Grace Computer Jawalakhel
अन्यसमाचार

अब कोरौँ ‘मुहार चित्र’ -GoodNews24

face

काठमाडाैँ । क्यामराले एक सेकेन्डमा खिचिक्क पारेर खिचेको मावन मुहार त धेरैले देखेका छन् । प्रयोग पनि धेरै हुन्छ, तर जलरङले पनि दुरुस्तै मुहार उतारेको भने कमैले देख्छन् र प्रयोग पनि कमै भएको छ ।

मुहारमा उत्रेको हाँसो खुशी तथा रोदन अनि प्रकृतिले खिचिदिएका अनेक रेसा पनि रङबाट दुरुस्तै बनेका मुहार देख्नेहरु अनाँैठो मान्छन् । कसैका गालाका डिम्पल पनि हाँसिरहे झैँ लाग्छन् अनि कसैको उमेरले दिएको चाउरीपना उमेरसँगै हाँसे झैँ लाग्छन् ।

यस्तै मुहारका अनेक भावभङ्गिमा प्रविधिको आधुनिक जमानामा कुची हल्लाउँदै कागजमा दृष्य दुरुस्त कोर्नु सामान्य होइन । त्यसमाथि पनि जलरङ प्रयोग गर्नु अर्काे चुनौती हो । स्वयं वस्तु, प्रकाश र छायासँग खेलेर कलाकारले मुहार आकृति उतार्नुपर्छ । सिद्धहस्त कलाकारले बनाएको मुहार चित्र महङ्गो क्यामराले खिचेको तस्वीरभन्दा अब्बल र जीवन्त हुन्छ ।

अन्तरराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालका कलाकारले त्यही महत्वलाई जीवन्त बनाउने र महत्व झल्काउने प्रयास थालेका छन् । शनिबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यलाई मोडल बनाएर मुहार चित्र बनाउने अभ्यास शुरु गरिएको छ । अब हरेक शनिबार कोरौँ ‘मुहार चित्र’ अभियान निरन्तर चल्ने छ ।

गोह्रो अनुहार, कालो सर्टमा माथि कालै धर्केकोट । सेतै फुलेको कपालमुनी उठेको निधार । चहकिला आँखामा चस्माको लेन्स । ओजिला कर्माचार्यको ढल्कदो उमेरको प्रतिक निधारमा परेका केही थान धर्सा । यी सबै विशेषता उतार्न कलाकारलाई हम्मेहम्मे नै प¥योे । कसैको ‘पोट्रेट’युक्त मुहार हुन्छ । त्यसैले केही सहज हुन्छ तर कसैको मुहार उतार्न निक्कै गाह्रो पर्छ । कर्माचार्य त्यही गाह्रो मध्येका एक पर्नुभयो । कुची चलाउँदै गयो एकातिर मिल्छ, अर्कोतिर मिल्दैन । कलाकार डिराम पाल्पाली नमिलेका मुहारका बान्की मिलाउन निकै मेहनेत र समय गर्नुभयो । उहाँको मेहनतले ‘स्केच’ नै नउतारी कर्माचार्यको गम्दारी चित्र जलरङमार्फत कोर्नुभयो । दृष्य चित्रको सोख भएपनि युवा चित्रकारमध्ये पोट्रेटमा पाल्पाली एक अब्बल कलाकारमा गनिनुहुन्छ ।

अन्तरराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले शुरु गरेको साप्ताहिक मुहार चित्र बनाउने अभियानको पहिलो शृङ्खलामा समाजका अध्यक्ष एनवी गुरुङसहित चित्रकार लालकाजी लामा, दिपेन्द्रमान वनेपाली, भीम श्रेष्ठ, डिराम पाल्पाली, लालकाजी लामा, बाबु साहिँला, कान्छाकाजी भासिमा र विनोद गुप्ता सहभागी हुनुभयो ।

चित्रकलाका विधामध्ये पोट्रेट चुनौतीपूर्ण विधा हो । दृष्यमा यताउता भएपनि त्यसले फरक पार्दैन । रङ मिलेपछि स्वीकार्य हुन्छ । चित्रकार पाल्पाली भन्नुहुन्छ, “मुहार चित्रमा क्यारेक्टर आउनुपर्छ, त्यसमाथि जलरङमा बनाउनु त झनै चुनौतीपूर्ण हुन्छ ।”

नेपालमा मुहार चित्र कोर्ने माहोल छैन । एउटै विधा समाउने कलाकार पनि छैनन् । दृष्यचित्र बढी प्रचलनमा छ । धेरैका रुचि पनि त्यसैमा छ । मागअनुसार उनीहरुले नै मुहार चित्र बनाउने गरेका छन् ।

