मुख्य समाचारसमाचार

मदिरा र लागुपदार्थ विरुद्धको अभियान प्रभावकारी बन्दै

Gobal IME Bank

महोत्तरी । भारतसँग सीमा जोडिएको महोत्तरीको मनराशिसवा नगरपालिकाले थालेको मदिराजन्य र लागुऔषध नियन्त्रणको अभियान प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले थालेको अभियानबारे सबैतर्फबाट सकारात्मक चासो बढ्दै गएपछि यसको कार्यान्वयन प्रभावकारी बनेको हो ।

केही दिन पहिलेमात्र नगर कार्यपालिकाको कार्यालय मनराशिसवाले भारतसँग सीमा जोडिएका नगरका छ वडामा मदिरा बनाउने, भण्डारण गर्ने, बेचबिखन गर्ने र सार्वजनिकरुपमा खुला प्रयोग गर्न नपाइने गरी रोक लगाएको छ । यसरी मदिरा पूर्ण रोक लगाइएका वडामा भारतसँग सीमा जोडिएका वडा नं २, ३, ५, ८, ९ र १० छन् ।

गत पुसमै थालिएको लागुपदार्थ विरुद्धको अभियान र यही माघ १ गते सुरु गरिएको मदिराजन्य नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको नगर कार्यपालिकाको कार्यालयको ठम्याइ छ । मनराशिसवामा जम्मा १० वडा छन् । यीमध्ये छ वडामा मदिरा पूर्ण बन्देज गरिएको र बाँकी चार वडा (१, ४, ६ र ७) मा पनि मदिरा बिक्रीवितरण र प्रयोगमा सीमा तोकिएको नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले जानकारी दिनुभयो ।

“नगरक्षेत्रका भारतसँग सीमा जोडिएका छ वडाका सबै बस्तीमा मदिरा बनाउन, अन्यत्रबाट ल्याएर भण्डार गर्न, बेचबिखन गर्न र खुला प्रयोग ९सेवन० गर्न नपाइने गरी पूर्ण बन्देज गरिएको छ”, चौधरीले भन्नुभयो, “त्यसैगरी अन्य बाँकी चार वडाका बस्तीमा पनि मदिरा बिक्रीवितरण र प्रयोगका सीमा तोकिएका छन् ।” वडा नं १, ४, ६ र ७ का सार्वजनिक कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्था र मठमन्दिरका तीन सय मिटर दूरीभित्र मदिरा भण्डारण, बिक्रीवितरण र सेवन गर्न नपाइने गरी सीमा तोकिएको नगर कार्यपालिकाको कार्यालयले स्पष्ट पारेको छ ।

गत पुस ३० गते सम्पन्न भएको नगरपालिकाको १०औँ नगरसभाबाट पारित मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी ऐन, २०७९ अनुसार यो कदम चालिएका प्रमुख प्रशासकीय अधिकृत चौधरीको भनाइ छ ।

सीमापारिको भारतको विहार प्रदेशमा मदिरा उत्पादन, भण्डारण, बिक्रीवितरण र खुला सेवन पूर्ण बन्देज हुँदा उताका मानिस मदिरा सेवनकै लागि वारि (नेपालतर्फ) आउने, होहल्ला गर्ने र कैयौँ आपराधिक घटनासमेत बढ्दै गएपछि सीमा क्षेत्रमा मदिरा पूर्ण बन्देज गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

नगरसभा सम्पन्न भएसँगै माघ १ गतेदेखि नै लागू गरिएको यो व्यवस्थाले सीमा क्षेत्रमा दिनहुँ हुने होहल्ला निकै कम भएको सीमा क्षेत्रका नेपाली सर्वसाधारणले बताएका छन् । नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाबारे प्रभावकारी अनुगमन र कारबाहीको कुराले पछिल्ला दुई साताभित्र नै सकारात्मक प्रभाव देखिएको दशगजासँगै जोडिएको इटहर्वाकट्टी बस्तीका ललनकुमार सिंहले बताउनुभयो ।

दशगजावारि बग्रेल्ती खुलेका मदिरा पसलमा दिनहुँजसो होहल्ला र मारपिटका घटनासमेत बाक्लिँदै गएपछि नगर कार्यपालिकाको कार्यालयले यसको कडाइका साथ नियमन थालेको हो । नगर कार्यपालिकाको कार्यालयले यसअघि नै लागुपदार्थ दुव्र्यसनविरुद्ध चारवर्षे अभियान सुरु गरिसकेको छ ।

