मुख्य समाचारसमाचार

विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनौट, १ सय ३ वटा प्रतिक्षा सूचीमा

आउँदो वर्ष बालबालिका, रोजगार र प्रविधि विकासलाई प्राथमिकता दिइने- उपप्रमुख डंगोल

Gobal IME Bank

काठमाडौँ । विकास सहायता कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा प्राप्त भएका लागि २ सय ४ वटा प्रस्तावमध्ये ८९ वटा छनौट भएका छन् । आज उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सामाजिक समितिको बैठकले बजेटको सीमाभित्र परेका, अधिकतम अङ्क प्राप्त गर्ने र कागज तथा प्रमाण पूरा भएका प्रस्ताव छनौट गरेको हो ।

प्राप्तमध्ये आंशिक कागज पत्र र प्रमाण नपुगेका १०३ वटालाई प्रतिक्षा सूचीमा राखिएको छ भने संस्था दोहोरिएका बाँकीलाई हटाइएको छ । १०० अङ्कमा गरिएको मूल्याङ्कका सूचकमा कार्य अनुभव, जनशक्ति, कार्यक्रम अवधि, प्रस्तावित कार्यक्रममा सहभागी हुने लक्षित बर्ग र संख्या, भौतिक संरचना, रोजगारी, लागत सहभागिता लगायत शीर्षकमा अङ्क प्रदान गरिएको थियो ।

बैठकले सचेतनामूलक कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ र रोजगारमूलक कार्यक्रमका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउन शिफारिस गर्ने निर्णय गरेको छ । अनुदान प्राप्त गर्नेले सम्झौतापछि ६० प्रतिशत र कार्य सम्पन्न भएको प्रतिवेदन पेश गरेपछि बाँकी ४० प्रतिशत रकम पाउनेछन् । यसमा प्रस्तावकको लागत सहभागितासमेत जोडिनेछ ।

काम गर्ने क्षमता भएका तथा नगद सहमागिता गराउन नसक्नेलाई काममा प्रोत्साहन गर्न सीप तथा श्रम सहभागिता लिन सकिने विषयमाथि बैठकमा छलफल भएको थियो ।

गएको महिना (पुस) २१ गते बसेको समितिको बैठकले प्राप्त प्रस्ताव मूल्याङ्कन गर्न वडा २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सूचक निर्धारण तथा छनौट समिति गठन गरेको थियो । समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी हुनुहुन्थ्यो । वित्त विभागका प्रतिनिधिसहितको समितिमा सामाजिक विकास विभाग प्रमुख गोपालप्रसाद पोखरेल सदस्य सचिव हुनुहुन्थ्यो ।
समितिले संस्था दर्ता र नविकरण, लेखा परीक्षण प्रतिवेदन, करचुक्ता प्रमाण पत्र, सूची दर्तालगायतका प्रमाण तथा कागजातलाई न्युनतम शर्तका रुपमा राखेको थियो । वेरुजु भएका र पेश्की फस्र्यौट नभएका संघसंस्थालाई प्रारम्भिक छनौटबाट अगाडि नबढाउने गरी सूचक तयार पारिएको थियो ।

यति धेरै प्रस्ताव प्राप्त हुँदा पनि बालबालिका सम्बन्धी प्रस्ताव आएनन् । यसले महानगरको आवश्यकता समेट्न प्रस्ताव आएनन् भन्न सकिन्छ । छनौटपछि उपप्रमुख डंगोलले भन्नुभयो, ‘आउँदा बर्ष माग र आपूर्तिको चक्र जोडिने, बालबालिका सहभागी हुने, रोजगार सिर्जना हुने, प्रविधिको विकास र विस्तारमा सहयोग पुग्नेजस्ता महानगरको आवश्यकतासँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ ।’

सामाजिक क्षेत्रमा गरिएको लगानीबाट सामाजिक व्यवस्थापनमा परिवर्तन देखिनु पर्छ । सामाजिक समितिका संयोजक एवं वडा १० का अध्यक्ष रामकुमार के। सी। ले, उद्यमशीलता र रोजगारीका कार्यक्रम महानगरलाई चाहिएको बताउनुभयो । वडा २ का अध्यक्ष श्रेष्ठले, महानगरले उपलब्ध गराएका सीपमूलक तालिमबाट के नतिजा प्राप्त भयो ? मूल्याङ्कन गरिनुपर्ने बताउनुभयो । कार्यपालिका सदस्य नेपालीले, गुणात्मक नतिजा मापन गर्न सकिने कार्यक्रम प्रवर्धनमा जोड दिनुभयो ।

