मनोरञ्जनसमाचार

नेपालमा ओटिटी: विदेशीमै छन् दर्शक

Gobal IME Bank

काठमाडौँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप) प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रुपमा बढे ।

सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए । तर विदेशी एपमा दर्शक झुमिँदा सोही प्रकृतिका नेपाली एपहरु आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले दर्शक पाएनन् ।

नेपाल राष्ट्र बैंकले वार्षिक पाँच सय डलरसम्म खर्च गर्न मिल्नेगरी लरकार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै गएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

अभिनेता, निर्माता, लेखकसँगै चलचित्र ‘पानीफोटो’मार्फत् निर्देशक बन्नुभएका लामिछाने सिनेमाघर एपसँग सन् २०१८ मा जोडिनु भएको थियो । “नयाँ सामग्री आउँदा दर्शक बढ्छन्, अन्य समयमा पनि थपघट भइरहन्छ” उहाँले भन्नुभयो, “अब भने आफ्नै कन्टेन्ट ल्याउनेमा हामी छौँ ।” यद्यपि त्यसको सूचिगत प्रक्रिया पूरा नहुँदासम्म आँट गर्न नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार वार्षिक पात्रो बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्न सकिने उहाँको भनाइ छ ।

आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसक्नु भएका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा चलचित्र राख्न जोखिम रहेको बताउनुभयो । “पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन् । यससम्बन्धी साक्षरता बढाउनु आवश्य छ”, उहाँले भन्नुभयो, “एप ल्याएर मात्र हुँदैन त्यसलाई दर्शकसम्म पु¥याउन हामीले आवश्यकपर्ने सामग्री सञ्चित गरिरहेका छौँ ।”

उहाँले पाइरेसीसम्बन्धी शिक्षाको कमीले यस्तो भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ । किनकी अहिले चलचित्र भवनबाट समेत खिचिएका दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।” स्वदेशी आफ्नै सामग्री नहुँदा दर्शकको आकर्षण बढ्न सकेको छैन ।

अभिनेता अर्पण थापाले निर्माण प्रक्रियामा सानो वा ठूलो पर्दा भनेर विभेद नगर्न हुने बताउनुभयो । “हामीले शृङ्खला तयार गरिरेका छौँ भने पनि चलचित्र झैँ मेहनत गर्नुपर्छ । शृङ्खला भनेर मेहनतमा कमि भयो भने त्यसको नतिजा राम्रो आउँदैन”, अभिनेता थापाले भन्नुभयो, “मैले भर्खरै एउटा शृङ्खलामा अभिनय गरेको छु । विस्तारै हामी कहाँ पनि ओटिटीलाई लक्षित गरी काम गर्नेछौँ ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button