मुख्य समाचारसमाचार

सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण, कतिको वातावरणमैत्री ?

Gobal IME Bank

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।
शुक्रवार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो ।

आज विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा वारीसाधन फेल भएको पाइएको छ भने १६ वटा सवारीसाधन मात्रै पास भएको पाएको विभागले जनाएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताउनु भयो । उहाँले प्रदूषण फेल हुनेहरुले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्रहरु फिर्ता लैजान पाउने बताउनु भयो । उहाँले परीक्षण पास गर्न पठाएका सवारीहरु अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्मको कारबाही गर्ने चेतावनी दिनुभयो ।

महानिर्देशक घिमिरेले आगामी दिनमा सवारीसाधनहरु प्रदूषण फेल भएर चलाएको पाएमा विभाग कारबाही गर्ने कुरामा पछि नहट्ने बताउनु भयो । उहाँले विगतमा हालै मात्र प्रदूषण परीक्षण गराएको हो भनेर चालकहरु पन्छिने गरेको भन्दै यसपटक लापरवाही नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वातावरण संरक्षण ऐन अनुसार सवारी साधनहरुले तोकिएको मापदण्डमा वायु प्रदूषण गरिरहेको छ की छैन भनेर हामीले हेरेको हो । काठमाडौं उपत्यका लगायत धेरै ठाउँमा हिउँदको समयमा वायु प्रदूषण अलि बढ्ने र त्यसमा सवारीसाधनको प्रदूषण पनि अलि बढ्ने भएकाले हामीले यो अभियान शुरु गरेका छौँ । आज हामीले प्रदूषण परीक्षण मात्रै गरेका छौँ । फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएका छौँ । उहाँहरुले बनाएर पुनः वातावरण विभागमा आएर पुनः परीक्षण गराएर पास भएपछि उहाँहरुका कागजपत्रहरु फिर्ता गरिन्छ ।

पहिलो पटकलाई हामीले अहिले जरिबाना गरेका छैनौँ । अहिले पठाएका गाडीहरु पुनः अर्को पटक परीक्षण गर्दा फेल भयो भने वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम वातावरण विभागको महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिबाना हुनसक्ने भन्ने छ । हामी कडाईका साथ कारबाही गर्छौं । चालकहरुले भर्खरै जँचाएको हो भनेका छन्, अब त्यो प्रवृत्ति नहोस् भनेर परीक्षण गरेका हौँ । विगतमा परीक्षण गरिसकेपछि दुरुस्त अवस्थामा नराख्ने प्रवृत्ति देखिएकाले एक पटक दुरुस्त राख्न अवसर दिन्छौँ । त्यसपछि पनि लापरवाही गर्नुभयो भने कारबाही हुन्छ । प्रदूषणसँगै यान्त्रिक अवस्थाका बारेमा र कागजातपत्रको बारेमा पनि ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेको छ ।’

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६/६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ । यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । जसको अर्थ अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६÷६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ । त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ । जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्वन हुने, सवारीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पुर्याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button