समाचार

कामपाले सडकबाट ३८९ जनाको उद्धार गर्यो -GoodNews24

Gobal IME Bank

काठमाण्डौँ । सडक मानवमुक्त अभियान अन्तर्गत ३८९ जनालाई परिवासँग पुनःमिलन गराइएको छ । काठमाण्डौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेदेखि शुरु गरेको उक्त अभियान अन्तर्गत अहिलेसम्ममा ५५० जनालाई उद्धार गरेको छ । तीमध्ये ३८९ जनालाई परिवारसँग पुनःमिलन गराइएको हो जसमा ३३७ पुरुष, ४५ महिला र सात बालक छन् । त्यसैगरी १३० जनालाई मनोपरामर्श दिइने क्रममा छ भने २९ जनालाई मानवसेवा आश्रममा राखिएको छ । आश्रममा राखिएकामध्ये अधिकांश ज्येष्ठ नागरिक र अनाथ बालबालिका छन् । कामपाले मङ्सिर २९ गतेदेखि तीन महिनाभित्र सक्नेगरी यस अभियान शुरु गरेको हो । यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चावहिलचोकगायतका स्थानमा छन् । सडकमा बस्नेहरू ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको बढि रहेको आश्रमले जनाएको छ ।

उद्धार गरिएकामा बढी पुरुष छन् । ती १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । हरेक राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि कामपा, प्रहरी, मानवसेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ । सडकका भरमा कोही पनि बस्नु नपरोस् भन्दै बिरामीलाई उपचार गर्ने, परिवार भएकालाई जिम्मा लगाइदिने र बेसहारालाई सहयोग गरी संरक्षण गर्ने जनाई कामपाले यस किसिमको अभियान सञ्चालन गरेको हो ।

कार्यक्रम सञ्चालन गरिएको तीन महिनामा ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने लक्ष्य कामपाको छ । शुरुआतीको पहिलो चार रातमा सडक किनारामै सुत्ने २१५ व्यक्तिलाई उद्धार गरिएको थियो । अभियान शुरु भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ को उद्धार भएको थियो । दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ लाई उद्धार गरिएको थियो । यही पुस १ गते ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र पुस २ गते तीन महिला, ६४ पुरुष गरी ६७ लाई राति काठमाडौँका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो ।

‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूलव्यवस्थापन समिति’ को प्रदेश नं ३ का इञ्चार्ज सुमन बर्तौलाले उद्धार गरिएकामध्ये दुई जनाको मृत्यु भएको जानकारी गराउनुभएको छ । मृत्यु हुने को हो भनेर अहिलेसम्म खुलेको छैन । पुसको पहिलो साता रानीपोखरी आसपासपाट उद्धार गरिएको उहाँहरुलाको उपचारको क्रममा वीर अस्पतामा मृत्यु भएको हो ।

सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या छ । उद्धार गरिएकाले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरूलाई जिम्मा लगाउन समस्या भएको हो । यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ । परिवार भएका र सक्रिय जीवन जीउन सक्ने पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन् ।

“परिवारबारे जानकारी लिनका लागि उनीहरूलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठिन छ”, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भन्नुभयो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार शुरु गरिएको बताउनुभयो । उहाँले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्बीर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन समितिलगायत निकायलाई निर्देशन दिनुभएको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button