दुरी कायम राख्ने ।
यदि कसैले आफुलाई पछ्याई रहेको महसुस भइ रहेको छ भने र परिस्थिति असुरक्षित लागि रहेको छ भने उपेक्षा नगर्नु होस् । सहयोग खोज्नुहोस् र नडराई त्यो व्यक्तिलाई कराउनु होस् । यदि सम्भव छ भने आफ्नो परिवार, सुरक्षा निकाय वा महिला संस्था वा हेल्पलाइनमा तुरुन्त कल गरेर मद्दत लिनु होस् । यदि परिस्थिति खतरनाक भए नडराई त्यस व्यक्ति माथि हमला गर्नुहोस् र प्रतिकार गर्नुहोस् । यस्तो परिस्थिति कुनै पनि बेला आउन सक्छ त्यसैले आत्मरक्षा कौशल, आक्रमक कला, प्रतिरोधात्मक कला र उम्किने कला सिक्ने र यस्तो परिस्थितिमा आफुसंग भएको कुनैपनि चिजलाई हतियारको रुपमा प्रयोग गर्ने ।
अहिले टुटल र पठाओ जस्तो राइडहरु निकै नै प्रयोगमा आइरहेका छन् तर को मान्छे कस्तो छ भन्ने कुरा हामीलाई थाहा हुँदैन त्यसैले आफ्नो लोकेसन भन्दा पर नै राइड चढ्ने र झर्ने गर्ने । आफ्नो राइडको डिटेल बाइक वा क्याब चढ्नु भन्दा अगाडी राम्रो सित बुजेर मात्र चढ्ने बानी बसाल्ने ।

विश्वभरिको महिलाहरु यो समस्याबाट ग्रसित छन् । नेपालको सडकमा हिडिरहेको होस् वा अमेरीकाको कुनै सहरको सडकमा हिडिरहेको होस् परिस्थिती बेग्लै भए पनि गहिरिएर सोच्दा समस्या एउटै हो । यसको प्रमुख कारण लैङ्गिक असमानतासंगसंगै विशेषतः व्यक्तिपरकको नैतिकता नै हो । २०१३ को यु एन कमिसनले ‘ स्टेटस अफ विमेन ’ मा बताएको थियो ‘ कुनै पनि देशहरुले लैङ्गिक समानता प्राप्त गर्न सकेको छैन र सडक उत्पीडन नसकिए सम्म लैङ्गिक समानता प्राप्त गर्न सक्दैन ।’

हामी कहिलेकाँही सडक उत्पीडन भईरहेको समयमा अन्धो भईदिन्छौ हामी त्यो घट्नालाई नोटिस गर्दैनौ वा बेवास्ता गर्छौ । महिलाहरु चाहान्छन् कि उनीहरुको आवाज वा गुहारलाई कसैले सुनिदियोस् । यदि सडकमा कसैले महिलालाई उत्पीडन गरिरहेको छ भने त्यो महिलाको मद्दत गर्नुहोस् । तपाईको प्रतिक्रिया त्यस समय एकदम धेरै महत्वपुर्ण हुन्छ । महिलाहरुले हरेक दिन सडक उत्पीडनको सामना गरिरहेको हुन्छन् र यसले महिलाहरुलाई कति असर गरिरहेको हुन्छन् भन्ने कुरा धेरै पुरुषहरुलाई ज्ञात छैन । महिला र पुरुष दुबैले यो विषयको वार्तालापमा संलग्न हुन जरुरी देखिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button