समाचार

हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड

Kaligandaki!

Gobal IME Bank
पर्वत । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशीका दिन आज घर–घरमा तुलसीका बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । महत्त्वपूर्ण पर्व हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ।
जिल्लाका प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी र सेतीवेणी, पुर्तिघाट, गोपाङ, नयाँपुललगायतका नदी तटमा बिहानैदेखि स्नान गर्नेको ठूलो मेला लागेको हो । मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमस्थलका रूपमा रहेको मोदीवेणीघाटमा हरिशयनी एकादशीमा स्नान गर्न ठूलो सङ्ख्यामा श्रद्धालुको घुइँचो लागेको छ ।
त्यस्तै पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्ला तथा साविक धवलागिरि, गण्डकी र लुम्बिनी तीन अञ्चलको सिमानामा रहेको विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढा–टाढाबाट श्रद्धालु आइपुगेका छन् । मोदीवेणीमा स्नान गर्नका लागि पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजाराँैको सङ्ख्यामा श्रद्धालु आउने गर्दछन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा, गुल्मी, पाल्पालगायत जिल्लाबाट श्रद्धालु आएका छन् ।
मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारका रूपमा पुजिँदै आएको शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ । कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ ।
हरिशयनी एकादशीको अवसरमा मोदीवेणी र सेतीवेणीमा भजनकीर्तनसमेत आयोजना गरिएको छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घर–घरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने प्रचलन पनि रहेको छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button