![](https://goodnews24.com/wp-content/uploads/2023/07/cd7cf551-a4b3-41b6-a444-cf9fbff97eec.jpg)
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन गथांमुगः पर्व मनाउने गरिन्छ । कतिपयले यसलाई गठेमंगल पर्व पनि भन्ने गर्छन् । यस दिन चोकचोकमा राक्षसहरु या प्रेत आत्माहरुका लागि भनेर पात, बोहोता, दुनाटपरीमा पाकेका खानेकुराहरु राखिन्छ, मुख्यतयाः दोबाटाहरुमा यस्ता खानेकुराहरु राखिन्छ । यस्ता खानेकुराहरु राखि पूजाअर्चना गर्नाले भुतप्रेत पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्रमन्त्रको साध्यबाट समेत जोगिन सकिने विश्वास गरिन्छ ।
प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव थियो त्यसलाई सत्य, निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो। उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैं कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टाकर्ण भनिन थाल्यो।
उसले विशेषगरी दोबाटो चौबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मनलागेको खानेकुरा खाने गर्थ्यो। उसको यस्तो गतिविधिबाट सर्वसाधारण मानिसहरु निकै आतङ्कित भएका थिए। एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाउने क्रममा स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औँठी लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राखि उसको भयबाट मुक्त भएको खुसीयालीमा यो पर्व मानाउन थालिएको मानिन्छ ।
यस दिन घन्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरुका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ र यसो गर्दा एकजना सम्पूर्ण रुपमा नीलो वस्त्र लगाएको पुरुषले घरघरमा दानदक्षिणा माग्ने चलन छ । साँझ घाम अस्ताएपछि यस्ता प्रतिमाहरुलाई जम्मा गरि खोलामा लगेर बगाइन्छ या आगो बालेर जलाइन्छ, सेलाइन्छ ।
यसलाई जलाइसकेपछि बालबालिकालाई ति राक्षसका प्रतिमाहरुको खरानीको टीका लगाइदिने तथा त्यसलाई नाघ्न लगाइन्छ। यसो गर्दा बालबालिकामा रहेको डर हराउने तथा रुन्चे लागेको हट्ने जनविश्वास रहेको छ। परालबाट बनेको गाथामोग सेलाउन जाँदा गुठी तथा दाफाभजनका सदस्यहरूले बाजागाजा बजाउने तथा अन्यले छ्याली बालेर सँगसँगै गई विभिन्न अश्लील गालीहरू गर्ने चलन छ।
पराल र नर्कटबाट बनेको गाथामोगलाई अश्लील र भद्दा देखाउन दुइटा ठूल्ठूला हरिया भोगटे र परालको डोरी बेरेर बनाएको डल्लो झुन्ड्याइन्छ। जसलाई पुरुषको जनेन्द्रीय अंगको प्रतीक मानिन्छ।
यस अर्थमा गठेमगंल नराम्रो शक्तिमाथि मानवताको जीतका रुपमा लिन सकिन्छ । यो पर्व मनाएमा मानिस विभिन्न रोग, व्याधिबाट मुक्त भई दुःख निवारण हुने जनविश्वास छ। साथै, यसदिन धातुको औंठी लगाउने चलन छ, गठेमगंलको औंठी लगाउनाले नराम्रा शक्तिहरु र दुर्भाग्यबाट समेत सुरक्षा मिल्ने जनविश्वास छ ।
गथांमुगः चःह्रे मनाएपछि उपत्यकामा जात्रा तथा उत्सवहरू मनाउन सुरू भएको मानिन्छ । सिथि नखःदेखि गठेमंगलसम्म भने खेतीको समय भएकाले कुनै पनि जात्रा हुँदैनन् । कृषिमा आधारित समाजमा खेतीपातीका लागि जेठदेखि साउनसम्म भने कुनै पनि जात्रा मनाइदैन ।