महानगरपालिका कार्य क्षेत्र भएका गैर सरकारी संघ संस्थाले गर्ने क्षेत्रगत कामलाई संस्थागत र व्यवस्थित बनाउन महानगरपालिकाले गएको मंसिर १ गते सार्वजनिक सूचनामार्फत प्रस्ताव आव्हान गरेको थियो । अर्थ मन्त्रालयको खर्च मापदण्ड र महानगरपालिकाको स्वीकृत खर्च शीर्षकबाट काम गर्नका लागि प्रस्तावक गैर सरकारी संघ संस्थाहरुको समेत लागत सहभागिता रहने गरी कार्यक्रम सञ्चालन गर्न ४ करोड ४५ लाख रुपैयाँका विकास सहायता कार्यक्रम प्रस्ताव माग गरिएको थियो ।

समितिका सदस्य सचिव एवं सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलका अनुसार १० वटा क्षेत्रगत कार्यक्रममध्ये सबैभन्दा धेरै विभिन्न संघ संस्था, फाउन्डेसन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग क्षेत्रमा ६४ वटा प्रस्ताव परेका थिए । १ करोड रुपैयाँ विनियोजित कार्यक्रमका लागि ३७ वटा प्रस्ताव छनौट गरिएको छ भने २७ वटा प्रस्तावलाई प्रतिक्षा सूचीमा राखिएको छ ।

‘नमूना छात्रा सांसद कार्यक्रम’ का लागि एउटै मात्र संस्थाको प्रस्ताव परेको थियो । यो छनौट भएको छ । यो कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजित छ । १ करोड रुपैयाँ विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुलाई कार्यक्रम सहयोग’ मा २७ वटा प्रस्ताव आएका छन् । जसमध्ये १२ वटा छनौट भएका छन् । १५ वटा प्रतिक्षा सूचीमा छन् । ‘लागू औषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिँसा विरुद्धको अभियान लगायत सचेतनामूलक कार्यक्रम’ का लागि २५ लाख रुपैयाँ विनियोजित छ । यस क्षेत्रका लागि ६१ वटा प्रस्ताव पेश भएका थिए ।

जसमध्ये १४ वटा छनौट भएका छन् । ४७ वटा प्रतिक्षा सूचीमा छन् । २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्गताको क्षेत्रमा कार्य गर्ने संस्थाहरुसँग सहकार्य’ कार्यक्रममा १३ वटा प्रस्ताव परेका थिए । यीमध्ये ९ वटा छनौट भएका छन् । ४ वटा प्रतिक्षा सूचीमा छन् ।
‘विभिन्न स्रष्टाहरुको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षय कोष अनुदान’ शीर्षकमा २० लाख रुपैयाँ विनियोजित छ । यस क्षेत्रका लागि ३ वटा प्रस्ताव पेश भएका छन् । यस्तै ‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न संघ संस्थाहरुलाई सहयोग’ कार्यक्रमका लागि ७ वटा संघ संस्थाको प्रस्ताव परेको थियो । यस शीर्षकमा ६० लाख रुपैयाँ विनियोजित छ ।

यी २ वटा कार्यक्रमका लागि स्थलगत अवलोकन भ्रमण पछि निर्णय लिने समितिको बैठकले निर्णय गरेको छ । २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्ग लक्षित खेलकुद कार्यक्रम’ का लागि ४ वटा प्रस्ताव पेश भएका थिए । यीमध्ये २ वटा छनौट भएका छन् । २ वटा प्रतिक्षा सूचीमा छन् । ‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’ मा ८ वटा प्रस्ताव पेश भएका थिए । ५० लाख रुपैयाँ बजेट विनियोजन भएको यस शीर्षकमा ६ वटा छनौट भएका छन् । २ वटा प्रतिक्षा सूचीमा छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button