समाचार

भ्रमण वर्ष सफल बनाउन निःशुल्क बस सेवा

Gobal IME Bank

कैलाली  ।  धनगढी उपमहानगरपालिकाले नजिकिँदै गरेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल पार्न शुरुका पाँच दिन पर्यटकका लागि निःशुल्क बस सेवाको व्यवस्था गर्नेभएको छ । सोमबार धनगढीमा आयोजित सरोकारवालासँग छलफल गर्दै भ्रमण वर्षको शुरुका दिनमा नै सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले पर्यटकका लागि निःशुल्क बस सेवाको व्यवस्था गर्ने योजना बनाइएको उपमहानगरपालिकाले जनाएको छ ।

बस सेवा कैलालीको त्रिनगर भन्सार नाकाबाट बेहडाबावा, थारू घरवास गाउँलगायतका धार्मिक तथा पर्यटकीयस्थल घुमेर पुनः त्रिनगर भन्सारसम्म सञ्चालन गरिने बताइएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले भ्रमण वर्षलाई सफल बनाउन पहिलो दिनबाट नै नेपाल–भारत नाकामा पर्यटक सहायताकक्ष सञ्चालन गर्ने तयारी भइरहेको उल्लेख गर्दै नेपाल भित्रिने पर्यटकलाई चिया तथा कफी खुवाउने, फूलमाला र खादाले स्वागत गर्नेलगायतका योजना रहेको बताउनुभयो ।

त्यसैगरी धनगढीका पर्यटकीयस्थल, त्यहाँको दूरी, विशेषता, पर्यटकीय गतिविधि र महत्वलाई समावेश गरी सामाजिक सञ्जालमा पेज बनाउने, ब्रोसर तयार गर्ने र नगरको सरसफाइ गरिने जनाइएको छ । भ्रमण वर्ष २०२० को सन्देश दिनेगरी धनगढीदेखि भारतको पलिया बजारसम्म साइकल यात्रा गर्नेलगायतका कार्यक्रम पनि तय गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रदेश तथा सङ्घ सरकारले भ्रमण वर्षलाई सफल बनाउन सबै गतिविधिमा सहभागिता जनाउने प्रमुख प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ ।

पर्यटकलाई सहज सुरक्षा वातावरण उपलब्ध गराउनुपर्ने

सीमानाकाबाट नेपाल भित्रिने पर्यटकका लागि गन्तव्य स्थलसम्म पुग्न सहज वातारणको व्यवस्था गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । नेपाल–भारत पत्रकार सङ्घले सोमबार धनगढीमा आयोजित पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका विषयक छलफलमा अधिकांश सहभागीले नेपाल भित्रिने पर्यटकसँग मिजासिलो तथा सौहार्दपूर्ण व्यवहार गरिनुपर्ने भनाइ राख्नुभयो ।

भारतीय सञ्चारमाध्यमबाट प्रकाशित हुने पत्रपत्रिकामा नेपालमा अवस्थित प्रख्यात धार्मिक तथा पर्यटकीयस्थलका बारेमा समाचार प्रकाशित गरी प्रचार–प्रसार भएमा नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने कार्यक्रममा सहभागीहरुले बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले नेपालमा रहेका धार्मिक तथा पर्यटकीयस्थल र यहाँको सुरक्षाका बारेमा भारतीय सञ्चारमाध्यमबाट सकारात्मक सन्देशमूलक समाचार सम्प्रेषण गरी प्रचार–प्रसार गर्न भारतीय पत्रकारहरुलाई अनुरोध गर्नुभयो । उहाँले ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सबै एक ठाउँमा उभिई हातेमालो गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वरिष्ठ भारतीय पत्रकार रामकृष्ण शुक्लाले भारतबाट आउने पर्यटकका लागि पर्यटकीय गन्तव्यस्थलसम्म पुग्न कुनै बाधा तथा व्यवधान नभई अधिक सुविधाको व्यवस्था मिलाइनुपर्ने धारणा व्यक्त गर्नुभयो । कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले नेपाल भित्रिने पर्यटकका लागि सुरक्षाका दृष्टिकोणले सहज वातावरणमा सत्कार र स्वागत गरिनुपर्नेमा जोड दिनुभयो । नेपाल–भारत पत्रकार सङ्घका अध्यक्ष दिलबहादुर छत्यालले बढीभन्दा बढी पर्यटकलाई नेपाल भित्र्याउन शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति भएको महसुस गराउन जरुरी रहेको बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button