प्रकृतिमा गएर दृष्य चित्र बनाउने अभियान नेपालमा चलचल्तीको विधा हो । मुहार चित्रमा त्यो माहोल छैन । समाजका अध्यक्ष एनवी गुरुङले भन्नुभयो, “कलाकार पोट्रेटमा पारङ्गत देखिँदैनन, हामी आर्ट ग्ल्यामर थप्न चाहन्छौँ, त्यसैले मुहार चित्र किन नकोर्ने ? भनेर हामील शुरु गरेका हौँ, हाम्रो उद्देश्य कलाकारिताको ग्ल्यामर पस्किने हो ।”

‘चाइनिज कलाकार लि उही’ले केही महिना अघि इन्डोनेसीयामा मुहार चित्र बनाउँदा देखिएको क्रेजले पनि नेपाली कलाकारलाई साप्ताहिक शृङ्खलामा जोड्न हौसला प्रदान गरेको चित्रकार दीपेन्द्रमान बनेपाली सुनाउनुहुन्छ ।

पश्चिमा मुलकुमा मुहार चित्र बनाउने सोख धेरै छ । अनुहार बनाउन पाए हुन्थ्यो भन्ने धेरै भेटिन्छन् । नेपालमा स्मरणका लागि केहीले आफ्ना दिवङ्गत अभिभावकको बनाउँछन् । छिल्लो समयमा कुनै विशेष महत्व वा विवाहको चित्र बनाउने माग बढ्न थालेको कलाकारको अनुभव छ ।

विदेशमा देखिएको आकर्षणलाई नेपालमा पनि भित्र्याउन सकिन्छ की भन्ने प्रयासस्वरुप साप्ताहिक कार्यक्रम ल्याइएको हो । आइडब्लुएसले मुहार चित्र बनाउन कलाकारलाई एक सुत्रमा बाँध्ने प्रयास गरेको भन्दै कुलपति कर्माचार्यले अभियानले निरन्तरता पाउने अपेक्षा रहेको बताउनुभयो ।

कर्माचार्य पनि मुहार चित्रका अनुभवी कलाकार मानिनुहुन्छ । उहाँले दशक अघि यस्तै कार्यशालामा तीर्थ श्रेष्ठ र रमेश ढुङ्गेलको चित्र बनाउनुभएको थियो । उहाँले विगतमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत सयौँ विशिष्ट व्यक्तिका मुहार उतार्नुभएको छ ।

“हामीकहाँ मुहारचित्र (पोट्रेट)को माहोल छैन, पोट्रेट बनाउने कलाकार मुस्किलले चार÷पाँच जना होलान्, उनीहरुले पनि अन्य विधा सँगसँगै लगिरहेका छन्, अब केही हुन्छ भन्ने आशा छ”, साप्ताहिक अभियानप्रति आशावादी हुँदै कर्माचार्यले भन्नुभयो । कलाकारमा चेतनाको अभाव रहेको उहाँको जिकिर छ ।

विगतमा यसरी मुहार चित्र फाट्टफुट् बने । बीस वर्षअघि सिर्जना ग्यालरीले एउटा कार्यक्रम गरेको थियो । त्यो बेला ऋणिकेश शाह र रमेश विकलको मुहार चित्र बनाइयो । चौध वर्षअघि २०६२ सालमा तत्कालिन कलाकार समाजका अध्यक्ष रमेशनाथ खनालको प्रयासमा राष्ट्रकवि माधव्रसाद घिमिरेको मुहार चित्र बनाइएको थियो । आइवी मल्ल र केके कर्माचार्यले बनाउने भनिए पनि मल्ल सहभागि नभएपछि कर्माचार्यले एक्लै बनाएको घिमिरेको मुहार चित्र अहिले पनि छ । जसले पोट्रेट बनाउन जान्दछ, त्यो कलाकार सक्षम मानिन्छ । अझै लाइभ बनाउन सक्यो भने ऊ विश्वमा बिक्छ र उसले हरेक चुनौती स्वीकार्न सक्छ, भन्नुहुन्छ कुलपति कर्माचार्य ।

मुहार चित्रमा एकाग्रताको जरुरत पर्छ । आर्टमा राम्रै दख्खल चाहिन्छ । रङ, स्केच र इफेक्टको सम्बन्धलाई जोड्न सक्नुपर्छ । पश्चिमा कलाकारमा राम्रो दख्खल छ । विगतमा नेपालमा परम्परागत थियो अलिअली आकार मिलेपछि हुन्थ्यो । अब त्यसरी पुग्दैन । पश्चिमा शैलीको विकाससँग यसले नयाँ चरण पार गरेको छ । ठ्याक्कै ‘क्यारेक्टर’ झल्केन भने मुहार चित्र हुन्न । जीवन्त चित्र बनाउन सकिएन भने मुहार चित्रको महत्व रहँदैन । त्यसमाथि लाईभ बनाउनु अर्काे चुनौती हो ।

