समाचार

ज्यामीको गुनासो : ‘हामी समस्यामा प¥यौँ’ – GoodNews24

Gobal IME Bank

काठमाडौँ ।  “काठमाडौँमा दैनिक ज्यालादारी गर्थें । लामो समय भयो लकडाउन भएको पनि । दिनभर कमाउने र साँझ बिहान खाने गरेको थिएँ । खाद्य सामग्री सकियो ।” यो भनाइ चन्द्रागिरि नगरपालिका १५ सतुङ्गलमा बस्दै आएकी विनिता राईको हो । ओखढुङ्गाबाट काठमाडौँमा ज्यालादारी गर्न आउनुभएकी राईको खाने चामल सकिएपछि केही दिन छिमेकीले खुवाए ।

उहाँले भन्नभयो, “मर्न गाह्रो हुँदोरहेछ, घर जाउँ भने सवारी साधन चलेको छैन, यहाँ गरिखान नसकिने भयो ।” कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका कारण सबैजसो नागरिक घरभित्रै छन् । घरमा भएका र पैसा हुनेले बजारबाट खरिद गरेको भए पनि नहुनेका लागि को दाता भेटिएला भनेर खोज्नुको विकल्प छैन । लकडाउनका कारण सबैभन्दा बढी मारमा दैनिक ज्यालादारी श्रमिक परेका छन् । यस्तै अध्ययनका लागि आएका विद्यार्थीसमेत उस्तै पीडामा छन् ।

ओखलढुङ्गाका जीवन भुजेल पनि विनिताले जस्तै दैनिक ज्यालादारीमा काम गर्नुहुन्थ्यो । पछिल्लो डेढ महिनादेखि कामकाज ठप्प छ । निर्माण क्षेत्रमा काम रोकिएको छ । नियमित काम भएको समयमा दैनिक रु एक हजार ३०० कमाउने भुजेललाई पछिल्ला दिनमा प्राण धान्न नै समस्या परेको छ । रासससँगको कुराकानीका क्रममा भुजेलले भन्नुभयो, “केही दिन घरमै भएको खायौँ र लकडाउन बढ्दै जाँदा खाने सामल पनि सकियो । घर जानका लागि सवारी साधन पनि छैन । ठूलो समस्यामा प¥यौँ, हामी ।”

राई र भुजेलले आज चन्द्रागिरि नगरपालिका–१५ को संयोजनमा सिभिल होम्स रेसिडेन्ट वेलफेयर सोसाइटीले वितरण गरेको राहत पाएपछि प्रसन्न हुँदै भन्नुभयो, “अब १५ दिनका लागि हामीलाई खाने सामलको कुनै चिन्ता नहुने भयो ।” गुल्मीका गीता रायमाझी पनि सतुङ्गल क्षेत्रमा नै दैनिक ज्यालादारी काम गर्नुहुन्छ । लकडाउनका कारण रोजीरोटी खोसिएपछि उहाँलाई पनि खाद्यान्नको अभावले सताएको छ । गाउँका अन्य मानिस घर फर्के पनि आफूलाई जानकारी नहुँदा जान नपाएको बताउँदै उहाँले भन्नुभयो, “कोठमा चामल सकियो । सानो बच्चा छ । कसरी प्राण धान्ने भन्ने चिन्ताले सताएको थियो । आज थोरै भए पनि राहत पाइयो, अब केही दिनलाई पुग्छ ।”

केदार खत्री सिन्धुपाल्चोक ठोकर्पाबाट काठमाडौँमा ज्यालादारीका काम गर्न आउनुभएको हो । लकडाउनका कारण ठेकेदारले काम छैन भन्दै नबोलाएपछि दैनिक आउने ज्यालासमेत रोकिएको गुनासो गर्नुभयो । “काम भए पो पैसा पाउनु, कामै नभएपछि पैसा देऊ भन्न पनि गाह्रो, बिहान बेलुकाको छाक धान्नै गाह्रो भयो”, खत्रीले भन्नुभयो, “स्थानीय सहृदयी मनहरुले हामी जस्ता मजदुरलाई सानो सहयोग उपलब्ध गराउनुभयो । यो नै हाम्रा लागि ठूलो भएको छ ।”

स्थानीय समाजसेवी गणेश थापाले सिभिल होम्समा बस्दै आएका १२३ घर परिवारले जम्मा गरेको राहत स्थानीय ज्यालादारीमा काम गर्ने मजदुरलाई वितरण गरेको जानकारी दिनुभयो । सिभिल होम्स रेसिडेन्ट वेलफेयर सोसाइटीका सदस्यसमेत रहनुभएका थापाले मुट्ठी दानबाट जम्मा भएको राहत सामग्री वितरण गर्न पाउँदा आफूलाई समेत खुशी लागेको र विपद्को समयमा आफू मात्रै बाँचौँ भन्ने मानसिकता त्यागेर अरुलाई पनि बचाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

