समाचार

एकै वडामा भत्काइए २८ छाउगोठ

Gobal IME Bank

डोटी । छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत बडीकेदार गाउँपालिकाको एकै वडामा २८ गोठ भत्काइएको छ । वडा नं ३ घागलको सिदुरेपानीका गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । सो वडाको २८ गोठ प्रहरी तथा स्थानीयवासीको सहयोगमा भत्काइको हो ।

एकहप्तामा जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने अभियान चलेको छ भने प्रहरीले गोठ भए नभएको अनुगमन गरिरहेको छ ।

मुलुकी अपराध संहितामा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशमा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै छ । गृहमन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन खटाइएको छ । प्रहरी उपरीक्षक देउवाले भन्नुभयो, “प्रहरीले गोठ खोजीरहेको छ र देख्ने बित्तिकै भत्काउन भनिएको छ, कतिपय ठाउँमा स्थानीयले भत्काउन थालेका छन् ।”

अभियनामा स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाको सहभागिता छ । जिल्लाका त्यस्ता गोठ भत्काउने अभियान सफल पार्न स्थानीय निकायसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “छाउगोठ कहाँ कति छन् सूचना लिएर भत्काउन प्रहरी खटाएका छौँ, अब छाउगोठ बनाउनेलाई कारवाही हुन्छ ।” डोटीलाई आगामी फागुनभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी गोठ भत्काउने अभियान तीव्र पारिएको प्रजिअ पौडेलले बताउनुभयो ।

जिल्ला प्रशासनले हालै गरेको छाउपडी प्रथा उन्मूलन संयन्त्र बैठकमा सहभागी जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । गोठ भत्काउने विषयलाई बेवास्ता गरे स्थानीय तहबाट दिइने सेवा सुविधाबाट वञ्चित गर्नेसहित कानूनअनुसार कारवाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । त्यस्तै आफ्नो गाउँपालिकामा छाउपडी अन्त गर्न तथा छाउगोठ भत्काउन प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वडाका सबै टोल, गाउँमा प्रहरीसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ, छाउगोठ भत्काउन सबैले सहमति जनाएका छन् ।” जिल्लामा छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउछ भन्ने अन्ध विश्वासका साथ महिनावारीअर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले छाउपडीका नाममा गरिँदै आएको विकृति तत्काल अन्त गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन यहाँका स्थानीयतहलाई पत्राचार गरेको छ । जिल्लामा कम्तीमा १०० को हाराहारीमा छाउगोठ हुनसक्ने सो क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको अनुमान छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button