यसरी शुरु भएको थियो मुहार चित्र

बेलायततीको देखासिकीबाट नेपालमा मुहार चित्र बनाउने विधा भित्रिएको मानिन्छ । यसको श्रेय राणा प्रधानमन्त्री जङ्गबहादुरलाई जान्छ । भाजुमान चित्रकारले सन् १८५० को दशकमा बेलायत गएर सीप सिकेको कलाकार बताउँछन् । पछि उहाँले जङ्गबहादुर कै चित्र बनाउनुभएको कला समिक्षक रमेशनाथ खनाल बताउनुहुन्छ । त्यो बेला भाजुमानसँगै दीर्घमान र राजमान चित्रकार पनि हुनुहुन्थ्यो । पहिले श्यामस्वेत फोटोमा तेल रङले पोतेर रङ भरिन्थ्यो । राणाकालिन समयमा धेरै प्रयोग भएको थियो ।

बेलायत यात्राका क्रममा भाजुमानले त्यहाँका राजारानीसमेतको चित्र बनाउनुभएको थियो । पछि नेपाल आएर राणाको बनाउनुभयो । त्यो टुँडिखेलमा प्रदर्शन पनि भएको थियो । दिलबहादुर चित्रकार, मास्टर चतुररत्न, अमर चित्रकार, चन्द्रमान मास्के, बालकृष्ण सम, तेजबहादुर चित्रकारले पोट्रेटलाई अगाडि बढाउनुभयो । औँला ढड्याएको पृथ्वीनारायण शाहको चित्र उनै अमर चित्रकारले बनाउनुभएको हो ।

चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकारलगायतलाई भारतमा पढ्न पठाइयो । उनीहरुले पश्चिमा शैलीको मुहार चित्रको अध्ययन गरेर फर्किएपछि नयाँ आयाम थपिएको हो । त्यो बेला राणाको मुहार चित्र धेरै बने । सानु चित्रकारसँग सामान्य ज्ञान लिएर स्व अध्ययनबाट बालकृष्ण समले राजा, महाराजा र राणाको चित्र कोर्नुभएको थियो ।

विस्तारै डिवी चित्रकार, मनुजबाबु मिश्र, आइवी मल्लले पोट्रेटलाई अगाडि बढाउनुभयो । त्यसपछि विजय थापा, केके कर्माचार्य, आलोक गुरुङ र बाबुलाल देउलालगायतले यसलाई अगाडि बढाउनुभयो ।

कला समीक्षक खनाल भन्नुहुन्छ, “कलेजमा सबैले सिक्न त सिके, बनाउँछन् तर व्यवसायिकता हुनै सकेन ।” कुलपति कर्माचार्यसहित पोखराका आलोक गुरुङ, चन्द्रमान ताम्राकार, सिर्जनराज भण्डारी, आइबी मल्लगायत मुहार चित्रलाई प्राथमिकता दिएर चित्रकारिता गर्दै आउनुभएको छ ।

युवा पुस्तामा दृष्य चित्रसहितको पोट्रेट बनाउनेमा एनवी गुरुङ, डिराम पाल्पाली, पकबहादुर थापा, राजन कुँवर, लालकाजी लामा, डिवी राई, प्रकाश थापा, डि बराल, दिपेन्द्रमान बनेपाली, राम ठाडा, बाबु साहिंँला र भीम श्रेष्ठ पनि पछिल्लो पुस्तामा देखिनुहुन्छ । अन्य दृष्यचित्र बनाउने कलाकार पनि मुहार चित्र बनाउनुहुन्छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य लालकाजी लामा अहिलेको अभियानले मुहार चित्रमा नयाँ आयाम थपिने विश्वास गर्नुहुन्छ । विदेशी पर्यटकीय क्षेत्रमा मुहार चित्रको व्यवसायिकता अहिले पनि छ । धेरैले यो विधालाई अङ्गालेका छन् । नेपालमा त्यसतर्फ कलाकार लाग्नै सकेनन् । आफैँले प्रयास गर्नुपर्नेमा कलाकार नै लजाउँछन्, प्राथमिकतामा राख्दैनन् ।

कलाका धेरै विधाका छन् । पौभा, दृष्यचित्र, मुहार चित्र, अमूर्त, अरुपण, मिथिला, परम्परागत, परावस्तुवादी चित्रकला, विचारप्रधान, वस्तुवादीलगायत चित्रकलाका विधा हुन् । त्यसमध्ये चुनौतीपूर्ण विधा मुहार चित्र भएको कलाकारको बुझाइ छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button