मुख्य समाचारसमाचार

निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय

Gobal IME Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ को संक्रमण दर बढ्नसक्ने बताउनु भयो ।

उहाँले देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गर्नुभयो । उहाँले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको बताउनु भयो । डा। अधिकारीले कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘ठूलो मात्रामा मानिसहरु एक ठाउँ भीडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसावले जोखिमपूर्ण नै मान्छौँ । त्यसमा एउटा मानिसमा भएको कुनैपनि किसिमको संक्रमण अरु मानिसमा थप जानसक्छ ।

त्यसले गुणात्मक रुपमा वृद्धि भएर धेरै मानिसलाई प्रभाव पार्नसक्छ भन्ने हिसावले हामीले धेरै मानिसको भीडभाड हुने कुराहरुलाई जनस्वास्थ्यको हिसावले निकै ठूलो चासोको रुपमा लिइन्छ र निगरानी गरिन्छ । अझ कोभिड १९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग संक्रमण अहिले पनि रहिराखेको अवस्था छ, विश्वका विभिन्न ठाउँहरुमा नयाँ भेरियन्टहरु देखिराख्ने अवस्था सबै अवस्थालाई हेर्दाखेरी हाम्रो भीडभाड हुने गतिविधिहरुलाई हामीले एकदमै सावधानीका साथ अगाडी लिएर जानुपर्छ । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नसक्ने, ख्याल गर्न सकिने ठाउँहरुमा विशेष रुपमा ख्याल गर्नुपर्ने हुन्छ । कोभिडको कुरा मात्रै भएन, अरु किसिमका संक्रमण पनि कसैलाई छन् भने, रुघाखोकी पनि कसैलाई छन् भने थप धेरै मानिसहरुलाई हुनसक्छ ।

धेरै मानिसहरु बिरामी हुनसक्ने अवस्थाहरु हुनसक्छ । ती सबै कुराहरुलाई मध्यनजर गरेर हामीले मास्कको प्रयोग गर्नुपर्छ, त्यस्ता भीडभाडहरुमा जानुपर्ने अवस्था आउँदा । सकेसम्म नजाने । कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरु सकेसम्म त्यसरी ननिस्किने । खोप अनिवार्य रुपमा लगाउने । पूर्ण मात्रा लगाइसकेको तीन महिना कटिसकेको छ भने त्यस्ता व्यक्तिहरुले समयमै एक अतिरिक्त मात्रा बुस्टर मात्राको रुपमा लगाउनुपर्ने हुन्छ । हातको सरसफाईमा विशेष ध्यान दिने । शरीर र लत्ता कपडाहरुको सरसफाईमा विशेष रुपमा ध्यान दिने ग¥यौँ भने सबै किसिमका संक्रामक रोगहरु छन् जुन भीडभाडबाट जोखिमपूर्ण हुनसक्छन् त्यसलाई नियन्त्रण गर्नसक्छौँ ।’

उहाँले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताउनु भयो । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उहाँको भनाई छ । तरपनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा। अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड १९ का संक्रमितहरु रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘कोभिड १९ संक्रमणको अहिलेको अवस्था हेर्दाखेरी विश्वव्यापी रुपमा केही देशहरुमा संक्रमण बढेको देखिन्छ । प्रायः धेरै ठाउँमा त संक्रमण ओरालो लागेको नै देखिन्छ । सहज अवस्था आएको पनि देखिन्छ । हामी कहाँ विगतको भन्दा सहज अवस्था हुँदै गएको देखिन्छ ।

तर नयाँ भेरियन्टहरुको सम्भावना, पुष्टि हुने कुरा, त्यसका बारेमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने कुराहरुदेखि राखिएको र कहिलेकाहीँ सन्जोगले अलि जोखिमपूर्ण भेरियन्ट आउँछ की भन्ने कुरामा शतर्क रहनुपर्ने अवस्थाहरु देखिन्छ । हामीकहाँ अहिले पछिल्लो समय नयाँ भेरियन्ट, ओमिक्रोनको नयाँ प्रजाति पनि पुष्टि भएको अवस्था छ । संक्रमण पुष्टि हुने दर अथवा मानिसहरु समुदायमा बिरामी हुने दरहरु, अस्पताल भर्ना हुने, समग्र कुराहरु हेर्ने हो भने अहिले त्यस्तो धेरै त देखिन्न । अहिले सिजनल फ्लूसँग पनि जोडिएर डेङ्गुको पनि प्रकोप एकातिर । कोभिडको संक्रमणपनि सँगसँगै रहेर पनि मानिसहरु एकातिर केन्द्रित भएको हुनसक्छ । संक्रमण पुष्टि हुने कुराहरु शुन्य भइसकेको अवस्था अहिले छैन ।

अहिलेपनि देशभरी ६ सयको हाराहारी सक्रिय संक्रमितहरु आधिकारिक रुपमा तथ्यांकहरु प्राप्त भएको हाम्रो विवरणमा देखिन्छ । यसलाई हेर्दाखेरी हामी संक्रमणको कुरालाई अहिलेपनि मध्येनजर गरेर सावधानिहरु लिनुपर्छ । जस्तो जनस्वास्थ्यका मापदण्डका कुराहरु, खोपका कुराहरुलाई हामीले विशेष रुपमा केन्द्रमा राखेर काम गर्नुपर्ने अवस्था अहिले पनि छ ।’

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उहाँले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताउनु भयो । उहाँले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताउनु भयो ।

उहाँले कोभिड १९ बिरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिनुभयो । सर्वसाधारणहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्कगरी कोभिड १९ बिरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रह गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button