लागुपदार्थको ओसारपसार भारतीय बजारबाट सीमाक्षेत्र हुँदै भित्र पस्ने र नेपाली युवा यसको दुव्र्यसनमा फस्दै गएका अवस्था रोकथाम गर्न अभियान थालिएको नगरप्रमुख मोहन पाण्डेले बताउनुभयो । यी दुवै अभियान प्रभावकारी बन्दै गएका पाण्डेको भनाइ छ । नगर कार्यपालिकाको कार्यालयले थालेको लागूऔषध रोकथाम तथा नियन्त्रण अभियानमा हाल पाँच प्रकारका क्रियाकलाप समेटिएका नगरप्रमुख पाण्डेले स्पष्ट पार्नुभयो ।

गत पुसमै थालिएको यो अभियानअन्तर्गत नयाँ दुव्र्यसनी बन्न नदिने, यसअघिका दुव्र्यसनीको पहिचान गर्ने, पहिचान भएकाको समुचित उपचारको प्रबन्ध गर्ने, लागुपदार्थको ओसारपसारमा लागेकाको पहिचान गरी उनीहरुलाई कारबाहीको दायरामा ल्याउने र आर्जनका काममा लाग्न सीप सिकाउने तथा यस दिशामा उत्प्रेरित गर्नेजस्ता क्रियाकलाप समेटिएका पाण्डेको भनाइ छ । प्रथम चरणमा लागुपदार्थ ओसारपसार तथा दुव्र्यसनविरुद्ध सचेतना अभियान बस्तीबस्तीमा आयोजना हुँदैछन् ।

“हामीले लागुपदार्थको ओसारपसार तथा दुव्र्यसनविरुद्धको अभियानलाई टोल, बस्तीका घरघरमा पु¥याउन सम्बन्धित वडाध्यक्षको नेतृत्वमा टोली बनाएका छौँ”, नगरप्रमुख पाण्डेले भन्नुभयो, “यी टोलीमा वडाका जननिर्वाचित वडा सदस्य, स्थानीय विद्यालयका शिक्षक प्रतिनिधि, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी र आमा समूहका प्रतिनिधि परिचालित छन् ।” प्रथम चरणमा सचेतना अभियानका लागि रु पाँच लाख रकम विनियोजन गरिएको पाण्डेको भनाइ छ ।

नगरपालिकाको यो अभियानमा विभिन्न सामाजिक सङ्घसंस्थाले चासो जनाउँदै सहयोगको प्रतिबद्धता जनाउन थालेका छन् । लागुऔषधको ‘कनेक्सन’ सीमाक्षेत्रका भारतीय बजारदेखि पूर्वपश्चिम राजमार्ग नाघेर पहाडी जिल्ला हुँदै राजधानीसम्म जोडिएको हुँदा सो नगरपालिकाले थालेको यो प्रयत्नले सबैतिर सकारात्मक महत्व राख्ने बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी बताउनुहुन्छ ।

समाजलाई कुलतबाट बचाउन थालिएको लागुपदार्थ दुव्र्यसनविरुद्ध र मदिराजन्य पदार्थको नियन्त्रण अभियानमा समाजका सबै पक्षको सहयोग अपेक्षा गरिएको नगरप्रमुख पाण्डेको भनाइ छ । “हामीले थालेको अभियानबारे टाढाटाढाबाट पनि सकारात्मक प्रतिक्रिया पाएका छौँ, कतिपय संस्थाले आवश्यक सहयोगको प्रतिबद्धता पनि जनाएका छन्”, पाण्डेले भन्नुभयो, “अभियानले स्थानीय जनसमर्थन पाएको छ, सकारात्मक नतिजा देखिन थालेका छन्, यसले निरन्तर अभियानमा जुटिरहन मनोबल दिएको छ ।”

जिल्लामा भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीमध्ये मनराशिसवामा १० किमी दूरी पर्छ । मनराशिसवाले थालेको यो प्रयत्नमा सीमाक्षेत्रका अन्य स्थानीय तह मटिहानी र जलेश्वर नगरपालिका तथा एकडारा, सम्सी र सोनमा गाउँपालिकाले पनि पहलकदमी लिए अभियान अझ प्रभावकारी हुने जिल्लाका बुद्धिजीवी बताउँछन् । जिल्लामा भारतसँग सीमा जोडिएका मनराशिसवासहित मटिहानी, जलेश्वर, एकडारा, सम्सी र सोनमासमेत छ स्थानीय तह छन् ।

यसअघि मनराशिसवा नगरपालिकाले आफ्नो नगरक्षेत्रका मदरसाबाहेकका आधारभूत विद्यालयमा अतिरिक्त विषय संस्कृत भाषा शिक्षा अनिवार्य गर्ने निर्णय गर्दै सो प्रयोजनका लागि अतिरिक्त शिक्षक व्यवस्थापन गर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ । मदरसामा भने उर्दु भाषा अतिरिक्त विषयमा पठनपाठन हुँदै आएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button