“सानो सानो सहयोगले पनि समस्यामा परेका नागरिकलाई सहयोग गर्न सकिन्छ भन्ने तथ्य स्थापित गरेका छौँ, अन्य स्थानमा समस्यामा परेका नागरिकलाई आफूले सकेको राहत उपलब्ध गराउँदा धर्म हुन्छ । यसतर्फ ध्यान दिन आग्रह गर्दछु”, थापाले भन्नुभयो । सिभिल होम्स रेसिडेन्ट वेलफेयर सोसाइटीले २३० दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई आज राहत उपलब्ध गराएको हो । परिवार सङ्ख्याका आधारमा सोसाइटीले १० देखि १५ किलो चामल, दुई किलो दाल, मस्यौरा, नुन र साबुन राहतमा उपलब्ध गराएको छ । चन्द्रागिरि–१५ का वडाध्यक्ष उत्तमबहादुर राउत आफ्नो वडामा मात्रै कूल १३ हजार ६०० जनसङ्ख्या रहेको र बाहिरबाट आएकाहरुको सङ्ख्या पनि उत्तिकै रहेको बताउनुहुन्छ ।

“हाम्रो वडामा रहेका कोही पनि भोको बस्न नपरोस् भनेर विशेष ध्यान दिइएको छ । नागरिकता नभएकालाई समेत हामीले राहत वितरण गरेका छाँै”, राउतले भन्नुभयो । वडा कार्यालयले वडा क्षेत्रभित्र सरसफाइ, जनचेतना जगाउने काममा उत्तिकै ध्यान दिएको छ । मास्क वितरण, हात धुन सिकाउनेदेखि राहत वितरणमा समेत उत्तिकै ध्यान दिइएको जानकारी दिँदै वडाध्यक्ष राउतले ठूला सडकका निःसङ्क्रमण गराउने औषधि छिट्ने कामसमेत निरन्तर भइरहेको बताउनुभयो ।

कूल १५ जनाको युनिट नै तयार पारेर स्वास्थ्य जागरण तथा जनचेतना जगाउने काममा २४सै घण्टा क्रियाशील रहेको उल्लेख गर्दै थापाले वडाभित्र बस्ने जोसुकै समस्यामा परे पनि आफूलाई तत्काल सम्पर्क गर्न आग्रह गर्नुभयो । नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी खाने विपन्न परिवारलाई खाद्यान्न सङ्कट नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारबाट प्राप्त निर्देशन र कार्यपालिकाको बैठकको निर्णयअनुसार पहिलो चरणमा गत चैतको अन्तिम साता नै १ देखि १५ वटै वडामा राहत वितरण गरेको थियो ।

नगरपालिकाभित्र बस्ने नागरिकमध्ये राहत उपलब्ध गराउनुपर्नेको व्यक्तिगत फाराम भरी राहत प्याकेज वितरण गरिएको थियो । वडा नं १५ तीनथानाका ९९३ जनालाई वडाध्यक्ष राउतलगायत अन्य जनप्रतिनिधि, वडाका सल्लाहकार, अन्य समाजसेवी तथा स्वयंसेवीले राहत उपलब्ध गराउनुभएको थियो । असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति विपन्न परिवारलाई राहत वितरणका लागि प्रमुख प्राथमिकतामा राखिएको छ ।

अन्य समयमा त्यति क्रियाशील नभएको भन्ने आरोप लागेका स्थानीय तह कोरोनाविरुद्धको सङ्घर्षमा एकाकार भएर लागेको र स्थानीय जनताको समेत राम्रो साथ पाएको वडाध्यक्ष राउतको भनाइ छ । सिभिल होम्स रेसिडेन्ट वेलफेयर सोसाइटीका महासचिव दीपक उप्रेती वडा कार्यालयको समन्वयमा उहाँहरुलाई जानकारी दिएर नै कोरोनाविरुद्धको सङ्घर्षमा आफूहरु लागिपरेको बताउनुहुन्छ । “पहिले आफू सुरक्षित हुने, त्यसपछि घर र समाजलाई समेत सुरक्षित बनाउने गरी लागिपरेका छौँ । सबैबाट सक्दो सहयोग प्राप्त भएको छ”, उपे्रतीले भन्नुभयो ।

 

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button